युवा पुस्ताका अब्बल मेडिकल अंकोलोजिष्ट डा. अरूण शाही
क्यान्सर मधुमेह, उच्च रक्तचाप, थायराइडजस्तै दीर्घरोग, समयमै क्यान्सर पहिचान र उपचार भए निर्मूल पार्न सकिने, सार्वजनिक स्तरमा क्यान्सरबारे जनचेतना फैलाउन जरुरी
‘कक्षा ११ मा अध्ययनरत रहँदा ठूलो बुबाको क्यान्सरका कारण अस्पतालको शय्यामै निधन भयो । त्यो बेला कुन स्टेज (चरण) को क्यान्सर थियो भन्ने थाहा पाउनसमेत सकिएन । त्यसैले आफूले हेर्ने बिरामी र आफन्तलाई उपचार पद्धति एवं सामाजिक परामर्श दिएर मात्र उपचार सुरू गर्न सल्लाह दिन्छु,’ डा. अरूण शाही भन्नुहुन्छ । डा. अरूण युवा पुस्ताका मेडिकल अंकोलोजिस्ट हुनुहुन्छ । सहायक प्राध्यापकसमेत रहनुभएका उहाँ हाल सन् २०१९ देखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत हुनुहुन्छ । डा. अरूण युरोपको सबैभन्दा ठूलो क्यान्सर विशेषज्ञको संस्था युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (इएसएमओ) को सर्टिफाइड अंकोलोजिस्ट हुनुहुन्छ । यसैगरी उहाँ इनोभेटिभ फाउन्डेसन फर हेल्थ एन्ड रिसर्च नामक संस्थाको अध्यक्षसमेत हुनुहुन्छ । यो संस्थाले जनस्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धान गर्दै आएको छ ।
डा. अरूणका ३ वटा मेडिकल पुस्तक प्रकाशन भइसकेका छन् । उहाँले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन (नेपाल, बंगलादेश, भारत, सिंगापुर, जापान, अस्ट्रेलिया, जर्मनी अमेरिका) मा क्यान्सरसम्बन्धी १ सयभन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ । उहाँको ‘नेपाली महिलामा स्तन क्यान्सरको ढिलो देखिने सम्बन्धित कारणहरू’ शीर्षकको प्रस्तुतिलाई समेत पुरस्कृत गरिएको थियो । डा. अरूणले पाँच वर्षे अवधिमा करिब ५ हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचार गरिसक्नुभएको छ ।करिब २ हजार बिरामीले उहाँको प्रत्यक्ष सम्पर्कमा रहेर उपचार लिइरहेका छन् । क्यान्सर मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको वर्तमान समय सामाजिक सञ्जाल, सञ्चार माध्यम, राष्ट्रिय/अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचनामूलक जानकारी प्रवाह गर्ने कार्यमा सक्रिय हुनुहुन्छ, डा. अरूण । उहाँलाई नन् रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ बाट सम्मान गरेको छ । डा. अरूणसँग नेपालमा क्यान्सरको अवस्था, रोकथामबारे गरिएको कुराकानीः
तपाईंको जन्मथलो र प्राथमिक शिक्षा कहाँबाट लिनुभएको हो ?
मेरो जन्मथलो जुम्ला हो । म दुई वर्षको दूधे बालक हुँदा हाम्रो स—परिवार तराई बसाइँ सरेको हो । त्यसपछि बर्दियाको दौलखपुरस्थित बुद्ध प्राथमिक विद्यालयबाट कक्षा ३, कालिका निम्नमाध्यमिक विद्यालयबाट कक्षा ८ र टीकापुरको श्री खड्ग स्मृति माध्यमिक विद्यालयबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेको हुँ । म सानैदेखि पढाइमा तीक्ष्ण थिएँ । काठमाडौंको सान इन्टरनेशनल कलेजबाट प्लस टु गरेपछि एमबीबीएस अध्ययनका लागि चीन पुगेँ। चीनको हार्बिन मेडिकल विश्वविद्यालयबाट एमबीबीएस गरेँ । सन् २०१३ मा बंगलादेशको ढाकास्थित बंगबन्धु शेख मुजिबुर मेडिकल विश्वविद्यालयबाट मेडिकल अंकोलोजीमा ५ वर्षे एमडी र ढाकाकै नर्थ साउथ विश्वविद्यलयबाट इपिडिमियोलोजी (महामारी विज्ञान) मा मास्टर्स (एमपीएच) गरेको हुँ । भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा मेडिकल अंकोलोजीमा तालिम पनि लिएको छु ।
हाल क्यान्सर रोगको अवस्थाबारे केही बताइदिनुस् न ?
