आफूले आफैंलाई सर्वश्रेष्ठ र महान ठान्ने पर्सनालिटी डिसअर्डर
कारण, लक्षण र उपचार
नेपाल हेल्थ न्युज, काठमाडौँ । ३६ वर्षीया आकांक्षा (नाम परिवर्तन गरिएको) आफ्ना आठ दाजुभाइमध्ये जेठी हुन् । उनी परिवारसँग राम्रोसँग बस्न सक्दिनथिइन । यो उनको परिवारको गुनासो थियो । उनी आफू काम गर्ने कम्पनीमा पनि कसैको कुरा सुन्दैथिइन । आफ्नो कुराबाट मात्र अरुलाई मनाउन खोज्थिन । उनको सानोतिनो आलोचना गर्दा रुन्थिन । यसबारे आकांक्षा सधैं निद्रा नपरेको गुनासो गर्थिन । वास्तवमा उनलाई अनिद्राको समस्या थिएन । अनिद्राको कारण बताई अरुको ध्यान आकर्षित गर्ने प्रयास गर्थिन । परामर्शका क्रममा छलफल गर्दा ‘नार्सिस्टिक पर्सनालिटी डिसअर्डर’ बाट पीडित भएको खुलासा भयो । तर, आकांक्षाले आफूलाई यो समस्या भएको स्वीकार गरिनन् ।
के हो ‘नार्सिस्टिक पर्सनालिटी डिसअर्डर’
भोपाल जिल्ला अस्पतालका क्लिनिकल साइकोलोजिस्ट डा. राहुल शर्मा भन्छन्–‘यो कुनै रोग होइन, तर व्यक्तित्व विकारको श्रेणी अन्तर्गत आउँछ । मनोचिकित्साको संसारमा १० देखि १२ वटा मान्यता प्राप्त विकारहरू हुन्छन् । यसलाई ‘नार्सिस्टिक पर्सनालिटी डिसअर्डर’ भनिन्छ ।’
मनोशिक्षा दिएपछि आकांक्षाले समस्यालाई स्वीकार गरिन् । लगभग ८ देखि १० पटक सम्मको मनोविश्लेषण परामर्श पछि उनले आफूलाई राम्रो अवस्थामा महसुस गरिन । त्यति मात्र नभई परिवार र कार्यालयमा उनको कार्यशैली र व्यवहारमा पनि सुधार आएको छ ।
हाम्रो वरपरका कतिपय व्यक्तिहरूको स्वभावमा चिडचिडापन, नकारात्मकता, स्वार्थीपना जस्ता लक्षणहरू देख्छौं । यसलाई ‘नेचर’ भनेर सामान्यतया बेवास्ता गरिन्छ । तर, यो वास्तवमा एक समस्या हो ।
लक्षण
मनोवैज्ञानिकका अनुसार सबैले एक वा अर्कामा नार्सिसिज्मका लक्षणहरू देखाउँछन् । यसको परिभाषा फरक हुन सक्छ, तर त्यहाँ केही प्राथमिक विशेषताहरू छन् । जस्तै, कतिपय मानिसहरु आफू अरु भन्दा उत्कृष्ट भएको ढृड विश्वास राख्छन् । अरुले यस्ता आत्मविश्वासलाई अहंकार वा घमण्डको रूपमा हेर्छन् ।
डा शर्मा भन्छन्–‘एक नार्सिसिस्ट व्यक्तिले सामाजिक सम्बन्धलाई प्राथमिकता दिन सक्दैन । सबै ठाउँमा आफूलाई बढी महत्त्व दिन्छ । हरेक काम आफू केन्द्रित रहेर गर्छ । आफूलाई बढी माया गर्छ ।’ उनका अनुसार व्यक्तिलाई हेरेर नार्सिसिस्ट डिस्अर्डर भएन/भएको एकिन गर्न गाह्रो हुन्छ ।
अहमदाबादका मनोचिकित्सक डा. कलरव मिस्त्री भन्छन्–‘नार्सिसिज्म डिसअर्डरले व्यक्तिको व्यवहार वा बोलीमा आमूल परिवर्तन ल्याउँदैन । यस समस्याबाट पीडित व्यक्तिहरु यति चलाख हुन्छन् कि उनीहरूसँग कुरा गर्दा धेरै परिपक्व र बौद्धिक महशुस हुन्छ । तर उनीहरुको मनोवृति स्वार्थी स्वभावको हुन्छ । बाहिर देखावटी रुपले विनम्र, ध्यान तान्ने र दयालु व्यवहार देखाउन खोज्छन् ।’
नार्सिसिज्मका केही लक्षणहरू
- आफूलाई महान ठान्ने, आफ्नो रूपप्रति गर्व गर्ने ।
- आफुले आफूलाई बढी महत्व दिने ।
- रातारात धनि बन्छु भनेर कल्पनामा मग्न हुने ।
- आफ्नो व्यवहारले लगातार ध्यान आकर्षित गर्ने ।
- मेलोड्रामा र अति नाटकीय व्यवहार गर्ने ।
- सधैं प्रशंसा खोज्ने, आलोचना मन नपराउने ।
- अरूको सफलताको ईर्ष्या गर्ने ।
बीबीसी डिजिटल हेल्थ सम्पादक मिशेल रोबट्र्सको रिपोर्टका अनुसार, अनुसन्धानकर्ताहरूले नार्सिसिस्ट डिस्अर्डर भएका व्यक्तिलाई व्यक्तित्व विशेषताका आधारमा तीन वर्गमा राखेका छन् ।
