Logo
|
Saturday 28th September 2024
Logo

epaper

पोखराको खानेपानी तथा सरसफाईको समस्या समाधान खोज्न नीतिगत बहस, जनताको सक्रिय सहभागिता अनिवार्यः धनराज आचार्य

पोखराका विभिन्न वडामा पानीको आपूर्तिमा असमानता, गुणस्तर र फोहोर व्यवस्थापनको समस्या



नेपाल हेल्थ न्युज, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरमा खानेपानी र सरसफाईका समस्या समाधानका लागि जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभएको छ ।

फ्रेस वाटर एक्सन नेटवर्क (फान्सा) को सहकार्यमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) द्वारा आयोजित नीति बहस कार्यक्रममा उहाँले पोखराका विभिन्न वडामा पानीको आपूर्तिमा असमानता, गुणस्तर र फोहोर व्यवस्थापनको समस्या रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यी समस्याको समाधानका लागि जनताले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बेला आएको छ । जनताको सहभागिता आवश्यक छ ।’ उनले महानगरले खानेपानी समस्या समाधानमा दीर्घकालीन कार्य योजना बनाउन आवश्यक रहेको बताउनुभयो । ‘शुद्ध पानी पिउन पाउने सबैको अधिकार हो र यसलाई सुनिश्चित गर्न हामीले दीर्घकालीन योजना बनाउनुपर्छ त्यही बनाउनको लागि धेरै कामहरू हामीले अगाडि बढाइरहेका छौं, ’ उहाँले भन्नुभयो, ‘जाइकासँग मिलेर ठूलो प्रोजेक्टमा पनि हामीले काम सुरु गरिसकेका छौं त्यो प्रोजेक्टमा हामीले प्रत्यक्ष रूपमा जनतासँग सहभागी भएर काम गर्ने योजनामा छौं ।’

मेयर आचार्यले पानीको गुणस्तर सुधारका लागि धाराबाट सिधै पाउने पिउने व्यवस्थामा महानगर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले पोखराका केही वडामा छिट्टै धाराबाट सिधै पिउन मिल्ने शुद्ध पानीको व्यवस्था गर्न लागेको छ। यसले जनताको स्वास्थ्यमा सुधार ल्याउनेछ। प्रारम्भिक चरणमा केही वडाहरूमा यो सेवा सुरु गरिनेछ र विस्तारै अन्य वडाहरूमा पनि यो सेवा विस्तार गरिनेछ ।’

उहाँले महानगरले फोहोरबाट ग्यास निकाल्ने प्रक्रिया, ल्यान्डफिल्ड साइटहरूको उचित व्यवस्थापन, र फोहोर व्यवस्थापनमा सक्रिय रूपमा काम गर्दै आएको बताउनुभयो । यसको लागि दीर्घकालीन उपायको खोजी गरिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा फेडवासनका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले संघको भूमिका र महत्वबारे प्रकाश पार्नुभएको थियो । फेडवासन देशभरिका उपभोक्ताको हित संरक्षण गर्ने, उनीहरूको आवाज उठाउने र नीति निर्माणमा योगदान गर्ने एक राष्ट्रिय संस्था भएको उल्लेख गर्दै उहाँले उपभोक्ताको समस्यालाई सम्बोधन गर्न र खानेपानी तथा सरसफाई सेवाको सुधारमा काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेषगरी पोखरा महानगरपालिकामा हामीले खानेपानीको पहुँच, गुणस्तर र सरसफाईका मुद्दामा सुधार गर्न स्थानीय उपभोक्तासँग मिलेर काम गर्ने योजना बनाएका छौं ।’

फेडवासनका कास्कीका अध्यक्ष दाताराम आचार्यले पोखराका उपभोक्ताले भोगिरहेका प्रमुख समस्या र तिनको समाधानका उपायबारे सुझाएका थिए । पोखराका धेरै वडामा खानेपानीको पहुँच सीमित रहेको र उपभोक्ताले सधैं सफा पिउने पानी प्राप्त गर्न कठिनाइ भोगिरहेको उनको भनाइ थियो । ‘फोहोर व्यवस्थापनमा पनि महिलाको उचित सहभागिता सुनिश्चित हुन नसकेको छैन र ल्यान्डफिल्ड साइटहरूको उचित व्यवस्थापन अभावले समस्या जटिल बनेको छ, ’ उहाँले भन्नुभयो ।

उहाँले महानगरपालिकाबाट पर्याप्त बजेट प्राप्त नभएकोमा गुनासो गर्दै भने, बजेट उपलब्ध गराएमा अझ प्रभावकारी रूपमा काम गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘शुद्ध पिउने पानीको व्यवस्था महानगरपालिकाले गरिदिएमा यो हाम्रो प्रमुख समस्या समाधानको दिशामा ठूलो कदम हुनेछ।’

पोखरा महानगरपालिकामा खानेपानी तथा सरसफाईका समस्या दीर्घकालीन समाधानको लागि जनताको सहभागिता, संघ संस्थाको सक्रियता र महानगरको जवाफदेहीतामा आधारित हुनुपर्नेमा नीति बहसमा सहभागी सबैले सहमति जनाएका छन्। बहसले महानगरको खानेपानी तथा सरसफाईमा सुधारका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकतालाई पुनः जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्