क्यान्सर रोग पहिलेदेखि नै थियो । तर, यसको उपचार र विज्ञानको प्रगति भर्खरै सुरु भएको छ । धेरै क्यान्सरलाई अझै निर्मूल पार्न बाँकी नै छ । उपचारको दुनियाँमा मुुटुलगायत अन्य थुप्रै रोग निर्मूल हुन लागेका छन् । त्यसैले डाक्टर, बिरामी, सरकार, नीति निर्माता र जनस्वास्थ्य विज्ञ सबै मिलेर काम गर्न आवश्यक देखिन्छ ।
यहाँको प्रत्यक्ष निगरानीमा कति बिरामी छन् ?
मैले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम सुरू गरेको लगभग पाँच वर्ष भयो । यस अवधिमा करिब ५ हजार क्यान्सरका बिरामीको उपचार गरिसकेको छु । अहिले दुई हजार बिरामी मेरो निगरानीमा नियमित उपचार र फलोअप गराइरहेका छन् । यीमध्ये पाटनका १ हजार ५ सय र बाहिरका ५ सय जना छन् ।
एउटा बिरामीलाई कति समय दिनुपर्छ ?
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक दिन ५० देखि ७० जना बिरामी हेर्नुपर्छ । चार घन्टामा सबै बिरामीलाई परामर्शका लागि पर्याप्त समय दिन गाह्रो हुन्छ । अर्को कुरा, बिरामीलाई रोग लागेपछि डाक्टरसँग के सोध्ने, कसरी सोध्ने भन्ने ज्ञान हुँदैन । अधिकांश बिरामीहरू रोगबारे सोध्दैनन् । के खाने, के नखाने, घुम्न जाने/नजाने आदि प्रश्न सोधेर समय खर्चिन्छन् । बिरामी आफैंले प्रश्न नसोधेर साथमा आउने आफन्तले एकैखाले प्रश्न फरक शैलीमा सोध्ने गर्छन् । यसले गर्दा बिरामी भ्रमित भएका हुन सक्छन् । त्यस्तै, बिरामीको रोगबारे बुझ्ने स्तर (लेबल अफ अन्डर–स्ट्यान्डिङ) पनि कम हुन्छ । गाउँघरबाट आएका बिरामी अशिक्षित हुन्छन् । डाक्टरलाई के सोध्ने, थाहा हुँदैन । त्यसकारण, डाक्टरले सुरुआती अवस्थामा ‘ब्याड न्यूज ब्रेकिङ’ र उपचार लयपद्धतिबारे बिरामीलाई जानकारी गराउने बेला इमानदारपूर्वक सबै बताउनुपर्छ । पहिलो भेटमा बिरामीलाई अलि बढी समय दिने गरेको छु । बिरामी र परिवारलाई उपचारका फाइदा/बेफाइदा, रोगको अवस्था र स्टेज, औषधोपचार खर्च र रोग निको हुने÷नहुने पूर्वानुमानबारे विस्तृतमा सम्झाउने कोसिस गर्छु ।
जँचाउन आउँदा बिरामीले के–कस्ता भ्रम पालेका हुन्छन् ?
समाजमा क्यान्सर भयावह र डरलाग्दो रोगको नामले चिनिन्छ । क्यान्सर रोग लाग्नेबित्तिकै बिरामी बाँच्दैन, धन सम्पत्ति सबै सकिन्छ भन्ने आमजनमानसमा भ्रम रहेको पाइन्छ । यस्ता भ्रमले बिरामीको सोच्ने शैलीमा प्रभाव पार्दछ । क्यान्सर लाग्नेबित्तिकै बिरामीहरू उदास, हतोत्साहित, भावनात्मक एवं आक्रामक हुन्छन् ।
क्यान्सर मधुमेह, उच्च रक्तचाप, थाइरोइडजस्तै दीर्घरोग हो । यदि समयमै क्यान्सर पहिचान र उपचार भए निर्मूल पार्न सकिन्छ । यसका लागि सार्वजनिक स्तरमा क्यान्सर रोगबारे जनचेतना फैलाउन जरुरी छ ।
नेपालमा क्यान्सर पहिचानको अवस्था कस्तो छ ?
