Logo
|
Saturday 7th September 2024
Logo

epaper

सुर्ति कम्पनीले युवालाई यसरी आकर्षित गर्छन्ः यो स्वास्थ्य र समाज कल्याणका लागि ठूलो खतरा

सन् २०२४ को नारा ‘सूर्ती उद्योगको हस्तक्षेपबाट बालबालिकाको संरक्षण’ भन्ने रहेको छ



डा. अरुण शाही-क्यान्सर विशेषज्ञ

धूमपानले आफ्नो स्वास्थ्यमा कति हानी पु‍र्याउँछ भन्ने सबैलाई थाहा छ, तर यसका बाबजुद पनि मानिसले यसको सेवनमा परहेज गर्दैनन् । तसर्थ, धूमपान विरोधी दिवसमा मानिसहरूलाई सूर्ती छाड्न र कहिले पनि सूर्ती नछुन सचेत गराइन्छ । हरेक वर्ष मे ३१ मा विश्वभर विश्व धूूमपान रहित दिवस मनाइन्छ । सन् २०२४ को नारा ‘सूर्ती उद्योगको हस्तक्षेपबाट बालबालिकाको संरक्षण’ भन्ने रहेको छ ।


युवाहरूमा धूमपान प्रचलित छ र धेरै देशहरूमा बढ्दै गएको छ । साथीभाइको लहैलहै र अनुभव लिने वहानामा धेरै युवाहरु धूमपानप्रति आकर्षित भइरहेको पाइन्छ ।

विश्वभरका युवाहरू सामाजिक सञ्जाल र लाइभ स्ट्रिमिङ प्लेटफर्महरू मार्फत सूर्तीजन्य उत्पादनहरूप्रति बढ्दो रूपमा आकर्षित भइरहेका छन् । यो उनीहरूको स्वास्थ्य र समाजको कल्याणका लागि ठूलो खतरा हो । अधिकांश देशहरूमा १३ देखि १५ वर्षका बालबालिकाहरू सूर्तीजन्य सेवनमा फसिरहेका छन् ।


यद्यपी धूमपान युवाहरूमा प्रचलित छ र धेरै देशहरूमा बढ्दै गएको छ । १३ देखि १५ वर्ष उमेर समूहका ३ करोड ८० लाखभन्दा बढी बालबालिकाले कुनै न कुनै रूपमा सूर्तीजन्य पदार्थको प्रयोग गरिरहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

प्रत्येक वर्ष विश्व स्वास्थ्य संगठनले यो दिन सुर्तीजन्य पदार्थ विरुद्ध जागरण अभियान चलाउँदै आएको छ । यसबाट हुने स्वास्थ्यसम्बन्धी हानिकारक र संभावित रोगका बारेमा जानकारी गराउँदै विश्वभरका सरकारलाई सुर्तीजन्य पदार्थको विरुद्धमा राष्ट्रिय योजना बनाई यसको वेचविखन तथा प्रयोग गर्न हतोत्साहित गर्ने कानुनलाई प्रभावकारी बनाउन घचघच्याउने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्नाले प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको अकालमा मृत्यु हुने गर्छ । आगामी वर्षहरुमा यसको सेवनमा कमी नगरे अझ बढ्ने खतरा छ । सुर्तीजन्य पदार्थको सेवनले धेरै थरिका क्यान्सर (जिब्रो, फोक्सो, मुख, घाँटी आदिको), मुटु रोग, स्ट्रोक, फोक्सोसम्बन्धी रोग तथा अन्य स्वास्थ्य समस्या हुन्छ ।

क्यान्सर सचेतना अभियानमा डा अरुण शाही

यो वर्ष विश्व स्वास्थ्य संगठनले युवालाई सशक्त बनाई विश्वका ठूला प्रख्यात सुर्तीजन्य पदार्थ बेच्ने कम्पनीका विज्ञापन तथा मार्केटिङमा नफसी कुनै पनि सुर्तीजन्य पदार्थ तथा यसका उत्पादन (इ सिगरेट, भेपिङ डिभाइस) स्वास्थ्यका लागि अति हानिकारक रहेको तथ्य बुझ्न तथा यसको प्रयोगलाई हतोत्साही पार्न युवालाई यसको सेवन गर्नबाट निरुत्साहित गर्ने मुख्य उद्देश्य रहेको छ ।

यसका लागि समाजमा अग्रणी भूमिका खेल्ने सञ्चारमाध्यम, शिक्षक, अभिभावकलाई प्रयोग गरेर भएपनि युवालाई यसको सेवनबाट टाढा राख्नुपर्ने सन्देश दिन खोजेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थ बनाउने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीले निम्न तरिका (विज्ञापन) बाट युवालाई आकर्षित गर्न खोज्नेछन्

स्वाद (फ्लेभर्स)– चेरी, स्ट्रबेरी, चकलेट लगायत विभिन्न स्वादमा सुर्तीजन्य पदार्थ बेच्नु ।

ढाँचा (डिजाइन)– स्टिक्स, क्यान्डी, हुक्का जस्ता आकर्षक देखिने सजिलैसँग बोक्न तथा लुकाउन मिल्ने आकारमा बनाउनु ।

नभएको कुरा – सुर्ती उत्पादक कम्पनीले कहिल्यै नभएको अनुसन्धान तथा खोज जस्तै भेपिङ डिभाइसलाई लिन सकिन्छ । यो भन्दा चुरोट नै सफा तथा स्वास्थ्यका लागि कम हानिकारक छन् भनेर देखाउँछन् । यी कुरामा पनि सत्यता छैन ।

व्यापारिक कुरा – समाजका चर्चित व्यक्तिहरु जस्तै सेलिब्रेटीलाई आफ्नो उत्पादनको विज्ञापन गराउने गर्छन् ।

सहज बिक्री स्थान– चुरोट तथा सुर्तीजन्य पदार्थलाई मीठो, गुलियो स्न्याक्स पाईने स्थानको नजिकै बिक्रिलाई राख्ने गरिन्छ । जसमा युवाको सहज पहुँच हुन्छ ।

चलचित्र – चलचित्रमा कलाकारले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको अथवा टेलिभिजनमा देखाएर युवालाई आकर्षित गर्ने प्रोपोगान्डा पनि गरिन्छ ।

विद्यालयका बालबालिकाबीच धूमपान विरोधी अभियानमा डा. अरुण शाही

अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्था (टिनएज) बाट यसको सेवन सुरु गर्छन् । जति सानो उमेरका सुर्तीजन्य पदार्थ सेवन गर्न सुरु गर्यो त्यति नै यसको गहिरो लत बस्ने संभावन रहन्छ । यही कारणले गर्दा युवाहरु चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नु महत्वपूर्ण हुन्छ ।

(डा. शाही युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजीका सर्टिफाइड अंकोलोजिष्ट हुनुहुन्छ । हाल उहाँ पाटन एकेडेमी अफ हेल्थ साइन्समा क्यान्सर विशेषज्ञ एवं सहप्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ । डा. शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को) को गाइडलाइन सल्लाहकार समूह कमिटीको मनोनित सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्