Logo
|
Saturday 27th April 2024
Logo

epaper

डा. तोषिमा कार्कीसहितको रास्वपा टोलीले बुझायो स्वास्थ्यमन्त्रीलाई २६ बुँदे सुझावपत्र

स्वास्थ्य क्षेत्रको सुधार गर्न माग



नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई २६ बुँदे सुझावपत्र बुझाएको छ।

बिहीवार मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वास्थ्य तथा जनसंख्या विभागका तर्फबाट स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो।

स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझै सशक्त, सहज र पारदर्शी बनाउनका लागि एक स्वतन्त्र थिङ्क ट्याङ्क बनाउनुपर्ने, तोकिएका औषधिको दायरा बढाउँदै स्टक सुनिश्चित गर्ने, दाबी प्रणालीलाई चुस्त बनाउने, बिमित एवं सेवा प्रदायकको सूचना तथा संचारका लागि लागि तीन अंकको हटलाइनको व्यवस्था गर्ने जस्ता कामहरु अविलम्व गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै वीर अस्पतालमा २७–२८ वटा बेड दैनिक रुपमा आइसियु र भेन्टिलेटरहरु खालि रहेको तर आम नागरिकप पहुँच बाहिर रहेको विषयमा विशेष ध्यान दिन स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराएको छ । ठूला सरकारी अस्पतालमा आम नागरिकले पाउने सेवाहरु अनलाइन माध्यमबाट हेर्न मिल्नेगरी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

उपचार तथा स्वास्थ्यसेवामा शुल्क नतोकिएका कारण र मनोमानी रुपमा शुल्क असुलिएको भन्दै आम नागरिक एवं बिरामीमा अन्योल रहेकाले यसलाई द्रुतगतिमा समाधान गर्नुपर्ने सुझाव दिएको छ । चिकित्सक तथा स्वास्थ्य मानव श्रोतको सुनिश्चित व्यवस्थापन गर्न शिघ्रातिशिघ्र आवश्यक दरवन्दी श्रृजना गर्ने एवं वैज्ञानिक ढंगको परिचालन बिधि लागु गर्ने गरी कार्य अघि बढाउनुपर्ने बताएको छ ।

स्वास्थ्य क्षेत्रका नियमनकारी निकायहरुलाई थप सक्रिय गराई समन्वयात्मक ढाँचामा स्वास्थ्यसेवा प्रदायकहरुको अनुगमन र नियमनलाई तिब्र बनाइनुपर्ने र दीर्घकालिक रुपमा सबै नियामकहरु गाभी स्वास्थ्यसेवा नियमन परिषद् गठन गर्नुपर्ने माग पनि राखेको छ । उपचारमा सेवाग्राही ढुक्क हुनेगरी नेशनल ट्रिटमेण्ट प्रोटोकल तथा उपचारसेवा स्ट्याण्डर्ड विकासलाई उच्च प्राथमिकतामा राख्दै त्यसमा पेसेण्ट सेफ्टी, क्लिनिकल अडिट, सेकेण्ड ओपिनियन, सुसुचित प्रेषणजस्ता बिषयहरुलाई बिशेष स्थान दिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्