Logo
|
Wednesday 17th April 2024
Logo

epaper

अमेरिकामा मान्छेमा बर्ड फ्लू पुष्टि, नेपालमा सजग हुन किन जरुरी ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएपछि ठूलो स्तरमा कुखुरापालन हुने नेपालमा पनि सो रोगलाई लिएर सजगता अपनाउनुपर्ने विज्ञहरूले औँल्याएका छन्।

मूलतः पशुपक्षीमा हुने बर्ड फ्लू मानवमा सर्ने जोखिम न्यून हुने गरे पनि सङ्क्रमणको सम्भावनालाई नकार्न नसकिने भन्ने कुरा पुष्टि भइसकेको उनीहरूको तर्क छ।

सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि नेपालमा बर्ड फ्लूबाट एकजना पुरुषको ज्यान नै गएको इतिहास छ। सन् २०१९ को मे महिनामा काभ्रेका २१ वर्षीय पुरुषको बर्ड फ्लूको सङ्क्रमणबाट मृत्यु भएको थियो।

नेपालमा गत साउनयता बर्ड फ्लू चाहिँ नदेखिएको पशु सेवा विभागका प्रमुखले बताएका छन्। नेपालमा पहिलो पटक सन् २००९ मा पुष्टि भएको बर्ड फ्लू त्यसयता बर्सेनि अथवा एकाध वर्षको अन्तरालमा ब्युँतिरहेको पाइन्छ।

पशु सेवा विभागका महानिर्देशक उमेश दाहालका अनुसार सन् २०१३ मा बर्ड फ्लूले काठमाण्डू, धादिङ र चितवनसहितका जिल्लामा व्यापक क्षति निम्त्याएको थियो।

सङ्क्रामक रोग विशेषज्ञ के भन्छन् ?

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पशुपक्षीसँग प्रत्यक्ष सम्पर्कमा हुने मानिस बर्ड फ्लू सङ्क्रमणको जोखिममा हुन्छन् । विज्ञहरूका अनुसार एभिअन फ्लू पक्षीमा घातक भए पनि गाईबस्तुमा कम घातक हुने गरेको छ।

पक्षीसँग प्रत्यक्ष सम्पर्कमा हुने मानिसहरू बढी जोखिममा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुस्थित सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

“त्यसमा पहिलो नम्बरमा कृषक पर्छन् भने दोस्रोमा त्यसको ओसारपसार गर्ने मानिस पर्छन्,” जोखिममा हुने व्यक्तिबारे उहाँले बीबीसीसँग भन्नुभयो ।

“तेस्रोमा वधशालामा काम गर्नेहरू पर्छन् र चौथो नम्बरमा मासुलगायत पक्षीजन्य उत्पादन बिक्री गर्नेहरू पर्छन्।” यद्यपि बर्ड फ्लूबाट हुने सङ्क्रमणलाई लिएर नेपालमा पर्याप्त गम्भीरता नदेखिएको डा. पुन औँल्याउँछन्।

“यति संवेदनशील विषय भए पनि हामीले खासै ध्यान नदिएको हो कि जस्तो मलाई लाग्छ।”

नेपालमा देखा पर्‍यो बर्ड फ्लु, कारण के हुन सक्छ ?
चालु आर्थिक वर्षमा अहिलेसम्म बर्ड फ्लू नदेखिएको पशु सेवा विभागका निर्देशक डा. दाहाल बताउभयो । “हामीले गर्दै आएका सर्भेलिएन्सका क्रममा हालसालै कतै पनि बर्ड फ्लू गराउने भाइरस देखिएको छैन,” उहाँले भन्नुभयो । “यद्यपि देखिसकेपछि यो सङ्क्रामक भएकोले मानवीय क्षति पनि हुने हामी सचेत रहन जरुरी छ।”

बर्ड फ्लु के हो?

विश्व पशु स्वास्थ्य सङ्गठन (ओआईई) का अनुसार ‘नोटिफाइअबल एभिअन इन्फ्लुएन्जा’ भाइरसको ‘सब टाइप’ बाट हुने रोग वा सङ्क्रमणलाई बर्ड फ्लू भनिन्छ।

आनुवंशिक गुण फेर्न सक्ने सो भाइरसको विशेषता नै त्यसको अस्तित्वको निरन्तरताको प्रमुख कारण भएको विज्ञहरू बताउँछन्।

बर्ड फ्लूको भाइरसले आफूले मार हान्ने पशुपक्षीको शरीर अनुकूल आफूमा क्षमताको विकास गर्न सक्छ। सामान्यतया पशुपक्षीमा लाग्ने बर्ड फ्लूको भाइरस एकदमै ‘अस्थिर’ खालको हुने गरेको बताइन्छ।

