Logo
|
Saturday 27th April 2024
Logo

epaper

पातारासी गाउँपालिकामा आफ्नै दोस्रो एम्बुलेन्स सञ्चालन



नेपाल हेल्थ न्युज, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले आफ्नै दोस्रो एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक रुपमा सदरमुकामदेखि टाँढा रहेको पातारासी गाउँपालिकाले स्थानीय नागरिकको माग र कठिनाइलाई मध्यनजर गर्दै सोमबारदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको हो ।

पहिलाको एम्बुलेन्सले पालिकाभरिका नागरिकलाई सेवा दिन नसकेको,पटक पटक बिग्रिएर नागरिकले सास्ती पाउन थालेपछि वडाको बजेट,अध्यक्ष उपाध्यक्ष कोषको बजेट र पालिकाको थप गरेर २७ लाख मा खरिद गरी नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याइएको पातारासी–५ का वडाध्यक्ष दत्त बहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार एम्बुलेन्स खरिदका लागि अल्यायबाट प्राप्त ९ लाख ५० हजार, वडाको भागमा परेको सात लाख,अध्यक्ष कोषबाट दुई लाख ५० हजार, उपाध्यक्ष कोषबाट चार लाख र नपुग बजेट पालिकाबाट थपेर कर छुट सहित २७ लाखमा एम्बुलेन्स खरिद गरिएको हो ।

भारतीय राजदूतावासले दिएको पहिलाको एम्बुलेन्स पटक पटक बिग्रिने गरेको छ । यद्यपि अहिले सञ्चालनमा छ । गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोरा लगायतको उपस्थितिमा एम्बुलेन्सको विधिवत् सेवा सोमकारबाट सुचारु भएको हो ।

अब पातारासीका बिरामीले भनेकै बेला सेवा पाउने छन् । अध्यक्ष बोहारा भन्नुहुन्छ,‘भौगोलिक रुपमा विकट पातारासीका नागरिकले अब सहजै सेवा पाउने छन् । एउटै एम्बुलेन्सले सबैतिर धान्न सकेन् । अब दुई एम्बुलेन्स सञ्चालनपछि सुत्केरी लगायतका जटिल बिरामीलाई तत्काल सदरमुकाम पुराउन समेत सहज हुने छ । स्थानीय सरकारले जनताको चाहनाअनुसार यस्तै आधारभूत विकास गर्न आवश्यक छ ।’

डिल्लीचौर स्वास्थ्य चौकीको मातहतमा रहेर एम्बुलेन्स सञ्चालन हुने छ । अब उप्रान्त सारो गाह्रो पर्दा प्रतिष्ठानका एम्बुलेन्स गुहार्नु पर्ने, लामो समय पर्खिनु पर्ने, महँगो भाडा तिर्नु पर्ने बाध्यताबाट पातारासीका नागरिकले छुटकारा पाउने वडाध्यक्ष बुढाको भनाई छ । जुम्लाका आठै स्थानीय तहका आफ्नै एम्बुलेन्स सेवा सञ्चालन भएका छन् । यद्यपि वडाको लगानीमा एम्बुलेन्स सेवा सञ्चालन गर्नेमा पातारासी गाउँपालिका वडा नंं। ५ जिल्लाकै पहिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्