Logo
|
Wednesday 25th December 2024
Logo

epaper

बाथ रोगबारे धेरैको गलत बुझाइ




नेपालमा अझै पनि बाथरोगको उपचार गर्ने दक्ष जनशक्ति र जनचेताको कमी छ । वाथरोग न्यूनिकरणमा सरकारको प्राथमिकता प्रायः शून्य नै देखिन्छ । संसारमा सयौं प्रकारका वाथ हुने भएपनि विशेषगरी नेपालमा गठिया, मेरुदण्ड, युरिक एसिड, हड्डी खिइने र मांशपेशीको वाथ धेरै देखिने गरेको छ ।

हड्डी, नशा र मांशपेशीले शरीरको बनोट निर्धारण हुने भएकाले बाथका अधिकांश बिरामीहरुमा हड्डी खिइने, नशा च्यापिने र मेरुदण्डको समस्या हुने गर्छ । प्रायः सबैखाले बाथरोगले हड्डी, नशा र मांशपेशीलाई नै असर पुर्याउँछ । चिकित्सकीय भाषामा यसलाई ‘कोल्याजन टिस्यु डिजिज’ भनिन्छ । विशेषगरी र्युमाटोइड आर्थराइटिसका बिरामीहरु बढी नशा सम्बन्धी समस्या लिएर आउने गरेका हुन्छन् ।

लुपस बाथले पनि सिधै नशालाई असर पुर्याउँछ । लुपस बाथका कतिपय बिरामीहरुमा नशा ब्लक, हात खुट्टा नचल्ने र प्यारालाइसिसमेत हुनसक्छ । खासगरी ५० वर्ष उमेर माथिका धेरै व्यक्तिमा घुँडा दुख्ने समस्या देखिएको छ । उनीहरुमा मेकानिकल दुखाइ हुन्छ जसमा सिढी चढ्दा, उठबस गर्दा गाह्रो हुने गर्दछ । ओस्टियोआर्थराइटिस बाथका कारण पनि यस प्रकारको समस्या हुनसक्छ । त्यस्तै महिलाहरुमा गठिया बाथ, बालबालिकामा जीआईए बाथ र वयस्कलाई यूरिक एसिड बाथ बढी पाइन्छ ।

बाथ रोग पुरानो भइसकेको अवस्थामा जीवनभर औषधि सेवन गर्नुपर्छ । तर प्रारम्भिक चरणमा पहिचान भएमा औषधोपचार गरेर नियन्त्रणमा राख्न सकिन्छ । निश्चित समयपछि चिकित्सकको सल्लाहमा औषधि छोड्न पनि सकिन्छ । औषधिको धेरथोर साइड इफेक्ट भएपनि डराइहाल्नुपर्दैन । हरेक तीन महिनामा रगत जाँच गरेर हेमोग्लोबिन, डब्लुबिसी,लिभर, किड्नीमा बाथको मात्रा हेर्ने जाँच गरिन्छ ।

यूरिक एसिड बाथ भएकाहरुले खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । शारीरिक व्यायाम गर्नुपर्छ । रातो मासु गुलियो खानेकुरा, धुम्रपान मद्यपान गर्न हुँदैन । ओस्टियोआर्थराइटिसका बिरामीहरुले शारीरिक वजन नियन्त्रणमा राख्नुपर्छ । युरोपियन देशहरुमा गरिएको एक अध्ययनमा १० प्रतिशत तौल घटाउन सकेमा ५० प्रतिशतसम्म दुखाइ कम हुने देखिएको छ ।

खासगरी चिसो, अस्वस्थ्यकर जीवनशैली, मोटोपना, शारीरक अभ्यासको कमी र अस्वस्थक खानपानले बाथ रोग बढाएको छ । बाथ रोग बारे धेरै मानिसको गलत बुझाइ छ । कतिपयले बाथलाई युरिक एसिड भन्ने बुझ्दछन् । खानेकुरा बार्छन् र दुखाई कम गर्न स्टेरोइडको धुलो प्रयोग गर्दछन् । त्यसैले बाथरोगका लक्षणबारे ज्ञान हुन जरुरी छ ।

बाथरोगका १६ लक्षण

  • हातका औंलाहरु दुख्ने वा सुन्निने
  • हात खुट्टाका औंला निलो सेतो हुने
  • बिहान उठ्ने बेला हात, खुट्टा वा जीउ अरठ्ठो हुने
  • खुट्टाको बूढी औंला वरिपरी रातो भएर टेक्न नहुने
  • गोलिगाँठो दुःख्ने र सुन्निने
  • राती तथा बिहान ढाड दुःख्ने
  • बिहान ढाड अरठ्ठो हुने
  • घुँडा दुःख्ने र सुन्निने
  • कुर्कुचा दुःख्ने (प्रायः बिहान उठ्ने बेला)
  • पाइताला पोल्ने (प्रायः राती) वा झम्झमाउने
  • पिडौंला दुःख्ने वा करकर खाने
  • जीउ गल्ने र छिटो छिटो थकान हुने
  • मासंपेशीहरु कमजोर हुने
  • छालामा डावर अथवा निको नहुने घाउ आइरहने

(बाथ रोग विशेषज्ञ डा. कर्माचार्य नेशनल बाथरोग सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्