अहिले ९० देखि ९५ प्रतिशत क्यान्सर रोग नेपालमै पहिचान (डायग्नोसिस) हुन्छ । कहिलेकाहीँ सार्कोमा क्यान्सर, जेनेटिक प्यारन, ड्राइभर म्युटेसन क्यान्सरको उपचार गर्न भारत, थाइल्यान्ड, सिंगापुर र अमेरिकासम्म जानुपर्ने हुनसक्छ । कतिपय क्यान्सर रोग डायग्नोस नै हुँदैनन् । अझै ३ देखि ५ प्रतिशत क्यान्सर रोग कहीँ पनि पत्ता लाग्दैन । जस्तै, कार्सिनोमा अफ अन्नोन प्राइमरी (सियूपी) ।
नेपालमा कति प्रकारका क्यान्सर औषधी निःशुल्क प्राप्त हुन्छन् ?
करिब २२ वर्षअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिकन संस्था म्याक्स फाउन्डेसनबीच सम्झौता भएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर म्याक्स फाउन्डेसनले ५ वटा क्यान्सरका औषधी निःशुल्क उपलब्ध गराउँछ । त्यसमध्येमा रगतको क्यान्सर (सीएमएल), पेटको क्यान्सर (जीस्ट), फोक्सोको क्यान्सर (एडिनोकार्सिनोमा एएजीएफआरएल पोजेटिभ), किड्नीको क्यान्सरका औषधी निःशुल्क उपलब्ध छन् । हालै प्रतिष्ठानमा स्तन क्यान्सर स्टेज फोर (इआर–पीआर पोजेटिभ) को औषधी पनि निःशुल्क उपलब्ध छ । यी औषधी अस्पताल बाहिरका फार्मेसीबाट खरिद गर्दा १०–१५ हजारदेखि महिनाको १०–१५ लाख रुपैयाँसम्म पर्ने छन् । बिरामीले निःशुल्क औषधी लिन नेपाली नागरिकता र रोग पत्ता लागेको कागजपत्र बोकेर आउनुपर्छ ।
क्यान्सर रोगी कति समयसम्म चिकित्सकको फलोअपमा रहनुपर्छ ?
क्यान्सर दीर्घरोग हो । यो रोग लागेका व्यक्तिले उपचार सकिएपछि आफ्नो उपचार गर्ने डाक्टरसँग आजीवन नियमित फलोअपमा बस्नुपर्छ । सुरुआती चरणको क्यान्सर पहिचान भए उपचार सकिएपछि पहिलो वर्ष ३ महिना, दोस्रो वर्ष ४–६ महिना र तेस्रो वर्षदेखि वर्षको एक पटक फलोअपका लागि अस्पताल आउनुपर्छ । चौथो स्टेजको क्यान्सर र शरीरभरि फैलिएको क्यान्सर भए एकदेखि तीन महिनाको अन्तरालमा फलोअपका लागि आउनुपर्छ । त्यस्तै, ५० वर्ष कटेका व्यक्तिले कुनै स्वास्थ्य समस्या नभए पनि वर्षको एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
रोकथामका उपाय के–के हुन सक्छन् ?
क्यान्सर रोग लाग्नै नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ । स्वस्थकर खानपान, शारीरिक व्यायाम र मानसिक आरामलाई सन्तुलनमा राख्नुपर्छ । पाठेघरको मुखको क्यान्सरबाट जोगिन ह्युमन प्यपिलोमा भाइरसविरूद्ध एचपीभी भ्याक्सिन लगाउन सकिन्छ । यो खोप ९ देखि २६ वर्षका महिलालाई लगाउन सकिन्छ । त्यस्तै, कलेजोको क्यान्सरबाट जोगिन ‘हेपाटाइटिस बी’ भ्याक्सिन लगाउन सकिन्छ ।
धूमपान, मद्यपान र मोटोपना नियन्त्रणमा राख्न सके ९० देखि ९५ प्रतिशत दीर्घरोगबाट बच्न सकिन्छ । हरेक दिन ३० मिनेट शारीरिक व्यायाम गर्नुपर्दछ । साथै, मानसिक तनाव र चिन्ता कम गर्नुपर्दछ । हरेक दिन ६ देखि ८ घन्टा निदाउन जरुरी छ ।
अब्बल डाक्टर हुन के–कस्ता विषयमा ध्यान दिनुपर्दो रहेछ ?
