Logo
|
Saturday 23rd November 2024
Logo

epaper

पोलियो के हो ? कसरी हुन्छ ? कस्तो असर गर्छ ? पोलियोबारे जान्नुहोस्

यस वर्षको नारा—‘आमा र बालबालिकाको स्वस्थ भविष्य’



नेपाल हेल्थ न्युज, काठमाडौं । पोलियो रोग पोलियो नामक भाइरसबाट हुने खतरनाक सरुवा रोग हो । यो रोगले मस्तिष्क र मेरुदण्डलाई असर गर्न सक्छ, जसले पक्षघात र सास फेर्न गाह्रो हुने जस्ता अवस्था निम्त्याउन सक्छ । गम्भीर अवस्थाहरूमा यसले व्यक्तिको मृत्यु पनि निम्त्याउन सक्छ । यस रोगको बारेमा जनचेतना बढाउन हरेक वर्ष २४ अक्टोबरमा विश्व पोलियो दिवस मनाइन्छ । यस लेखमा यो दिवस मनाउनुको उद्देश्य, यसको महत्व, इतिहास र सन् २०२४ को विषयवस्तुबारे जानकारी गराउन खोजिएको छ ।

पी वन, पी टु र पी थ्री गरी पोलियोका तीन प्रकार हुन्छ । यो रोग लागेमा बिरामीलाई अतिशिघ्र लुलो पक्षघात हुनुका साथै कहिलेकाँही यसले मृत्युसमेत गराउनसक्छ । विश्वव्यापी रुपमा यो रोगलाई पूर्ण उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।

सन् २०१० अगष्टदेखि हालसम्म नेपालमा कुनै पनि पोलियो रोगी देखापरेको छैन ।

रोगीको दिसाबाट दुषित भएको खाना र पानीको माध्यमबाट यो रोग स्वस्थ्य व्यक्तिमा सर्दछ । पोलियो रोगीलाई शुरुमा रुघाखोकीको जस्तो लक्षण देखिने, ज्वरो आउने, पातलो दिशा लाग्ने, टाउको र पेट दुख्ने जस्ता हल्का लक्षण देखिन्छ । मांशपेशी दुख्ने र लुलोपनाका कारण लक्षणहरु देखापर्ने पक्षघात हुने, अतिशिघ्र लुलो पक्षघात एउटा वा दुवै खहात खुट्टामा वा अन्य अंगमा पनि हुनसक्छ ।

यसले एकैपटक धेरै मानिसलाई संक्रमण गर्ने भएपनि सबैमा लक्षण देखा नपर्नसक्छ । तर लक्षण नदेखिएका व्यक्तिबाट पनि रोग सर्नसक्छ । पोलियो रोगको कुनै विशेष उपचार छैन तर यो रोगबाट बच्न सुरक्षित र प्रभावकारी खोप उपलब्ध छन् । यस रोगबाट बच्न नियमित तालिका अनुसार पोलियो रोग विरुद्धको खोप (पोलियो थोपा र सुईबाट दिने पोलियो खोप एफआईपिभी) अनिवार्य रुपमा लिनुपर्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णको भनाइ रहेको छ ।

विश्व पोलियो दिवस किन मनाइन्छ ?
यस दिवसको माध्यमबाट प्रत्येक बालबालिकालाई विनाशकारी पोलियो रोगबाट जोगाउन पोलियो खोपको महत्वबारे जनचेतना जगाउन जोड दिइएको छ । यो दिवसले पोलियो रोग उन्मूलन गर्न र विभिन्न संघ संगठनहरूद्वारा यसको रोकथाममा धेरै महत्वपूर्ण भूमिका खेल्छ । यस दिन विश्वभरका विभिन्न स्वास्थ्यसम्बन्धि संघ संगठनहरूले पोलियो विरुद्धको विश्वव्यापी लडाईमा संलग्न व्यक्ति, संस्था र पोलियो भाइरसलाई पूर्ण रूपमा निर्मूल पार्ने प्रयासको सम्झना गर्दछन् ।
यो दिन मानिसहरूलाई सचेत गराउने प्रयास गरिन्छ ।

विश्व पोलियो दिवस २०२४ को नारा
विगत केही वर्षदेखि विश्व पोलियो दिवसको एउटै नारालाई पछ्याउँदै आएको छ । त्यो हो ‘आमा र बालबालिकाको स्वस्थ भविष्य’ । यो विषयवस्तुले बालबालिकामा पोलियो उन्मूलनको लडाइँलाई उत्प्रेरित गरेको छ । साथै, यसले आमाहरूको लागि स्वस्थ भविष्य प्रदान गर्ने महत्व बताउन भूमिका खेलेको छ ।
विश्व पोलियो दिवसको इतिहास
चिकित्सा अनुसन्धानकर्ता जोनास साल्कको जन्मदिनको सम्झनामा रोटरी इन्टरनेशनलले पहिलो पटक विश्व पोलियो दिवस मनाएको थियो । उनले पोलियो खोप विकास गर्ने टोलीको नेतृत्व गरे । सन् १९५५ मा उनले निष्क्रिय पोलियोभाइरस खोप विकास गरे । त्यसपछि सन् १९६२ मा अल्बर्ट सबिनले ओरल पोलियो खोप सिर्जना गरेका थिए ।

