Logo
|
Monday 20th May 2024
Logo

epaper

विश्वभर बढ्दै लिंग क्यान्सरका बिरामी: कारण, लक्षण र बच्ने उपाय

ब्राजिलमा लिंग क्यान्सरका २१ हजार बढी बिरामी, ४ हजारले गुमाए ज्यान



नेपाल हेल्थ न्युज, काठमाडौँ । सन् २०१८ तिर ब्राजिलियन निवृत्तिभरणकर्ता जोआओले आफ्नो लिंगमा गाँठो फेला पारे । उनी तुरुन्तै जाँच गर्न डाक्टरकहाँ गए ।

६३ वर्षीय जोआओ ती दिनहरू सम्झन्दै भन्छन्–‘मैले धेरै मेडिकल क्लिनिक र अस्पतालहरु धाँए । डाक्टरहरूले यो छालाको वृद्धिको परिणाम हो भन्दै औषधि लेखिदिनुहुन्थ्यो ।’

औषधि सेवन गरे पनि जोआओको लिंगको गाँठो बढ्दै गयो । यसले उनको वैवाहिक जीवनमा पनि असर गर्न थाल्यो । विस्तारै जोआओ र उनकी श्रीमती बीचको यौन सम्बन्ध पनि कम हुन थाल्यो । तर जोआओ आफूलाई के भएको थियो भनेर पत्ता लगाउन अडिग थिए।

जोआओ उनको वास्तविक नाम होइन । उनले पाँच वर्ष निरन्तर विशेषज्ञ चिकित्सकहरु भेटे । चिकित्सकहरुले पनि उनलाई थप औषधि दिए । नयाँ बायोप्सी गर्न भनियो । उनी थप्छन्–‘यसले पनि मलाई मद्दत गरेन ।’

पाँच वर्षपछि सन् २०२३ मा पेनाइल क्यान्सर (लिंगको क्यान्सर) भएको पत्ता लाग्यो । जोआओ भन्छन्,–‘यो मेरो परिवारको लागि एकदमै पीडादायी थियो । विशेष गरी मेरो लिंगको एक भाग काट्नुपर्यो । आफ्नो अंगभंग भएको महसुस भयो।’–उनी थप्छन्–‘यो यस्तो क्यान्सर हो जसको बारेमा तपाई कसैसँग खुलेर कुरा गर्न सक्नुहुन्न । किनकि हाँसोको पात्र बन्ने डर हुन्छ ।’

लिङ्गको क्यान्सर एक धेरै दुर्लभ रोग हो । तर, विश्वभर यस क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ ।पछिल्लो अध्ययनका अनुसार ब्राजिलमा हरेक एक लाखमा २.१ लाई लिङ्गको क्यान्सर हुने पाइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१२ देखि सन् २०२२ सम्ममा देशमा लिंगको क्यान्सरका २१ हजार केसहरू रेकर्ड भएका थिए। जसका कारण चार हजारभन्दा बढीको मृत्यु भएको छ ।

विगत एक दशकमा यो क्यान्सरका कारण ६ हजार ५ सय बढीले आफ्नो लिंग काट्नु परेको छ । यसको मतलब औसतमा प्रत्येक दुई दिनमा एक शल्यक्रिया हुन्छ ।

ब्राजिलको सबैभन्दा गरिब प्रान्त मध्येको एक मारान्हाउमा, प्रत्येक एक लाख पुरुषमध्ये ६.१ ज्नामा लिंगको क्यान्सर पाइएको छ । जुन संसारमा सबैभन्दा उच्च दर हो ।

लिङ्ग क्यान्सरका लक्षण
लिङ्गमा घाउ हुन्छ । लामो समयसम्म घाउ निको हुँदैन । लिंगबाट दुर्गन्धित स्राव हुन्छ । समयमै लिङ्गको क्यान्सर पहिचान भएमा शल्यक्रियामार्फत गाँठो हटाउन सकिन्छ । रेडियोथेरापी वा केमोथेरापी मार्फत निको बनाउन सकिन्छ ।

