Logo
|
Friday 22nd November 2024
Logo

epaper

विश्व पोलियो दिवसः कहिले पोलियोमुक्त होला विश्व ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । यो वर्ष नयाँ सङ्क्रमणको वृद्धिका बावजुद विश्‍व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सन् २०२५ को अन्त्यसम्ममा पोलियोको सम्पूर्ण सङ्क्रमण रोकेर यसलाई निर्मूल गर्न सकिनेमा विश्वस्त छ।

सन् १९८८ मा विश्व पोलियो निर्मूल अभियान सुरु गरिएको थियो, जतिखेर १२५ देशमा ३५०,००० पोलियोका विरामी देखिएका थिए।

हाल पोलियोका घटनाहरू अफगानिस्तान र पाकिस्तानमा मात्रै देखिएका हुन्। सन् २०२३ मा दुवै देशमा गरी ६ वटा सङ्क्रमण देखिएका थिए। यो वर्ष पाकिस्तानमा ३९ र अफगानिस्तानमा २२ वटा सङ्क्रमणका घटना देखिएका छन्।

सङ्क्रमणमा देखिएको यस्तो वृद्धिको घटनाले पोलियोरहित विश्‍वको परिकल्पनामा तुषारापात गर्ला?

कलिला उमेरका बिरामीहरू

उत्तरपश्चिम पाकिस्तानस्थित क्वेटा सहरका जवाद ३० महिने बालक हुन्। उनी पोलियोका पछिल्ला पीडितहरूमध्येका हुन्। गत नोभेम्बरमा उनलाई उच्च ज्वरोसँगै छातिको सङ्क्रमण देखियो।

“बिहान उठ्दाखेरी मेरो छोरोको खुट्टा चलेन। ऊ खुट्टाको भरमा उभिन सकेन,” जवादका बुवा जलील अहमदले सम्झिए चिकित्सकहरूले जवादलाई पक्षाघातसम्बन्धी समस्या भएको पुष्टि गरे।

“यो म र मेरी पत्नीका निम्ति खपिनसक्नुको कुरा थियो। मैले उसलाई अरु डाक्टरहरूकहाँ लगेँ, तर तिनीहरूले केही गर्न नसकिने बताए।”

पोलियोको उपचार छैन, तर खोप लगाएर यसबाट जोगिन सकिन्छ। “ऊ जन्मिँदा हामीले उसलाई पोलियो थोपा खुवाएनौँ, तर तीन महिनापछि दिएका थियौँ। हामीले उसलाई सुई भने लगाइदिएका थिएनौँ।”

जलील अहमद प्राय: छोरालाई आफ्नो किराना पसलमा लैजान्छन् र खुसी बनाउने कोसिस गर्छन्। तर उनी छोराको भविष्य सम्झनासाथ निराश हुन्छन्। “जब ऊ हिँड्ने कोसिस गर्छ, खुट्टै सोझो हुँदैन। उसका खुट्टा लुलो भइसकेका छन्।”

निरन्तरको आशा

कराँचीमा बालकलाई पोलियो थोपा खुवाउँदै स्वास्थ्यकर्मी

पोलियोका घटनाहरूमा वृद्धि भएको देखिए पनि डब्ल्यूएचओ चिन्तित छैन।

“हस्तक्षेप नगर्दासम्म यो भाइरस आवधिक रूपमा देखा परिरहन्छ, जुन हामीले यो वर्ष देखिरहेका छौँ,” पोलियो उन्मूलनका निम्ति पूर्वी भूमध्यसागर क्षेत्रका निर्देशक डाक्टर हमिद जाफरी भन्छन्।

पोलियो उन्मूलनका निम्ति अफगानिस्तान र पाकिस्तानमा पाँच वर्षमुनिका प्रत्येक केटाकेटीलाई नियमित अन्तरालमा दुई–दुई थोपा पोलियो खोप दिइन्छ।