नेपालले सन् १९९६देखि राट्रिय खोप दिवसका रुपमा पुरक खोप कार्यक्रम शुरु गरेको थियो । राष्ट्रिय खोप दिवसमा मुखबाट दिइने ३ प्रकार कै प्रजातिविरुद्ध समावेश भएको पोलियो खोप प्रयोगमा ल्याइयो । त्यसपछि लगातार २० वर्षसम्म ५ वर्षमुनिका सबै बालबालिकालाई लक्षित गरी देशभर २ चरणमा पोलियोखोप अभियान सञ्चालन गरिएको थियो । यी अभियानहरुको समग्र कभरेज ९५ प्रतिशत भन्दा बढी रहेको छ । सन् २०१० देखि नेपाल पोलियो शून्य अवस्था कायम गरी सन् २०१४ मा पोलियोमुक्त राष्ट्र घोषणा भएको थियो । त्यो बेला विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपाललाई पोलियोमुक्त राष्ट्रका रुपमा प्रमाणिकरण गरेको थियो ।
तत्पश्चात् सन् २०१६ देखि पुरक खोप कार्यक्रम सञ्चालन गरिएको छैन । नेपालले आफ्नो पोलियोमुक्त स्थिति आजसम्म कायम राखेको छ । सन् २०१० मा रौतहटमा ५ जना र महोत्तरीमा १ जनालाई पोलियो देखियएता अन्य मानिसमा देखिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विस्तृत वहुवर्षिय योजना २०१६—२०२१ मा सन् २०१० सम्म १३ जिल्लाका ३२ जनामा वाइल्ड पोलियो भाइरस देखिएको थियो । सन् १९९९ मा बाँकेमा १ र सप्तरीमा १, सन् २००० मा सिराहामा १ र धनुषामा १, रौतहटमा १ र महोत्तरीमा १, सन् २००५ मा सर्लाहीमा १ र रौतहटमा १, सन् २००६मा दैलेखमा १, कपिलवस्तुमा १, पर्सामा २ र रौतहटमा १, सन् २००७ मा सिरहामा १ र धनुषामा १, सन् २००८ मा रौतहटमा १, सर्लाहीमा १, धनुषामा १, बाजुरामा १, बर्दियामा १ र रुपन्देहीमा १, सन् २०१० मा महोत्तरीमा १, रौतहटमा ५ गरी जम्मा १३ जिल्लाका ३२ जनामा पोलियो भाइरस देखिएको थियो ।

हालैका महिनाहरूमा यो गम्भीर रोगका केसहरू नेपालका नजिकैका देशहरुमा फेरि देखिएका छन्, जसले पोलियोको खतरालाई फेरि ध्यान केन्द्रित गराएको छ । हाल पोलियोका घटनाहरू अफगानिस्तान र पाकिस्तानमा मात्रै देखिएका हुन ्। सन् २०२३ मा दुवै देशमा गरी ६ वटा सङ्क्रमण देखिएका थिए । यो वर्ष पाकिस्तानमा ३९ र अफगानिस्तानमा २२ वटा सङ्क्रमणका घटना देखिएका छन् ।

यो एक घातक रोग हो, जसलाई सन् १९८८ मा आयोजित विश्व स्वास्थ्य महासभाले विश्वबाट पोलियो रोग उन्मुलन गर्ने निर्णय गरेको थियो । जतिखेर १२५ देशमा ३५०,००० पोलियोका विरामी देखिएका थिए ।


वर्षौदेखि व्याप्त पोलियो रोगको बोझ कम गर्न पोलियो उन्मुलनका लागि समय सीमा विस्तार गर्दै विभिन्न क्रियाकलपहरु गरिए । त्यसपछि सन् २०१७ मा ७१ औं विश्व स्वास्थ्य महासभाले पोलियोमाइलाइटिस तथा संक्रमणकालीन पोलियोजना तर्जुमा गर्ने निर्णय गर्यो । यसका लागि विश्व स्वास्थ्य संगठनका महानिर्देशकले उक्त सभामा संक्रणकालीन पोलियो योजना पेश गरेका थिए । यसैगरी मानिर्देशकले पुनः अप्रिल २०२२ मा ७५ औं विश्व स्वास्थ्य महासभा समक्ष संक्रमणकालीन पोलियो योजना र पोलियो उन्मुलन पश्चात्को प्रमाणीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका थिए । यस प्रतिवेदनले संक्रमणकालीन पोलियोजनाको प्राथमिकतामा परेका १६ वटा राष्ट्रहरुमध्ये नेपाल पनि एक रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्