Logo
|
Monday 23rd December 2024
Logo

epaper

बुढेसकालमा दूध र दही पनि नखाने शाकाहारी बन्दा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । थालको कति हिस्सा खानेकुरा माछामासु वा दुग्धजन्य पदार्थरहित हुनुपर्छ भन्ने कुरा सधैँ एउटा ठूलो प्रश्नको रूपमा रहँदै आएको छ। एकाथरीले ‘भीगन’ (माछामासु तथा दुग्धजन्य पदार्थबिनाका) खानाका फाइदाबारे जोडतोडले चर्चा गर्दा अर्काथरीले भने यसबारे सतर्कता अपनाउने गरेका छन्। त्यस्तै ‘भीगन’ खाना सबै उमेरका मानिस र त्यसमा पनि खास गरी वृद्धावस्थाका मानिसका निम्ति स्वस्थकर हो कि होइन भन्ने अर्को बहस पनि छ।

हालै ‘बिएमसी मेडिसन जर्नल’मा एउटा विवादास्पद अनुसन्धान विवरण प्रकाशित भयो, जसमा जैविक आयुमा ‘भीगन’ खानाले पुर्‍याउन सक्ने सम्भावित फाइदाबारे चर्चा गरिएको छ। उक्त अनुसन्धानले ‘भीगन’ खानाले उमेर बढ्ने प्रक्रियालाई प्रभावकारी ढङ्गले सुस्त बनाइदिनेबारे जोड दिएको छ।

आहारका प्रभावबारे केन्द्रित विभिन्न उस्तै किसिमका अध्ययनहरूजस्तै केही विज्ञहरूले पनि त्यस्ता निष्कर्षहरूप्रति सचेत हुनुपर्ने बताउने गरेका छन्। त्यस्ता अध्ययनहरू सानो आकारका नमुना र सीमित अवधिको अध्ययनमा आधारित हुने उनीहरूको तर्क छ। तर माथि उल्लेखित अध्ययन यससम्बन्धी बहसलाई पुन: ब्युँताउन पर्याप्त छ।

वृद्धावस्थाका ‘भीगन’का निम्ति चिन्ता

टम स्यान्डर्स लन्डनस्थित किङ्स कलेजका प्राध्यापक तथा पोषणविद् हुन्। उनीजस्ता विज्ञहरू अनुसन्धानका त्यस्ता निष्कर्षहरूमाथि प्रश्न उठाउँदै ‘भीगन’ खाना माथिल्लो उमेरका मानिसका निम्ति उल्टै हानिकारक हुन सक्ने र उनीहरूले झन् चर्को जोखिमको सामना गर्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिन्छन्।

“वृद्धावस्थाका ‘भीगनहरू’ले… मांशपेशी तथा हड्डीसम्बन्धी समस्याका साथै स्नायुप्रणाली सम्बन्धी गडबडीको सामना गर्नुपर्ने अधिक सम्भावना हुन्छ, जसले जीवनको गुणस्तरमा महत्त्वपूर्ण प्रभाव पार्छ।”

“वृद्धावस्थाका ‘भीगनहरू’ (माछामासु तथा दुग्धजन्य पदार्थ नखानेहरू) कम तौल समूहको श्रेणीमा पर्ने प्रवृत्ति छ। उनीहरूमा हड्डी टुट्ने जोखिम पनि धेरै हुन्छ। (माछामाछु र दुग्ध पदार्थमा प्राकृतिक रूमा पाइने) क्याल्सिअम र प्रोटीनको न्यून उपभोगले त्यस्ता समस्यामा भूमिका खेल्छन्,” उनले बीबीसीसँग भने।

प्राध्यापक स्यान्डर्स विशेष गरी आइरन र जिङ्क न्यून रूपमा समावेश हुनु पनि ‘भीगन’ खानाको एउटा समस्या हुन सक्नेतर्फ सचेत गराउँछन्। तथापि अन्न र दलहनका साथै प्रशस्त फलफूल र तरकारी सेवन गरेर उक्त कमीलाई घटाउन सकिने उनी बताउँछन्।

प्राध्यापक स्यान्डर्स अन्य किसिमका आहारसँग ‘भीगन’ खानाको फाइदा तुलना गर्न खोज्नेहरूका निम्ति कुनै विशेष विकल्पका लागि ठोस स्वास्थ्य परिणामहरू नभएको बताउँछन्। “म ‘भीगन’ र सर्वाहारी मानिसहरूको समग्र स्वास्थ्यमा खासै फरक छैन भन्ने तथ्यमा अडिग रहन्छु,” उनले भने।

‘इन्सुलिअन’ नामको पोषण परामर्श संस्था सञ्चालन गर्दै आएकी यूकेकी डाक्टर न्याम्बुरा एम्बुरु पनि ‘भीगन’ खानाका फाइदाबारे उत्तिकै संशय राख्छिन्। आफ्नो ब्लगमा उनले ‘भीगन’ खानालाई “पोषणको दृष्टिले निम्न स्तरको” भनेकी छन्।

त्यसको सट्टा उनी सन्तुलनको बाटो समात्नु उत्तम हुने धारणा राख्छिन्। “वनस्पति र माछामासुमा भिन्न किसिमका सूक्ष्म पोषक तत्वहरू समाविष्ट हुन्छन्। त्यसैले यिनलाई तुलना गर्नुको सट्टा पूरकका रूपमा हेरिनुपर्छ,” उनले लेखेकी छन्।

