Logo
|
Friday 26th July 2024
Logo

epaper

नेपाल मेडिसिटीमा १५ लाखमा ल्याप्रोस्कोपिक विधिबाट मिर्गौला प्रत्यारोपण

अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकांशको उच्च रक्तचाप र मधुमेहबाट मिर्गौला फेल



नेपाल हेल्थ न्युज, ललितपुर । नेपाल मेडिसिटी अस्पतालमा २३ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । अस्पतालमा २०७९ माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको थियो । हालसम्म १५० भन्दा बढि बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणको पर्खाइमा छन् ।

अस्पतालमा १७ वर्षको युवा देखि ६५ वर्षका बृद्धको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन् ।
प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मिर्गौला दिएका छन् । मिर्गौला दान गर्नेहरुमा १८ वर्षको दाता देखि ६५ वर्ष सम्मका दाताहरु रहेका छन् ।


त्यस्तै, मिर्गौला दान गर्नेमा महिला बढि रहेका छन् । दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् ।


अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकांश बिरामीहरुको मिर्गौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताउनुभयो ।


“२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मिर्गौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जान्छ,” डा पौडेलले भन्नुभयो ।


यति मात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । ५ जना मिर्गौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएका छन् ।


निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मिर्गौलाको समस्या बढि देखिएको डा.पौडेलले बताए ।


प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको सहुलियत अनुदान दिने गरेको छ । त्यसबाहेक विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूल खर्च ७ देखि ८ लाख पर्दछ । तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ । नेपाल मेडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताउनुभयो ।
“यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मिर्गौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,” डा. काफ्लेले भन्नुभयो ।


मिर्गौलादाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।


मिर्गौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मिर्गौला दिन नमिल्ने हुन सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ ।


उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी , एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरिएको छ ।


विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मान पहुँच रहेकोमा यस अस्पतालबाट पनि सकेसम्म धैरै भन्दा धेरै मिर्गौला रोगीहरुको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुँचमा पुग्नेगरी उपचार विधिहरु अपनाइएको छ ।

पछिल्लो समय नेपालमा मिर्गौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करिब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएका छन् । यीमध्ये तीन लाख मानिसमा मृगौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मिर्गाैलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन् ।


दुवै मिर्गौला खराब भइसकेपछि गरिने डायलाइसिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मिर्गौला प्रत्यारोपणलाई मानिन्छ । तर प्रत्यारोपण गर्न बिरामीको घर जमिन बिक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ ।

प्रतिक्रिया दिनुहोस्