Logo
|
Tuesday 30th April 2024
Logo

epaper

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला, तीन महिनामा एक लाख ८५ हजार बढीले लिए सेवा



नेपाल हेल्थ न्युज, काठमाडौँ । टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाहिर विहानैदेखि लामो लाइन छ । सोमबार झिसमिसेमै यहाँ आइपुगेकाहरुको घाम चर्कँदासम्म पनि पालो आइपुगेको छैन ।

सोमबार विहानै ६ बजे स्वयम्भूबा यहाँ आइपुगेकी ५० वर्षीय उमा श्रेष्ठ हातमा टोकन लिएर पालो कुर्दै छिन् । “झिसमिसेमै आइपुग्दा पनि लाइन लामो भइसकेको थियो, टोकन लिएर पालो कुरिरहेकी छु”, उहाँले भन्नुभयो ।

स्वास्थ्यमा खासै समस्या नभए पनि नजिककाहरुले टेकुको प्रयोगशालामा राम्रो छ भनेपछि परीक्षण गरौँ न त भनेर यहाँ आएको उनले सुनाइन् । “म त नियमित योगा गर्छु । खासै बिरामी पर्दैन । तै पनि शरीरमा कुनै रोग छ कि भनेर स्वास्थ्य परीक्षण गर्न आएकी हुँ”, उहाँले भन्नुभयो

टोकन लिएर उमा जस्तै पालो कुर्नेमा चाबहिलबाट आएका २७ वर्षीय आशुतोष पौडेल पनि हुनुुहुन्छ । उहाँ ‘भिटामिन डी’ र ‘आइरन’ परीक्षण गर्न आउनुभएको थियो । “म प्रायःजसो परीक्षणका लागि यहीँ आउँछु । यहाँ गराएको जाँचले विश्वस्तरीय मान्यता पाउने रहेछ”, उहाँले भन्नुभयो “केही बेर पालो कुर्नु परे पनि सेवा भने छिटो छ । चिकित्सकले नभने पनि नियमित परीक्षण गराइरहेको हुन्छ ।” उहाँले प्रयोगशालाको सेवा राम्रो भए पनि लाइन व्यवस्थापनमा सुधार गर्न सकिने बताउनुहुन्छ ।

प्रयोगशालामा विहानैदेखि सेवाग्राहीको घुइँचो बढिसकेको थियो । सेवा लिन कुरिरहेका र सेवा लिइसकेकाहरुको घुइँचो घटेको थिएन । प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएकाले सेवाग्राहीको भीड लागेको स्वयम् सेवाग्राहीहरु नै बताउँछन् ।

पकनाजोलबाट ‘होल बडी चेकअप’का लागि आएका ६३ वर्षीय रामराजा धिताल यहाँको परीक्षण विश्वासयोग्य भएको बताउनुहुन्छ । “बुढेसकाल लाग्यो । खुट्टाहरु दुख्छन् । शरीरमा सुगरलगायतका अरु समस्या छ कि भनेर परीक्षण गर्न आएको हुँ”, उहाँले भन्नुभयो । उहाँ अरुलाई पनि यहाँ परीक्षणका लागि सुझाव दिनुहुन्छ ।

नार्गाजुन नगरपालिका–६ रामकोटकी ४३ वर्षीया एलिना उप्रेती पनि प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएकैले यहाँ आएको सुनाउनुभयो । सरकारले यहाँ विशेष खालका अपाङ्गता भएका व्यक्तिलाई छुटको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो “म मनोसामाजिक अपाङ्गता भएको व्यक्ति हुँ । अरु खालका अपाङ्गता भएकालाई छुट दिने व्यवस्था भए पनि हाम्रो लागि त्यस्तो छैन, अब त्यो हुुनपर्छ ।” पालो पाउन भने धेरैबेर कुर्नु परे पनि सेवा पनि गुणस्तरीय भएको उनको बुझाइ छ ।