यदि लिंगको क्यान्सरलाई यथास्थितिमा छोडियो या उपचार गरिएन भने लिंगको सम्पूर्ण वा आधा भाग काट्नु पर्ने हुन सक्छ । कतिपयको अण्डकोष समेत काट्नु पर्ने हुन सक्छ ।

जोआओले क्यान्सरबाट छुटकारा पाउन गत जनवरीमा आफ्नो लिंगको एक भाग शल्यक्रिया गरेर काट्नुपरेको थियो । उनी भन्छन–‘मेरो लागि निकै गाह्रो समय थियो ।’

जोआओ थप्छन् –‘यस्तो अवस्थाबाट गुज्रनुपर्छ भनेर कहिल्यै सोचेको थिइँन । सबैभन्दा विडम्बना त आफूलाई लागेको रोगबारे अरुलाई सुनाउन समेत अप्ठ्यारो हुन्थ्यो ।’

‘म शल्यक्रियादेखि निकै डराएको थिएँ । तर अर्को विकल्प थिएन। शल्यक्रियापछिका केही हप्तासम्म निकै दुखी थिएँ । आफ्नो लिंगको एक भागबाट वञ्चित हुनु एकदमै डरलाग्दो कुरा हो ।’–उनी भन्छन् ।

कतिपय बिरामीको लिंग पूरै काट्नु पर्ने हुन्छ । जसले गर्दा उनीहरूको जीवन पूर्ण रूपमा परिवर्तन उनको भनाइ छ ।

के भन्छन् चिकित्सक ?
साओ पाउलोको एसी क्यामेरागो क्यान्सर सेन्टरका युरोलोजी विभागका प्रमुख डा. थियागो क्यामेलो मोउराओका अनुसार आंशिक अंगविच्छेदन गर्दा लिंगबाट पिसाब फेर्न सकिन्छ । तर, लिंग पूर्ण रूपमा काट्नुपर्ने बिरामीको केशमा मूत्रमार्गलाई एनल प्यासेज र अण्डकोषको बीचको क्षेत्रमा फर्काइन्छ । जसका कारण बिरामीले ट्वाइलेट सिटमा बसेर पिसाब फेर्नु पर्ने हुन्छ ।
विज्ञहरुका अनुसार लिंगको क्यान्सर हुनुका धेरै कारण हुन सक्छन् । यसमा छाला मोटो हुनु र धुम्रपान समावेश छ ।


ब्राजिलियन सोसाइटी अफ युरोलोजीका मौरिसियो डेनर कोर्डेरो भन्छन्–‘ लिङ्गको सरसफाइमा ध्यान नदिँदा पनि क्यान्सर हुन सक्छ ।’

उनी भन्छन–‘लिङ्गको अगाडी पट्टी भागको छालालाई राम्ररी सफा नगरे छाला फोहोर जम्मा भएर ब्याक्टेरियाको संक्रमणको हुनसक्छ । यो प्रकृया बारम्बार भएमा ट्युमर बन्ने खतरा हुन्छ ।’

लिङ्गको सरसफाई नगर्नुका साथै ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) संक्रमण भइरहनु पनि लिङ्ग क्यान्सरको जोखिम बढाउने एउटा कारण भएको मौरिसियो बताउँछन् । एचपीभी भाइरसहरूको समूह हो जुन एकअर्कासँग धेरै मिल्दोजुल्दो छन् । धेरै अवस्थामा यी भाइरसहरूले मुख र लिंगको क्यान्सर निम्त्याउन सक्छ ।

डा. मौरिसियोका अनुसार यस भाइरससँग सम्बन्धित क्यान्सरबाट बच्न एचपीभी खोप निकै प्रभावकारी उपाय हुन सक्छ ।