“स्थानीय खोप टोलीहरू पोलियो र अन्य नियमित खोपसहित प्रायः छुटेका घुमन्ते मानिसहरूसम्म पुग्छन्,” जाफरीले जानकारी दिए। खोपकर्मीहरू मोटरसाइकल चढेर दुर्गम क्षेत्रमा रहेका त्यस्ता मानिसकहाँ पुग्ने गर्छन्। त्यसैले पोलियोका घटनाहरू बढे पनि जाफरी भन्छन्, “अहिले जम्मा दुईटा आनुवंशिक विविधतायुक्त भाइरस प्रसारमा छन्। यो सबैभन्दा तल्लो स्तरको सङ्क्रमण हो। सन् २०२० मा यो सङ्ख्या १२ थियो।”

पोलियो के हो र यो कसरी फैलन्छ?

अफगानिस्तानको जलालावादमा बालिकालाई पोलियो थोपा खुवाइँदै

पोलियो पोलियोभाइरसका कारण फैलिने एक सङ्क्रमण हो। यो सङ्क्रमित व्यक्तिको दिसाको सम्पर्कबाट फैलन्छ भने कहिलेकाहीँ सङ्क्रमितले खोक्दा वा हाच्छ्यूँ गर्दा निस्कने छिटाबाट पनि फैलन्छ। पोलियोले धेरैजसो पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ।

“प्रति दुई सय सङ्क्रमणमध्ये एउटामा निको नहुने पक्षाघातको समस्या देखिने गरेको छ। पक्षाघात भएकाहरूमध्ये ५ देखि १० प्रतिशतको मृत्यु श्वासप्रश्वाससम्बन्धी मांसपेशीमा देखिने समस्याका कारण हुन्छ,” डब्लूएचओ भन्छ। खोप कार्यक्रमहरूले पोलियोभाइरसका तीनवटा वातावरणीय प्रजातिहरूमध्ये दुईलाई सफलतापूर्वक उन्मूलन गरे पनि यो लडाइँ अझै समाप्त भएको छैन।

“एकजनामात्रै सङ्क्रमित रहँदासम्म सबै देशका केटाकेटीहरू पोलियोको जोखिममा रहन्छन्,” डब्ल्यूएचओ भन्छ। खोपबाट पनि पोलियो फैलन सक्छ। खोपमा हुने कमजोर र जीवित भाइरसले पेटमा हानिरहित रूपमा प्रतिकृति बनाउँछ र त्यो दिसाबाट बाहिरिन्छ। त्यसपछि यो भाइरस फोहोर पानीका माध्यबाट खोप नलगाएका मानिसहरूमा फैलिन सक्छ।

अमेरिकी सरकारको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल (सिडिएस) एण्ड प्रिभेन्सन’का अनुसार खोपबाट फैलने पोलियोभाइरसको ठूलो प्रकोप मुख्यतया: अफ्रिकामा देखिएको थियो।

सिडिएसको प्रतिवेदनअनुसार सन् २०२३ ज्यानुअरीदेखि २०२४ को जुनको बीचमा खोपका माध्यमबाट पोलियोभाइरसका ७४ वटा प्रकोप फैलिएकामा ३९ देशका ६७२ मानिसहरू प्रभावित भएका थिए।

युद्धग्रस्त गाजामा खोपजन्य पोलियोले एक १० महिने शिशुलाई आंशिक रूपमा असक्त बनाइदियो। त्यसपछि त्यहाँ तत्कालै ठूलो खोप अभियान चलाइयो।

खोप कार्यक्रम

बालकलाई पोलियो थोपा खुवाउँदै गुलनाज शिराजी
तस्बिरको क्याप्शन,गुलनाज शिराजीले परिवारका दुई सदस्य मारिए पनि पोलियो खोप अभियानको सहभागितालाई निरन्तरता दिइरहेकी छन्

