Logo
|
Tuesday 30th April 2024
Logo

epaper

८ महिनामा प्रतिष्ठानबाट एक हजार बढी ज्येष्ठ नागरिकले पाए निःशुल्क उपचार सेवा



नेपाल हेल्थ न्युज, दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बितेको ८ महिनामा एक हजारबढि ज्येष्ठ नागरिकहरूले निःशुल्क सेवा पाएका छन् । प्रतिष्ठानका निमित्त अस्पताल का.मु. अस्पताल निर्देशक डा. रमेश कँडेलले गएको साउनदेखि फागुनसम्म १ हजार ८७ जना ज्येष्ठ नागरिक बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिनु भयो ।

जसमा महिलातर्फ ६ सय ६२ जना र पुरुषतर्फ ४ सय २५ ज्येष्ठ नागरिकले सेवा लिएका हुन् । ज्येष्ठ नागरिकको उपचारको लागि १३ लाख २९ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको छ । रगत, एक्सरे सहित रोगको डाइग्नोसिस गर्न निश्चित उपचारमा शत प्रतिशत ज्येष्ठ नागरिकलाई छुट दिने पनि गरिएको छ । ज्येष्ठ नागरिकहरूको उपचारको सहजताका लागि धेरै सुधारको काम भइरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताउनु भयो । प्रतिष्ठानमा टोकन प्रणालीदेखि ज्येष्ठ नागरिकमैत्री हुने गरी उपचार सेवा प्रभावकारी बनाइएको पनि उहाँले बताउनु भयो । उपचार पाउने ज्येष्ठ नागरिकहरूमा नयाँ ५ सय ६५ र पुरानो फलोअप ५ सय २२ जना रहेको कामु निर्देशक कँडेलले जानकारी दिनु भयो ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार साउनमा ९५ जना महिला र ४० जना पुरुष गरेर १ सय ३५ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । जसमा नयाँ ५० जना र पुराना ८५ जना ज्येष्ठ नागरिकको उपचारका लागि १ लाख ३९ हजार १ सय ६० रुपैयाँ खर्च भएको छ । त्यस्तै भदौमा महिला ९० र पुरुष ४० जना गरेर १ सय ३० जना ज्येष्ठ नागरिकले नि:शुल्क सेवा लिएका छन् । नयाँ ५० जना र पुराना फलोअप ८० जना ज्येष्ठ नागरिकको उपचारको लागि १ लाख ५० हजार ४ सय ४८ रुपैयाँ खर्च भएको छ ।

त्यसै गरेर असोज महिनामा महिला ६४ र पुरुष ७९ जना गरेर १ सय ४३ जनाले उपचार पाएका छन् । जसमा नयाँ ९७ जना र पुरानो ४६ जनाको उपचारको लागि १ लाख ८५ हजार २ सय ५० रुपैयाँ खर्च भएको छ, भने कार्तिक महिनामा महिला ५४ जना र पुरुष ३९ जना गरेर ९३ जना ज्येष्ठ नागरिकको उपचार गरिएको छ । नयाँ ६१ जना र पुराना ३२ जनाको उपचारको लागि १ लाख १२ हजार ४ सय रुपैयाँ खर्च भएको छ । मङ्सिर महिनामा महिला ७५ जना र पुरुष ४५ जना गरेर १ सय २० जनाले सेवा पाएका छन् । जसमा नयाँ ६५ जना र पुरानो ५५ जनाको उपचारको लागी १ लाख ५२ हजार ६ सय रुपैयाँ खर्च भएको छ ।

यस्तै पौष महिनामा महिला ७९ जना र पुरुष ६१ जना गरेर १ सय ४० जना ज्येष्ठ नागरिकहरूको प्रतिष्ठानमा उपचार भएको छ । जसमा नयाँ ९७ जना र पुराना ४३ जनाको उपचारका लागि १ लाख ९६ हजार २ सय १० रुपैयाँ खर्च भएको प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराइले बताउनु भयो । प्रतिष्ठानका अनुसार माघ महिनामा महिला ८२ जना र पुरुष ६६ जना गरेर १ सय ४८ जना ज्येष्ठ नागरिकले उपचार प्राप्त गरेका छन् । जसमध्ये नयाँ ६५ जना र पुराना ८३ जनाको उपचारको लागि १ लाख ८३ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ ।

त्यसै गरेर फागुनमा महिला ७० जना र पुरुष १ सय ८ जना गरेर १ सय ७८ जनाले सेवा पाएका छन् । नयाँ ८० जना र पुरानो ९८ जनाको उपचारको लागी २ लाख १० हजार ४ सय ५० रुपैयाँ खर्च भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले प्रतिष्ठानले न्युन बजेटमा पनि धेरै धेरै सङ्ख्यामा ज्येष्ठ नागरिकहरूको निःशुल्क उपचार गरिरहेको बताउनु भयो । सरकारले केन्द्रबाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने कारण प्रतिष्ठानले आफ्नो तर्फबाट पनि खर्च गरेर ज्येष्ठ नागरिकलाई उपचार सेवा दिएको भन्दै छुट्टाइएको बजेट भन्दा पनि धेरै खर्च शोध भर्नाका लागि मन्त्रालयसँग अनुरोध गर्ने बताउनु भयो । ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको व्यवस्था गरेर प्रतिष्ठानले सो सेवालाई प्रभावकारी बनाउँदै लगेको छ । प्रतिष्ठानले ओ.पी.डी. सहित १२ बेडको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्