एजेन्टिकः आफूलाई अरूभन्दा उच्च ठान्ने र सधैं प्रशंसा चाहने ।
विरोधीः अन्य व्यक्तिलाई प्रतिस्पर्धी बुझ्ने, समानुभूतिको अभाव भएको ।
न्यूरोटिकः असुरक्षित, आलोचना सुन्न नसक्ने ।
कारण
अमेरिका र युरोपमा गरिएको अध्ययनले विश्वभरका ०.८ देखि १ प्रतिशत मानिसहरु नर्सिसिस्टिक डिसअर्डरबाट पीडित रहेको देखाएको छ । यो समस्या महिलाको तुलनामा पुरुषमा अधिक सामान्य छ ।
डा. शर्मा भन्छन्– ‘वास्तवमा यो व्यक्तित्व विकासको समस्या हो । हाम्रो परिवार, साथीभाइ, छिमेकी, सबैको गुणले हाम्रो व्यक्तित्वमा प्रभाव पार्छ । कहिलेकाहीँ परिवारमा यस्तो अवस्था आउँछ कि बच्चाले आफूले महत्त्व नपाएको महसुस गर्छन् । यस्ता भावनाहरू उमेरसँगै विकारमा परिणत हुन्छन् ।’
डा. कलरव मिस्त्री भन्छन्–‘बच्चा आमाको गर्भमा हुँदादेखि नै आमाको मनस्थिति, पारिवारिक वातावरण, आमाबुवाको व्यवहार, साथीभाइ सबैले बच्चाको व्यक्तित्व निर्माणमा भूमिका खेल्छ । १८ वर्षसम्म पारिवारिक, आर्थिक अवस्था र तनावले बच्चाको व्यक्तित्वलाई आकार दिन्छ । २५ वर्ष पुगेपछि विगतका नराम्रा अनुभवहरुमा आधारित बदला लिने भावनाले बिस्तारै नार्सिसिज्म तर्फ अग्रसर हुन्छन ।’
समस्याको समाधान
अमेरिकन साइकियाट्रिक एसोसिएसनका अनुसार एक देखि दुई प्रतिशत अमेरिकीमा नार्सिसिस्टिक डिसअर्डर हुन्छ । विभिन्न देशमा यस्ता बिरामीको अनुपात एकदेखि पाँच प्रतिशतसम्म रहेको छ । विश्वव्यापी मनोचिकित्सा वर्गीकरण प्रणालीमा आइसिडी–१० र डिएसएम–५गरी नार्सिसिज्मको दुई वर्गीकरण छन् । डिएसएम–५ अमेरिकी मनोचिकित्सा एसोसिएशनद्वारा मानकीकृत छ । जसमा नार्सिस्टिक डिसअर्डर व्यक्तित्व विकारमा समावेश गरिएको छ ।
डा शर्मा भन्छन ‘दुवै प्रकारको वर्गीकरणमा केही प्रकारका लक्षणहरुको मापदण्ड बनाइएको छ । त्यही आधारमा बिरामीको परीक्षण गरिन्छ । बिरामीको अन्तर्वार्ता लिइन्छ । उसको परिवारसँग कुराकानी गरिन्छ ।’
‘परिवारसँगको छलफलका आधारमा बिरामीलाई परामर्श दिइन्छ । त्यसपछि साइकोथेरापी दिइन्छ । गम्भीर समस्या भएमा मनोचिकित्सककहाँ पठाइन्छ । कतिपय अवस्थामा मनोचिकित्सकले औषधि सिफारिस गर्छन् ।’
विज्ञहरूका अनुसार नार्सिसिज्म कहिलेकाहीँ यो छोटो अवधिका लागि लाभदायक सावित हुनसक्छ । यसले लोकप्रियता बढाउन मद्धत गर्छ । जसले राम्रो काम पाउन मद्दत गर्न सक्छ । तर, दीर्घकालका लागि नकारात्मक कुरा हो ।
अनुसन्धानले के भन्छ ?
हालसालै साइकोलोजिकल बुलेटिन जर्नलमा एउटा अध्ययन प्रकाशित भएको थियो । यसमा कुल ५१ वटा अघिल्ला अध्ययनहरू प्रयोग गरिएको थियो । जसमा आठ देखि ७७ वर्षसम्मका ३७ हजार २४७ व्यक्तिमाथि अनुसन्धान गरिएको थियो । मानिसहरूको उमेर बढ्दै जाँदा नार्सिसिस्ट डिसअर्डर भएका व्यक्तिहरु समानुभूतिशील, उदार र असहमतिको आवाज हराउदैँ जाने अनुसन्धानको निष्कर्ष थियो ।
डा. मिस्त्री भन्छन् -‘१८ देखि ३५ वर्षको उमेर समूहका व्यक्तिमा यो समस्या बढी हुन्छ । यो अवधिमा करियरको र सम्बन्धको तनाव बढी हुन्छ । ४५ देखि ५० वर्ष पुगेपछि छोराछोरी ठुला हुन्छन् जसले जिम्मेवारी कम हुँदै जान्छ । विस्तारै यस्ता व्यक्ति दयालु हुँदै जान्छन । उमेरसँगै नार्सिसिज्म घट्दै जान्छ ।’ बीबीसी