पोलियो उन्मूलन कार्यक्रम भन्छ, “गत दश वर्षमा विश्वभरका झण्डै तीन अर्ब बालबालिकालाई पोलियो थोपाको दश अर्ब भन्दा बढी मात्रा खुवाइएको छ।” पाकिस्तानले नियमित रूपमा घरघर पुगेर खोप अभियान चलाउँछ। पछिल्लो अभियान सेप्टेम्बरमा सञ्चालन गरिएको थियो।

पाँच वर्षको अन्तरालपछि गत जुन महिनामा अफगानिस्तानमा पनि राष्ट्रव्यापी खोप अभियान सञ्चालन गरिएको थियो। तर सेप्टेम्बरका निम्ति तय गरिएको पोलियो थोपा खुवाउने कार्यक्रम भने तालिवान अधिकारीहरूले बन्द गरिदिएका थिए।

पोलियो अभियानको भविष्यबारे बीबीसीले सोधेका प्रश्नहरूको तालिवानद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जवाफ दिएको छैन।

खोपकर्मी विरुद्ध हिंसा

भित्तामा बैसाखी अड्याएर कुर्सीमा बसिरहेका आमिर अली

डर, अविश्वास र गलत जानकारीले पाकिस्तान र अफगानिस्तानमा प्रतिरोध र हिंसा हुने गरेको छ। पाकिस्तानको पोलियो उन्मूलन कार्यक्रमले यो वर्षमात्रै खोप अभियानमा संलग्न २२ जना मारिएका जनाएको छ।

अफगानिस्तानमा पछिल्लो घातक आक्रमण सन् २००४ को फेब्रुअरीमा भएको थियो, जसमा एकै दिन भिन्दाभिन्दै घटनामा आठजना खोपकर्मीहरू मारिएका थिए। गुलनाज शिराजी र अमिर अलीजस्ता खोप अभियानकर्मीहरूले उल्लेख्य लचिलोपना देखाउँदै अभियानलाई जोगाइराखेका छन्।

शिराजीले सन् २०११ देखि पाकिस्तान प्राशासित काश्मिरको राजधानी मुजफ्फरावादबाट पोलियो खोपकर्मीको काम सुरु गरिन्। उनको परिवारका चार सदस्य यो अभियानमा जोडिएकामा दुईजना मारिए।

“मैले मेरा भदै र बुहारी दुवैलाई स्ट्रेचरमा देखेकी छु। मदेहा(१८) निदाइरहेजस्ती देखिन्छिन्, उनी भर्खरकी थिइन्। मेरी बुहारी फामिदा(४६) अर्को स्ट्रेचरमा थिइन्। प्रशस्त रगत बगेको थियो। उनीहरू ठाउँका ठाउँ बिते। त्यो क्रुर घटना थियो। मेरो मन छियाछिया भएको थियो।”

पोलियो अभियानकर्मीलाई किन निसाना बनाइन्छ भन्ने कुरा शिराजीले बुझेकी छैनन्। आफूहरू मारिने सूचीमा भएको थाहा हुँदा हुँदै पनि खोपकर्मीहरू निरन्तर काममा खटिने गरेको उनी बताउँछिन्।

आमिर अली आफै पोलियो पीडित हुन्। चार वर्षको उमेरमा सङ्क्रमणका कारण एउटा खुट्टामा पक्षाघात बेहोर्नुपर्‍यो। त्यसपछि स्वात उपत्यकाबाट कराची सरेका उनी अहिले खोपकर्मीमा रूपमा अभियानमा सामेल छन्।

“हुर्किँदै गर्दा मेरो आठवटा शल्यक्रिया गरियो। तर यसको उपचार थिएन। मैले योसँगै बाँच्नुपर्थ्यो।” हिँडडुलको समस्याका कारण उनलाई खेलकूद र घुमघामबाट वञ्चित हुनुपर्‍यो। यो देखेर उनकी आमालाई निकै पीडा हुन्थ्यो।

