अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह
नेपाल हेल्थ न्युज, सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा रहेका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
गृहजिल्ला सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको निरीक्षण गर्दै उहाँले अस्पतालको स्तरोन्नति, सेवा प्रवाह, स्वास्थ्य प्रयोगशालालगायत विद्यमान समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
प्रादेशिक अस्पतालको समग्र विकास, सेवा प्रवाह र यसको स्तरोन्नतिका लागि सरकार सदैव सकारात्मक रहेको मन्त्री सिंहको भनाइ छ । “नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने हाम्रो लक्ष्य छ । तसर्थ सेवा प्रवाहमा कुनै समस्या भए तत्काल जानकारी गराउनुस्, समस्या समाधान गर्दै जानेछौँ”, उहाँले भन्नुभयो, “यसअघि थालिएका राम्रा कामलाई पनि निरन्तरता दिनेछौँ ।”
मन्त्री सिंहले प्रादेशिक अस्पताल लहानको जग्गा रजिस्ट्रेसन गर्दा दाताद्वय शारदा र मुरारका परिवार तयार हुँदा राजस्वसम्बन्धी समस्या देखिएकाले सो समस्यालाई चाँडै समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
निरीक्षणका क्रममा ‘हेल्पिङ ह्याण्ड’ र ‘हेल्पिङ हर्ट’ संस्थाले उपलब्ध गराएको रु ३४ लाख ६६ हजार आठ सय ७४ पर्ने एक सय ४४ किसिमका स्वास्थ्य उपकरण मन्त्री सिंहले अस्पताललाई हस्तान्तरण गर्नुभयो । उहाँले स्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्दै अभाव रहेका उपकरण तथा अन्य सामग्री र उपलब्ध रहेका उपकरणकाबारे जानकारी लिनुभएको थियो ।
अस्पतालका सबै तहका कर्मचारीले कुनै किसिमको लापरवाही नगरी काम गर्नुपर्ने भन्दै लापरवाही भएको प्रमाणित भए कारबाही गर्न पनि पछि नपर्ने मन्त्री सिंहले बताउनुभयो । प्रदेशभरि बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भन्दै उहाँले मधेस स्वास्थ्य प्रदेशको नारा कार्यान्वयन गर्न आफू इमान्दारीपूर्वक लाग्ने बताउनुभयो ।
प्रादेशिक अस्पतालको स्तरोन्नतिमा रहेका बाधा व्यवधान फुकाएर अस्पतालको विकासका लागि सकारात्मक पहल गरिदिन प्रदेशसभा सदस्य राजकुमार गुप्ता र लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले मन्त्री सिंहको ध्यानाकर्षण गराउनुभएको थियो । सोही अवसरमा मन्त्री सिंहलाई रक्तसञ्चार केन्द्र लहान र रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालले सम्मान गरेको थियो ।रासस