Logo
|
Tuesday 28th May 2024
Logo

epaper

वायु प्रदूषणः कसरी गरिन्छ हावाको गुणस्तर मापन ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । विश्वभर वायु प्रदूषणको निगरानी गर्ने स्विट्जरल्यान्डको आईक्यू एअरको सूचीमा बुधवार केही समय नेपालको राजधानी काठमाण्डू विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक नम्बरमा परेको थियो। प्रदूषणको सूचीमा काठमाण्डू माथि परेपछि यसबारे बहसहरू भइरहेका छन्।

संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रमले विश्वका करिब ९० प्रतिशत मानिसहरूले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा कम स्वच्छ हावामा श्वास फेरिरहेको उल्लेख गरेको छ।

आईक्यू एअरका अनुसार साताको आरम्भ देखिनै ‘अस्वस्थकर’ रहेको राजधानी काठमाण्डूको हावा बुधवार ‘अति अस्वस्थकर’ बनेको छ। उक्त संस्थाले यो प्रदूषणमा बिहीवारबाट केही सुधार हुने पूर्वानुमान पनि सार्वजनिक गरेको छ।

बुधवार अपराह्नबाट भने भारतको कोलकाता र बाङ्ग्लादेशको राजधानी ढाकाको प्रदूषण तह काठमाण्डूभन्दा उच्च देखिएको थियो।

नेपालका विभिन्न २७ स्थानमा वायु प्रदूषण मापन गर्ने उपकरण राखेर हावामा फैलिएका प्रदूषणका कणहरूको मापन गरिरहेको वातावरण विभागले पनि काठमाण्डू उपत्यकामा पछिल्लो समय प्रदूषण उच्च रहेको देखाएको छ।

प्रदूषण मापन गर्ने विधि कस्ता छन् ?

संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रमले काठमाण्डू उपत्यका आसपासका क्षेत्रमा प्रदूषण उच्च रहेको देखाएको छ ।

वातावरण विभाग अन्तर्गतको वातावरण प्रदूषण, नियन्त्रण तथा नियमन शाखाका प्रमुख दीपक ज्ञवालीका अनुसार नेपाल लगायत विश्वभर दुई प्रकारका प्रणालीबाट वातावरण प्रदूषण मापन गरिन्छ।

नेपालले विभागबाट देशभर राखिएका प्रदूषण मापन उपकरणबाट प्राप्त तथ्याङ्कका आधारमा प्रदूषण मापन गर्दै आएको छ। प्रदूषणको विश्लेषणका लागि भने विभिन्न देश र संस्थाले भू-उपग्रहबाट लिएका तथ्याङ्कहरू पनि प्रयोग गर्ने गरेको छ।

“विभागले जमिनमा राखेका उपकरणहरूबाट प्रदूषण मापन गर्छ। तर भूउपग्रहबाट पनि मापन गर्ने विधि पनि अन्यत्र प्रचलनमा छ। हामीले मापन केन्द्रहरूबाट सङ्कलन हुने तथ्याङ्कका आधारमा वायु प्रदूषणको स्तर गणना गर्ने हो,” ज्ञवालीले भन्नुभयो ।

विभागबाहेक नेपालमा अमेरिकी दूतावास र केही अनुसन्धान संस्थाहरूले वायू प्रदूषण मापन उपकरणहरू राखेका छन्।

आईक्यू एअर कति विश्वसनीय छ
विभागका सूचना अधिकारी ज्ञवाली आक्यू एअरको तथ्याङ्कलाई विश्वसनीय नै मान्न सकिने बताउनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको वातावरण परियोजनाले पनि यो संस्थासँगको सहकार्यमा विश्वभर वायु प्रदूषणको तथ्याङ्क सार्वजनिक गर्दै आएको छ।

आईक्यू एअरले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार नेपालको वातावरण प्रदूषण शाखा, अमेरिकी दूतावास सहितका अन्य दुई संस्थाबाट काठमाण्डूको वायु प्रदूषणको तथ्याङ्क लिइने उल्लेख गरेको छ।

नेपालको वातावरण विभागले भने उक्त संस्थाले आफूहरूसँग सहकार्य नगरेको जनाए पनि विभागले मापन गर्ने प्रदूषणको तथ्याङ्क सार्वजनिक रूपमै उपलब्ध हुने भएकोले प्रयोग भएको हुन सक्ने ज्ञवाली बताउनुहुन्छ ।

यो संस्थाले विश्वभरका ३१,०३४ स्टेशनहरूबाट प्राप्त वायु प्रदूषण मापनको तथ्याङ्क विश्लेषण गरिने जनाएको छ।

विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेका अनुसार विभागले देशका २७ स्थानमा राखेका उपकरणहरूले ती उपकरण राखिएका स्थानको हावाको नमुना लिएर प्रदूषणको मापन गर्ने गरेका छन्।

“उपकरणले त्यो ठाउँको हावा पम्प गरेर भित्र तान्छ र त्यहाँ प्रदूषण कति छ भनेर मापन गर्छ,” लामिछाने भन्नुहुन्छ ।

“पीएम २.५ भन्यो भने त्यो भन्दा सानो कणहरू कति छन् र पीएम १० भन्यो भने १० माइक्रोनभन्दा सानो धुलोका कणहरू कति छन् भनेर हेर्ने हो।”