“एकदिन मैले पोलियो खोपमा सामेल अभियानकर्मीहरूलाई देखेँ र आवेदन दिने निधो गरेँ। मेरो महत्वाकांक्षा भनेकै पोलियो निर्मूलन हो।”

यी ३६ वर्षीय व्यक्ति बैसाखीको सहाराले यताउती गर्छन् र आफ्नो जीवनकथा सुनाएर अरुलाई प्रेरित गर्छन्।

“म उनीहरूलाई ‘आफ्ना केटाकेटीलाई खोप दिनुभएन भने तिनले मैले झैँ बाँच्नुपर्छ’ भन्छु।” उनी अहिले २८ अक्टोबरबाट सुरु हुने अर्को खोप अभियानको तयारीमा छन्।

क्वेटामा खोप अभियानकर्मीलाई पहरा दिँदै गरेका प्रहरी

नेपाल कति जोखिममा ?

नेपाल स्वास्थ्य सेवा विभाग

नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले खोपका कार्यक्रम हेर्छ। महाशाखाले पोलियोसहितका १३ वटा रोगविरुद्ध एकिकृत खोप अभियान सञ्चालन गर्दै आएको छ। शिशुहरूले १५ महिनाको हुँदासम्म यी खोपहरू प्राप्त गर्छन्।

“निकट दूरीका पाकिस्तान र अफगानिस्तानमा नयाँ–नयाँ सङ्क्रमणका घटना देखिएपछि नेपाल पनि जोखिममा हुने नै भयो। त्यसबाट जोगिनका निम्ति हामीले खोप अभियानलाई निरन्तरता दिनुका साथै निरन्तर उच्च निगरानी पनि राखिरहेका छौँ,” महाशाखाका निर्देशक विवेककुमार लालले भने, “नेपालमा पछिल्लोपटक सन् २०१० मा रौतहट जिल्लाका एकजनामा पोलियो देखा परेयता अन्य मानिसमा देखिएको छैन।”

नेपालमा लामो समयदेखि नयाँ सङ्क्रमण नदेखिएका कारण सरकारले स्रोतसाधनमा कटौती गरिदिँदा समस्या भएको उनले बताए।

“रोगको भार घटेका कारण अर्थ मन्त्रालयलगायत बजेटसँग सम्बन्धित निकायले अब किन चाहियो र भनेझैँ गरेको देखिन्छ,” लालले भने, “तर, विश्‍वबाटै पोलियो उन्मूलन नहुँदासम्म हामी पनि उत्तिकै जोखिममा रहन्छौँ।”

पोलियोरहित विश्‍व

डब्ल्यूएचओ अहिले खोप अस्वीकार गरिनुका मूल कारणहरूलाई सम्बोधन गर्न क्रियाशील छ। डिजिटल सञ्चारमाध्यममार्फत् भ्याक्सिनका बारेमा फैलिएको गलत सूचना एउटा प्रमुख समस्या हो।

पोलियो अभियानले त्यस्ता गलत सूचनाहरूलाई हटाउँदै सही सूचना प्रवाह गर्न स्थानीय प्रभावशाली व्यक्तिहरू र ‘सेलिब्रटी’ दूतहरू प्रयोग गर्नेसम्मका रणनीतिहरू अपनाउँछ।

“हामीले सन् २०२५ को अन्त्यसम्ममा यसको फैलावट रोक्न दुवै देशबाट बलियो राजनीतिक प्रतिबद्धता पाएका छौँ। सीमाका दुवै तर्फका सबै बालबालिकासम्म पुग्न पूर्ण पहुँच र निरन्तर उच्च स्तरको अभियानमार्फत् हामी पोलियोको इतिहास रच्न सक्छौँ,” जाफरी भन्छन्।

सफल भएको खण्डमा पोलियो ‘स्मलपक्स’पछि मानव प्रयासका कारण उन्मूलन हुने दोस्रो रोग हुनेछ। बीबीसी

प्रतिक्रिया दिनुहोस्