प्रयोगशाला बाहिर देखिएको सेवाग्राहीको भीड र उनीहरुको विश्वासले जनस्वास्थ्य प्रयोगशालाले सेवाग्राहीहरुको मत जितेको प्रष्ट हुन्छ । सन् १९६८ मा स्थापना भएको प्रयोगशालामा हाल दुई सय २८ वटा परीक्षण उपलब्ध छन् । पछिल्लो तीन महिनामा प्रयोगशालामा एक लाख ८५ हजार दुई सय ७५ जनाले सेवा लिइसकेका छन् । प्रयोगशालाका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच लाख ५९ हजार चार सय सातले सेवा लिएका थिए भने १२ लाख ६२ हजार नौ ५० वटा परीक्षण भएका छन् ।

प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टका अनुसार आईएसओ मान्यता प्राप्त नेपालको एक मात्र सरकारी प्रयोगशाला भएकाले पनि धेरैले रुचाएको र विश्वासिलो मानेका हुनसक्छन् । उहाँ भन्नुहुन्छ, “सस्तोमा गुणस्तरीय सेवा दिएकाले पनि सेवाग्राहीको चाप र घुइँचो देखिएको हो । हामीकहाँ सुगर परीक्षण त २५ मै हुन्छ ।”

सेवाग्राहीको चाप बढ्दै गएको र पालो पर्खनुपर्ने ठाउँ साँगुरो भएकाले पनि धेरै सेवाग्राहीबाट यो गुनासो आउने गरेको डा भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “पूर्वाधार बिस्तारमा जोड दिनुपर्ने छ । नयाँ भवन बन्ने क्रममा छ । त्यो बन्यो भने सेवा थप बिस्तार गर्न सकिन्थ्यो । भवन बनिराखेकाले पनि ठाउँ साँघुरो भएको छ ।”

हाल पाँच वटा बुथबाट प्रयोगशालामा सेवा प्रदान भइरहेको छ । दैनिक अधिकतम सात सय र कहिलेकाहीँ एक हजारसम्म सेवाग्राही आउने गरेको उहाँले सुनाउनुभयो ।

प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीका अनुसार एक दिनमा थोरैमा पनि चार सय सेवाग्राहीले आउने गरेका छन् । उहाका अनुसार प्रयोगशालामा ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई छुट्टै बुथ र छुटको पनि व्यवस्था छ ।

यहाँ आउनेमा सबैभन्दा बढी ‘होल बडी चेकअप’ नै गराउन आउने गरेको उहाँको भनाइ छ । परीक्षणका लागि बिहान ८ बजेबाट २ बजेसम्म टोकन वितरण हुन्छ । तर सेवाग्राही भने विहान अध्यारोँ छँद यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाबाहेक आइतबारदेखि शुक्रबारसम्म प्रयोगशालाले सेवा दिँदै आइरहेको छ । शुक्रबार भने विहान ८ देखि दिउँसो १२ बजेसम्म परीक्षण हुन्छ ।

जैसी भन्नुहुन्छ “धेरैले लाइन बस्न समस्या भयो भनेर गुनासो गर्नुभएको छ । पहिले सेवाग्राही आफैले मेसिनबाट टोकन लिन मिल्ने व्यवस्था राखिएको थियो तर त्यसको दुरपयोग भएको पाइयो । कतिले टोकन नै बेचेको पाइएपछि हाल ८ बजे मात्र हामी आफैँ टोकन दिन्छौँ ।”

उहाँका अनुसार प्रयोगशालामा अन्यत्र कतै नहुने परीक्षण पनि उपलब्ध छन् । जुन सबै सर्वसुलभ दरमा उपलब्ध रहेको उहाँको भनाइ छ ।

निजी प्रयोगशालामा १० हजारसम्म पर्ने ‘होलबडी चेकअप’ यहाँ आधाभन्दा सस्तोमा उपलब्ध रहेको जैसीको भनाइ छ । “सस्तोमा रु २५ मा हुने परीक्षण पनि छ भने ५० हजार पर्ने मिर्गौला प्रत्यारोपणअघि गराइने परीक्षणको सेवा पनि उपलब्ध छ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्