आफ्नो कामप्रति इमानदार र बफादार हुनैपर्छ । मिहिनेत गर्नुपर्छ । अध्ययनशील हुनुुपर्छ । शैक्षिक क्रियाकलापमा सक्रिय रहनुपर्छ । समयसँगै आफूलाई अपडेट राख्नुपर्छ ।
‘अरुणले गर्व गर्ने बाटो राखिदियो’
विद्या शाही
आमा
म अवकाशप्राप्त सरकारी शिक्षिका हो । त्यसबेला मेरा ससुरा कुलबहादुर शाही नुवाकोटका बडा हाकिम हुनुहुन्थ्यो । ३६ वर्ष नेपाली सेनामा सेवा गर्नुभयो । उहाँले पनि नाम कमाउनुभयो । उहाँ कुनै लोभलालचमा नपरी निष्पक्ष रूपमा बर्दियाको सुकुम्बासी बस्तीमा बसेर आफ्ना जहान–परिवारलाई बुढेसकालको सहारा बनेर बित्नुुभयो । उहाँका छोराले गर्न नसके पनि नाति अरुणले गर्व गर्ने बाटो राखिदिएको छ । परिवारमा डाक्टर थिएनन् । डाक्टर बनोस् भन्ने सपना थियो । अहिले हाम्रो सपना साकार पारेको छ ।
‘बिरामीको खुसी जित्न सकोस्’
महेन्द्रबहादुर शाही
बुबा
म वाणिज्य बैंकको क्यासियर पदबाट अवकाशप्राप्त हो । छोरा अरुण निष्पक्ष समाजसेवामा लागोस् र यसैगरी क्यान्सर बिरामीको खुसी जित्न सकोस् भन्ने कामना गर्दछु । ‘नेपालमै सेवा गर्नुपर्छ’ भन्ने हाम्रो चाहना उसले पूरा गरेको छ । यसरी नै राम्रो काम गर्दै जाओस् भन्ने कामना गर्दछु ।
आज्ञाकारी र अलराउन्डर विद्यार्थी
अरुण धेरै आज्ञाकारी र अलराउन्डर विद्यार्थी थिए । सबैको माया पाउने, हँसिलो अनुहार, मिलनसार, कोहीसँग झगडा नगर्ने र फुटबलका सोखिन थिए । पहिला डाक्टर बन्ने कुरा गर्दैनथे । पछि डाक्टर बनेको खबर पाउँदा निकै खुसी भएँ । काठमाडौंमा मेरो ढाडको शल्यक्रिया गर्दा भेट्न आएका थिए । त्यो बेलामा बधाइ दिएँ । इमानदारी र निष्ठापूर्वक सेवा गर्दै जाउन् भन्ने कामना गर्दछु ।
युवा पुुस्ताका अब्वल डाक्टर
डा. अरुणले निकै राम्रो गर्नुभएको छ । उहाँलाई युवा पुुस्ताको अब्बल क्यान्सर विशेषज्ञ भन्न सकिन्छ । अहिले पाटनमा क्यान्सरको भोलुम बढेर चाप थेग्न गाह्रो हुन लागेको छ । काठमाडौंमा पब्लिक सेक्टरमा क्यान्सर उपचार गर्ने राम्रो हस्पिटल हुन जरूरी छ । निजीमा धेरै महँगो छ । सरकारले दिने एक लाख रुपैयाँ इन्भेस्टिगेसन गर्दै सकिन्छ ।
पारिवारिक सदस्यजस्तै डा. अरूण
मेरो दिदी पनि क्यान्सरको बिरामी हो । पाटन अस्पतालमा गएपछि डा. अरूण शाहीबाट राम्रो केयर पायौं । उहाँ परिवारका सदस्यजस्तो लाग्छ । निकै सहयोगी हुनुहुन्छ । ठूलो मान्छे बन्नुहुन्न । कहिल्यै पनि थाक्नुहुन्न ।