Logo
|
Monday 23rd December 2024
Logo

epaper

बाढीपहिरो प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर



नेपाल हेल्थ न्युज, गोदामचौर (ललितपुर) । नेपाल महिला सङ्घ केन्द्रीय समितिले गोदावरी नगरपालिका–१ स्थित गोदामचौरमा बाढी पहिरो पीडितलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

गोदावरी नगरपालिका स्वास्थ्य शाखाको समन्वय र वीर अस्पतालका चिकित्सकहरूको सहयोगमा आज एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहमा नेपाली कांग्रेस केन्द्रीय समितिले आफ्ना भातृ तथा शुभेच्छुक सङ्घ संस्थालाई आवश्यक राहत र सहयोगका कार्यक्रम गर्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम स्वास्थ्य शिविर सञ्चालन गरिएको सङ्घका केन्द्रीय अध्यक्ष उषा राउतले जानकारी दिनुभयो ।

“यसअघि हामीले सङ्घको स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकका विभिन्न स्थानहरूमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ, यसपटक वर्षाका कारण प्रभावित गोदावरी नगरपालिका–१ मा शिविर सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो । प्राकृतिक विपद् पश्चात् पानीजन्य रोग र सङ्क्रमणबाट मानिसहरू प्रभावित हुनेहुँदा उक्त समस्या समाधानका लागि शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।

गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बाढीपहिरोबाट प्रभावित नगरबासीहरुका निमित्त स्वास्थ्य शिविर सञ्चालन गरिनु सराहनीय कार्य भएको बताउनुभयो ।

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीरमण कार्कीले नगरवासीको हितका निमित्त शिविर सञ्चालन गरेकामा आयोजकलाई धन्यवाद दिँदै नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शिविरमा खटिनुभएका वीर अस्पतालका डा अजय पासवानले जनस्तरमा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सो वडाका वडाअध्यक्ष श्रीराज थापाले शिविर सञ्चालनबाट बाढीपहिरो पीडितहरू लाभान्वित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्