Logo
|
Friday 3rd May 2024
Logo

epaper

भारत सरकारद्धारा एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण



नेपाल हेल्थ न्युज, नेपालगन्ज। भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो । 

नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ ले नेपाल सरकार सहरी विकास मन्त्रालय तथा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो । भारतले आफ्नो क्षेत्रतिर पनि आइसिपी बनाएको छ भने नेपालतर्फ बनेको आइसिपी हस्तान्तरण गरेको हो ।

त्यस क्रममा भारतका तर्फबाट दूतावाससहित सम्बन्धित सरोकारवाला अधिकारी तथा नेपालका तर्फबाट मन्त्रालय, विभाग तथा समितिका कार्यकारी निर्देशक आशिष् गजुरेल लगायत उच्च अधिकारीको उपस्थिति थियो । २०८० जेठमा भारत भ्रमण गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ माध्यमबाट उक्त आइसिपीको उद्घाटन गर्नुभएको थियो ।

भारतको सहयोगमा नेपालगन्ज नाकामा आइसिपी निर्माण गर्न २०६७ सालमा नेपाल सरकारले जयपुरमा जग्गा अधिग्रहण गरेको थियो । नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आइसिपी निर्माण गरिएको छ । आइसिपी स्थलमा भन्सार कार्यालय, पशु र  प्लान्ट क्वारेनटाइन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैङ्क काउन्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ ।

आइसिपी सञ्चालनमा आएपछि मालवाहक सवारी साधनको जाँच पास सोही ठाउँबाट गरिने बताइएको छ । अब भन्सार कार्यालयले यही वैशाख २५ गतेदेखि आफ्नो काम आइसिपी स्थलबाट सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्