Logo
|
Sunday 22nd December 2024
Logo

epaper

कर्णाली प्रतिष्ठानका कर्मचारीले गरे अनिश्चितकालिन तालाबन्दी, नियमित पठन पाठन प्रभावित



नेपाल हेल्थ न्युज, जुम्ला । स्तर वृद्धिको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् ।

प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक भवनमा कर्मचारीले तालाबन्दी गरेपछि नियमित पठन पाठन समेत प्रभावित भएको छ ।

विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रिया अघि नबढाइनु, अदालतले समेत आन्दोलनरत कर्मचारीको पक्षमा समेत फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलनरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् । 

प्रतिष्ठानमा करिब ४ सय जना शिक्षक–कर्मचारी कार्यरत छन् । जसमध्य ७०–७५ जना मात्रै स्थायी छन् । ठुलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत रहेका छन् । 

२०८० भदौ २१ गते कर्मचारीहरूले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए, जसमा असोज ८ गते बढुवा पत्र प्रदान गरिएको थियो। तर, अन्य बाँकी स्थायी कर्मचारीहरूको स्तरवृद्धि प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन्।

आफ्ना माग सम्बोधन नभए सम्म आगामी मङ्सिर ५ गते सम्म कर्मचारीले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । ४८ घण्टाभित्र निर्णय कार्यान्वयन नभएमा  अस्पतालका आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । आफ्ना माग सम्बोधन र निर्णय कार्यान्वयन गर्न ४८ घण्टे अल्टिमेटम दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्