उनीहरूका अनुसार बर्ड फ्लूको सङ्क्रमण देखिनासाथ नेपालमा मात्रै नभई विश्वको जुनसुकै ठाउँमा चालिने कदम भनेको सङ्क्रमण नियन्त्रण तथा रोकथाम नै हो।

त्यसका लागि सङ्क्रमित पशुपक्षी तथा तिनका उत्पादन लगायत सामग्रीलाई नष्ट गरिन्छ। विज्ञहरूका अनुसार एभिअन फ्लू पक्षीमा घातक भए पनि गाईबस्तुमा कम घातक हुने गरेको छ।

नेपालमा रोकथाम तथा नियन्त्रणका प्रयास
नेपालमा बर्ड फ्लूको रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय र क्षेत्रीय नियन्त्रण समन्वय समिति रहेका छन्।

पशुसेवा विभागका महानिर्देशक अध्यक्ष रहने केन्द्रीय समन्वय समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय पशु विज्ञान अनुसन्धानका प्रमुखलगायत सदस्य हुन्छन्।

कुनै ठाउँमा बर्ड फ्लूको शङ्का लागेमा जिल्ला पशु सेवा कार्यालयले प्रारम्भिक अनुसन्धान प्रतिवेदनसहित नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउँछ।

नमुनाको प्रारम्भिक परीक्षणबाट बर्ड फ्लू भएको देखिएमा उसले थप परीक्षण गरी त्यसको जानकारी पशुसेवा विभाग र पशु स्वास्थ्य निर्देशनालयलाई गराउँछ।

नमुनाको थप परीक्षणबाट बर्ड फ्लू लागेको सम्भावनालाई अझ पुष्टि गर्ने प्रतिवेदन प्राप्त भएमा नमुना लिइएको ठाउँलाई केन्द्रविन्दु मानी तीन किलोमिटरसम्मको परिधिभित्रको क्षेत्रलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सम्भावित सङ्कटग्रस्त क्षेत्र घोषणा गर्छ।

त्यसपछि सरकारी टोलीले सङ्कटग्रस्त क्षेत्रभित्रका घरपालुवा पक्षी, पक्षीजन्य पदार्थ, पक्षी उत्पादन सामग्री र त्यससँग सम्बन्धित अन्य वस्तु तथा औजार नष्ट गर्छ।

नष्ट गरिएका पक्षी, पक्षीजन्य पदार्थ, पक्षी उत्पादन सामग्रीलगायतलाई खाल्डो खनेर त्यसभित्र पुरिन्छ। निःसङ्क्रमण प्रक्रियामा भिर्कोन नामक औषधि र चुना लगायतको प्रयोग गर्ने गरिएको चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार सङ्क्रमणमा परेका बिरामीलाई चाहिँ ट्यामीफ्लू नामक आन्टिभाइरल दिइन्छ।

पोल्ट्री फर्मलाई निःसङ्क्रमण गरेपछि त्यसको ४२ दिनसम्म सो क्षेत्रमा पशुपक्षी पालनमा निषेध लगाई १० किलोमिटरको परिधिलाई निगरानीमा राख्ने गरिन्छ। बयालीस दिनसम्म फेरि सो ठाउँमा भाइरस नदेखिएपछि निषेध फुकुवा गर्ने प्रावधान रहेको छ।

नष्ट गरिएका पशुपक्षी र पशुपक्षीजन्य उत्पादन सामग्रीको क्षतिको रकम निर्धारण गरी सम्बन्धित धनीलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने गरिएको अधिकारीहरू बताउँछन्।

सङ्क्रमितमा कस्ता लक्षण देखिन्छन् ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकस्थित सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार मानिसलाई बर्ड फ्लू लाग्दा अरू फ्लूमा देखिने लक्षण देखिन्छन्।

  • सङ्क्रमण भएपछि खोकी लाग्छ, ज्वरो आउँछ
  • टाउको दुख्छ, चिसो लाग्छ
  • हाछ्युँ आउँछ
  • मांसपेशीमा पीडा हुन्छ
  • नाकबाट पानी बग्छ वा नाक थुनिन्छ
  • लक्षणहरू अचानक पनि देखिन सक्छन्।

सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा देखिने डा. पुन बताउँछन्।

खास गरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने डा. पुन सुझाउँछन्।

तर त्यसको अर्थ मासु, अण्डा एवं पशुपक्षीजन्य उत्पादन उपभोग गर्नेहरूले ख्याल गर्नुपर्दैन भन्ने होइन।

चिकित्सकहरूका अनुसार निम्न कुरामा मानिसहरूले ध्यान दिनुपर्छः

  • पोल्ट्री फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ
  • खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ
  • काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ
  • चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ
  • व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन
  • बर्ड फ्लू नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ
  • फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ
  • मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ
  • फर्ममा बर्ड फ्लू देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ
  • सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ
  • काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ
  • कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन। बीबीसीनेपाली

प्रतिक्रिया दिनुहोस्