Logo
|
Saturday 27th July 2024
Logo

epaper

जिल्ला अस्पताल उदयपुर: बालरोग विशेषज्ञ सेवा बन्द 



नेपाल हेल्थ न्युज, उदयपुर ।  उदयपुरको जिल्ला अस्पताल गाईघाटमा सञ्चालित बालरोग विशेषज्ञ सेवा बन्द भएको छ ।

कोशी प्रदेश सरकारले गत माघमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार घोषणा गरेर प्रदेश स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा माघ ७ गते प्रदेश अस्पतालसहित चार वटा निजी क्षेत्रका अस्पतालसँग सम्झौता गरेर ती अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरु गरेपछि उदयपुर जिल्ला अस्पताल गाईघाटमा सञ्चालित बालरोग विशेषज्ञ सेवा भने बन्द भएको छ ।

नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम मार्फत जिल्ला अस्पताल उदयपुरमा बालरोग विशेषज्ञ डाक्टर निरज सिंहले सेवा दिदैं आएका थिए । प्रदेश सरकारले  १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार घोषणा गरेपछि जिल्ला अस्पताल गाईघाटमा कार्यरत डाक्टरको सेवा सुविधामा असर पुगेको थियो ।

नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम मार्फत जिल्ला अस्पताल गाईघाटमा कार्यरत डाक्टरले जिल्ला अस्पतालमा भन्दा राम्रो सेवासुबिधा निजी अस्पतालहरूमा पाएपछि उहाँले राजीनामा दिनुभएको बुझिएको छ ।

यसअघि उपचारका लागि जिल्ला अस्पताल आउने बालबालिकाको उपचार बाट प्राप्त केही रकम बालरोग विशेषज्ञलाई थप गरिदिँदा डाक्टरको पारिश्रमिकमा केही राहत मिल्ने गरेको थियो भने अहिले प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरु गर्ने घोषणा गरेपछि डाक्टरको पारिश्रमिकमा असर परेको थियो । 

दैनिक ६० भन्दा माथि बालबालिका उपचारका लागि आउने गरेको जिल्ला अस्पताल गाईघाटमा कोशी प्रदेश सरकारको १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार घोषणा सँगै विशेषज्ञ डाक्टरको अभावमा सेवा बन्द हुन पुगेपछि उनीहरू मारमा परेका छन् । उदयपुर जिल्ल अस्पतालमा झन्डै १६ महिना सञ्चालित बालरोग विशेषज्ञ सेवा मार्फत स्थानीयले ठुलो राहत महसुस गरेका थिए यद्धपी अहिले विशेषज्ञ डाक्टरले काम छोडेपछि भने स्थानीयहरु निराश बनेका छन् ।

उदयपुर जिल्ला अस्पतालमा बालरोगको उपचार हुन छाडेपछि अब सो क्षेत्रका बालबालिकाको उपचारका लागि सुनसरीको धरान, मोरङको विराटनगर लैजानु पर्ने बाध्यता हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्