खोप दर निकै कम
डा. मौरिसियो कोर्डेइरो भन्छन्–‘ब्राजिलमा भ्याक्सिनको उपलब्धता भए पनि केटीहरूमा एचपीभी खोपको दर एकदमै कम छ । केवल ५७ प्रतिशत । केटाहरूमा खोप दर ४० प्रतिशतभन्दा माथि छैन । जबकी रोग नियन्त्रण गर्न खोपमात्रा कम्तिमा ९० प्रतिशत हुनुपर्छ ।’

डा मौरिसियोका अनुसार खोपको प्रभावकारिताको आशंका र खोप अभियानको अभावका कारण यसको खोप दर न्यून रहेको छ ।

तर, यो समस्या ब्राजिलमा मात्रै सीमित छैन । लिङ्ग क्यान्सरबारे भर्खरै गरिएको अनुसन्धान अनुसार यसका बिरामीको संख्या विश्वभर बढिरहेको छ ।

सन् २०२२ मा जेएमआईआर पब्लिक हेल्थ एन्ड सर्भिलेन्स नामक पत्रिकाले ४३ देशको पछिल्लो तथ्याङ्क विश्लेषण गरेर प्रतिवेदन प्रकाशित गरेको थियो । यो प्रतिवेदनले सन् २००८ देखि २०१२ को बीचमा अफ्रिकी देश युगान्डामा प्रत्येक १ लाख मध्ये २.२० मा लिङ्ग क्यान्सरको उच्च दर फेला पारेको पाइएको छ।

त्यस्तै ब्राजिलमा एक लाखमा २.१, थाइल्याण्ड एक लाखमा १.४ मा लिङ्ग क्यान्सर पाइएको थियो । सबैभन्दा कम दर कुवेतमा एक लाखमा ०.१ मा लिङ्गको क्यान्सर पाइएको थियो ।

चीनको सन यत सेन युनिभर्सिटीका लिवेन फु र तियान टियानको नेतृत्वमा गरिएको अनुसन्धानले लिङ्गको क्यान्सर र यसबाट हुने मृत्युको भार सबैभन्दा बढी विकासशील देशहरू भएको देखाएको छ । सन १९७९ देखि २००९ बीच यसको दर बढेर प्रति एकलाखमा १.१ बाट बढेर १.३ पुगेको छ । सन् १९६१ देखि २००१२ सम्म जर्मनीमा संख्या पचार प्रतिशतले बढेको छ ।

ग्लोबल क्यान्सर रजिस्ट्रीको पूर्वानुमान अनुसार यी तथ्याङ्कहरू अझै बढ्ने अपेक्षा गरिएको छ । सन् २०५० सम्म विश्वभर लिंग क्यान्सरका घटनाहरू ७७ प्रतिशतले बढ्ने रजिस्ट्रीले अनुमान गरेको छ । विज्ञहरूका अनुसार यो परिवर्तनको मुख्य कारण बुढ्यौली जनसंख्या हो । उनका अनुसार लिङ्ग क्यान्सरका धेरैजसो विरामी सातौं दशकमा वृद्धवृद्धामा देखिएको छ ।

के सावधानी अपनाउने ?

डा. मौरिसियो कोर्डेइरो भन्छन–‘लिङ्गको क्यान्सर एकदमै दुर्लभ रोग हो । यसलाई रोकथाम गर्न सकिन्छ । सबै उमेरका पुरुषहरूले यौनसम्पर्कपछि हरेक दिन आफ्नो लिंग साबुन र पानीले धुनु पर्दछ ।’

यौनसम्पर्क गर्दा कन्डम प्रयोग गर्नुपर्छ । लिंगको टुप्पोमा फोरस्किन वा औँठी बन्ने समस्या भएका पुरुषले शल्यक्रिया गरेर लिंगको टुप्पो हटाउनु पर्ने चिकित्सकहरु सुझाव छ । यसले लिंग क्यान्सरको जोखिम पनि कम गर्छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्