विभागकै वातावरण निरीक्षक टिका रेग्मीका अनुसार यस्ता उपकरणहरू उच्च प्रविधियुक्त हुन्छन्।

“यस्ता उपकरणमा उच्च प्रविधियुक्त फिल्टर जडान गरिएको हुन्छ र त्यसमा कति कणहरू जम्मा भए भन्ने हिसाबले प्रदूषण नापिन्छ। त्यसले निकै स-साना धूलोका कणहरूसँगै तरल प्रदूषणको पनि मापन गर्छ,” रेग्मी भन्नुहुन्छ ।

विभागका अनुसार यस्ता अधिकांश उपकरणहरू २४सै घण्टा सञ्चालन हुन्छन् र हरेक मिनेटमा तथ्याङ्कहरू विभागको सर्भरमा पठाउँछन्।

“सर्भरले दैनिक औसत लगायतका विवरण स्वचालित रूपमा हिसाब पनि गर्छ र त्यो विवरण कम्प्युटर प्रणालीबाट वेबसाइटमा स्वतः प्रकाशित हुन्छ,” उहाँले भन्नुभयो ।

वायु प्रदूषण मापनको विश्वसनीयता कति हुन्छ ?

भूउपग्रहबाट ठूलो क्षेत्रको प्रदूषण मापनका साथै हावाको दिशाका आधारमा प्रदूषणको पूर्वानुमान पनि गर्न सकिने जानकारहरू बताउँछन्। तर बादल लागेको अवस्थामा भने यस्ता उपकरणहरूबाट मापन गरिने प्रदूषणको मात्रा फरक पर्नसक्ने बताइन्छ।

“घाम लागेको समयमा राम्रो हुने भए पनि बादल लागेको समयमा भू-उपग्रहबाट लिइने तथ्याङ्कमा सही नहुन सक्छ,” विभागका सूचना अधिकारी ज्ञवाली भन्नुहुन्छ ।

जमिनमा राखिएका उपकरणहरूले भने निश्चित क्षेत्रको हावाकै नमुनाका आधारमा प्रदूषण मापन गर्ने भएका कारण त्यसलाई थप विश्वसनीय मानिन्छ।

“यस्ता उपकरहरू धेरै हुँदैनन्। निश्चित ठाउँबाट सङ्कलन भएको तथ्याङ्कका आधारमा हामीले त्यो पूरै क्षेत्रको प्रदूषण आकलन गर्नुपर्ने हुन्छ,” ज्ञवाली भन्छन्।

काठमाण्डूको रत्नपार्क र कीर्तिपुर, ललितपुरको पुल्चोक, खुमलटार र भैँसेपाटी तथा भक्तपुरको सल्लाघारीमा राखिएका उपकरणहरूका आधारमा काठमाण्डू उपत्यकाको वायु प्रदूषणको मापन गर्ने गरिएको छ।

विभागकी निरीक्षक रेग्मी यस्ता उपकरणहरू राखिएका ठाउँमा जम्मा भएको प्रदूषणका आधारमा भर पर्ने बताउनुहुन्छ ।

“कुनै उपकरण अलि धेरै धुवाँ धुलो हुने क्षेत्रमा राखिएका छन् भने त्यो पूरै क्षेत्रको प्रदूषण बढी देखिन सक्छ,” उहाँले भन्नुभयो ।

प्रदूषणको पूर्वानुमान
नेपालमा पनि प्रदूषण पूर्वानुमानको अभ्यास प्रारम्भिक चरणमा रहेको विभागमा निरीक्षक लामिछाने बताउनुहुन्छ ।

“हाम्रोमा पनि भर्खरै पूर्वानुमान प्रणाली भित्रिएको छ तर यसको विश्वसनीयता कति छ भनेर हामी अध्ययन गर्दैछौँ,” उहाँले भन्नुभयो ।

काठमाण्डूको भौगोलिक संरचना पनि प्रदूषणमा जिम्मेवार मानिन्छ। काठमाण्डू उपत्यकामा वायु प्रदूषण उच्च देखिनुको एउटा कारण यहाँको भौगोलिक संरचना पनि रहेको जानकारहरू बताउँछन्।

“काठमाण्डू कचौरा आकारको भएका कारण एक त यहाँको प्रदूषण बाहिर जाँदैन अर्को बाहिरबाट आएको प्रदूषित हावा पनि यहीँ रहन्छ,” विभागका निरीक्षक लामिछानेले भन्नुभयो ।

नेपालमा हरेक वर्ष ज्यानुअरीपछि मार्च अप्रिलमा प्रदूषण उच्च देखिने गरेको छ। त्यसमा डढेलोलाई प्रमुख कारक ठानिएको छ।

यससँगै नेपालको तराई भूभाग र भारतबाट समेत कृषि क्षेत्रमा आगो बाल्ने गतिविधिका कारण प्रदूषित हावा भित्रिएको ठान्ने गरिएको छ।

यस अघिका वर्षहरूमा ज्यानुअरीमा देखिने गरेको उच्च प्रदूषण विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले कम भएको ठानिएको भए पनि यसबारे पर्याप्त अध्ययन हुन बाँकी रहेको लामिछाने बताउनुहुन्छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्