Logo
|
Friday 26th July 2024
Logo

epaper

दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनः राष्ट्रपतिद्धारा स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन सरकारलाई आग्रह




नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्न जरुरी भएको बताउनुभएको छ ।

दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहको ह्यात रिजेन्सी होटलमा उद्घाटन गर्दै राष्ट्रपति पौडेललले स्वास्थ्य क्षेत्रले विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दस्तावेजहरूद्वारा निर्दिष्ट लक्ष्य तथा दिशाहरूको आधारमा अवलम्बन गरेका स्वास्थ्य क्षेत्रका लक्ष्यहरू प्राप्त गर्नका लागि स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन आग्रह गर्नुभएको हो ।


राष्ट्रपति पौडेलले भन्नुभयो —‘हाम्रो संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्ने, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ । संविधानको यो व्यवस्था कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नुपर्छ भन्ने मलाई लाग्छ ।’


उहाँले आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानका लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी भएको उल्लेख गर्नुभयो ।


‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रमा नयाँ खोज तथा अनुसन्धानको माध्यमबाट स्वास्थ्य क्षेत्रलाई अझ समुन्नत बनाउँदै लैजानु आजको आवश्यकता हो ।’—राष्ट्रपति पौडेलले भन्नुभयो ।


सो अवसरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मुलुकलाई समृद्ध तर्फ अग्रसर गराउन स्वास्थ्य अनुसन्धानको आवश्यकता रहेको बताउनुभयो ।


स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सम्मेलनले आगामी दिनमा स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सहयोग गर्ने उल्लेख गर्नुभयो ।


स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले सम्मेलनले निकालेको निष्कर्ष सरकारलाई हस्तान्तरण गर्ने बताउनुभयो


राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारीले सम्मेलनले युवादेखि अनुभवी अनुसन्धानकर्तालाई एउटै छाता मुनि ल्याउने बताउनुभयो ।


स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव स डा. प्रमोद जोशीले सम्मेलनका अतिथीहरुलाई स्वागत गर्नुभयो ।


चैत्र २८, २९ र ३० सम्म गरी ३ दिनसम्म हुने सम्मेलनको नारा ‘दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ भन्ने रहेको छ । एक हजार भन्दा बढीको सहभागीत रहने भनिएको सम्मेलनमा भारत, स्वीजरल्याण्ड, बेलायत, अस्ट्रेलिया, सयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छन् ।सम्मेलनका लागि ३५७ वटा मौखिक तथा पोस्टर प्रस्तुतीकरणका लागि संक्षिप्त लेखहरु प्राप्त भएका थिए । तिमध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतीका लागि छनौट गरिने छ । सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न बिषयमाथि सामूहिक छलफल समेत हुने छन् । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने छ ।्
यस्तै सम्मेलनमा विभिन्न १० विधामा अवार्डहरू प्रदान गरिने छ । सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरुमध्ये बाट एक–एक जनालाई उत्कृष्ट मौखिक प्रस्तुतीकरण र उत्कृष्ट पोस्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ ।
यसैगरी परिषद्को जर्नलमा एक वर्ष (सन् २०२३) भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल–२०२३ प्रदान गरिनेछ । स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरू बीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्धारा सम्बोधन गर्ने उद्देश्यले वि.स. २०७१ (सन् २०१५) देखि हरेक वर्ष परिषद्ले शिखर सम्मेलन आयोजना गर्दै आइरहेको छ । सम्मेलनले अनुसन्धान मार्फत सहकार्यलाई प्रवद्र्धधन गर्ने तथा योजना र विकासमा टेवा पु¥याउने लक्ष्य राखेको छ ।


साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक), मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (परिषद् कर्मचारी) र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको एक जना वैज्ञानिक स्वास्थ्य अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्