Logo
|
Thursday 2nd May 2024
Logo

epaper

औलोको उच्च जोखिममा डुडुवा : किटनाशकयुक्त झुल वितरण



नेपाल हेल्थ न्युज, बाँके । बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको बढी जोखिम रहेकाले स्थानीयलाई निःशुल्क झुल वितरण गरिएको हो । 

वार्ड नंं. ४ अन्तर्गत करिब एक हजार दुई सय घरधुरीलाई तीन हजार पाँच सय ९९ किटनाशकयुक्त झुल वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । शाखा प्रमुख शर्माका अनुसार गाउँपालिकाको वार्ड नंं.४ मा केही दिन अघि पाँच जनामा औलो रोग पुष्टि भएपछि उच्च सर्तकताका साथ स्वास्थ्य शिक्षासँगै सावधानीका लागि झुल वितरण गरिएको हो । 

वडाध्यक्ष सगिर खाँले स्थानीयलाई झुल वितरण गर्दै स्वास्थ्य जस्तो अति संवेदनशील विषय भएकाले रोगबाट बच्न विशेष सावधानी अपनाउनु पर्नेमा जोड दिँदै स्वास्थ्य सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो । 

यसैगरी बाँकेको नरैनापुर गाउँपालिकामा औलोका सबैभन्दा बढी बिरामी भेटिएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्म नरैनापुर गाउँपालिकामा ८० जना, डुडुवामा पाँच जना, राप्तीसोनारीमा पाँच जना, बैजनाथ गाउँपालिकामा एक जना, नेपालगन्ज उपमहानगरपालिकामा पाँच जनामा औलो रोगको बिरामी भेटिएको र अरू पालिकामा शून्य रहेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोगका फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । 

उहाँका अनुसार बाँके जिल्ला नै औलोको उच्च जोखिममा छ । औलोका बिरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको उहाँले बताउनुभयो । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा किटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्