‘भीगन’ खानाका फाइदा

इङ्ग्ल्यान्डकी एक वृद्धालाई खाना दिइँदै

डाक्टर एलन डेस्मन्ड बेलायतका पाचन प्रणाली विशेषज्ञ चिकित्सक हुन्। उनले ‘भीगन’ खानाका फाइदाहरूबारे व्यापक रूपमा बोल्दै र लेख्दै आएका छन्। उनी वृद्धहरूलाई ‘भीगन’ आहारका निम्ति प्रोत्साहित गर्नुपर्ने र यसका लाभहरू बेवास्ता गर्न मिल्ने किसिमका नभएको बताउँछन्।

“वनस्पतिमा आधारित स्वस्थ आहारले जुनसुकै उमेरका मानिसलाई फाइदा पुर्‍याउँछ। यसले हृदयरोग, टाइप टू मधुमेह तथा धेरै किसिमका क्यान्सरहरूको जोखिमलाई कम गर्न सक्छ, जुन हाम्रो उमेरसँगै उत्पन्न हुने चिन्ताका विषयहरू हुन्। वनस्पतिमा आधारित खानेकुरातर्फ ढल्किन एकदमै चाँडो वा एकदमै ढिला भन्ने हुँदैन, “उनले भने। तर माछामासु वा दुग्धजन्य पदार्थ सेवन नगर्ने माथिल्लो उमेरका मानिसहरूले ‘पोषणका मुख्य तत्त्वबारे विचार गर्नुपर्ने’ उनी बताउँछन्।

“स्वस्थ रहन चाहने हरकोहीले विभिन्न प्रकारका उच्च प्रोटीनयुक्त वनस्पतिमा आधारित खानेकुराहरू खानुपर्छ। उदाहरणका निम्ति गेडागुडी, तोफू तथा अन्नहरूलाई लिन सकिन्छ। भिटामिन बी–१२ को खुराक लिन पनि उत्तिकै महत्त्वपूर्ण छ। हड्डी र मांसपेशीलाई स्वस्थ राख्न नियमित रूपमा तौललाई चुस्त राख्ने किसिमका कसरत पनि गर्नुपर्छ।”

एक वृद्धाका हात

भिटामिन बी–१२ निकै महत्त्वपूर्ण कुरा हो। यो केवल जनावरबाट पाइने खानेकुरामा पाइनुका साथै सर्वाहारको मुख्य तत्व हो। विज्ञहरू ‘भीगन’ जीवनशैलीमा भिटामिन बी–१२ अनुपलब्ध रहने बताइरहेका हुन्छन्।

भिटामिन बी–१२ को न्युनताले शरीर र दिमागमा असर पार्दा थकान, मांशपेशीमा कमजोरी, अवसाद र भ्रमजस्ता लक्षणहरू देखा पर्छन्। यस्ता लक्षणहरू वृद्ध उमेरका व्यक्तिहरूमा टड्कारो र खतरनाक किसिमले देखा पर्ने सम्भावना अधिक हुन्छ। एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले भिटामिन बी–१२ को स्तरलाई मस्तिष्काघातको बढ्दो जोखिमसँग जोडेका छन्।

कोलिन अण्डा, दूध र गोमांसमा उच्च मात्रामा पाइने अर्को मुख्य पोषक तत्त्व हो। धेरै विज्ञहरू ‘भीगन’ आहार पछ्याउनेहरूले कोलिनलाई बेवास्ता नगरिएको सुनिश्चित गर्न आवश्यक भएको बताउँछन्। उनीहरूका अनुसार यसले स्नायुतन्त्रका कोषिकाहरूबीच सङ्केतहरूको आदानप्रदान गर्न मद्दत गर्नुका साथै मृगौलाको कार्यलाई चुस्त राख्न पनि सघाउँछ।

भ्रूणको मस्तिष्क विकासका लागि गर्भवती महिलाका लागि पनि कोलिन महत्वपूर्ण हुने विज्ञहरू बताउँछन्। सौभाग्यवश यो ब्रोकली, ब्रसेल्स स्प्राउट्स, बदाम र च्याउजस्ता खानेकुरामार्फत् पनि प्राप्त गर्न सकिन्छ।

बिनानियत ‘भीगन’ बनेकाहरू

डाक्टर डेस्मन्ड ‘भीगन’ आहारका नैतिक फाइदाबारे पनि प्रकाश पार्छन् : “पशुपक्षीमाथिको निर्भरता घटाउँदा यसले तपाईँको ‘कार्बन फुटप्रिन्ट’लाई पनि घटाउन सक्छ, प्राकृतिक स्रोतको संरक्षण र थप दिगो तथा करुणामय विश्‍वका निम्ति योगदान पुग्न सक्छ,” उनी भन्छन्।

तथापि वृद्धावस्थाका मानिसका निम्ति ‘भीगनिजम’ सदैव मूल्यमान्यता वा स्वास्थ्य सरोकारका आधारमा गरिने छनौटको विषय नहुन पनि सक्छ। विशेष गरी अमेरिका र यूकेका विज्ञहरूले वृद्ध श्रेणीको जनसङ्ख्याबीच ‘बिनानियत भीगन’ बन्ने चलन व्यापक भएकोमा चिन्ता व्यक्त गरेका छन्।

उनीहरूमा बोलिचालीको भाषामा ‘टी एन्ड टोस्ट’को लक्षण देखिने गरेको छ। वृद्धावस्थाका कारण खाना बनाउन नसक्ने हुँदा उनीहरू हल्का आहारमा निर्भर हुन पुग्छन्। उपचारका निम्ति अस्पताल पुग्ने वृद्धवृद्धाहरूमा न्यून क्यालोरीयुक्त आहारका कारण आइरनको कमी हुनुका साथै अन्य स्वास्थ्य चुनौतीहरू देखा पर्ने गरेको छ।

नैतिक सवालका कारणले मात्रै माछामासु र दुग्धजन्य उत्पादनहरू उपभोग नगरिने होइन। जीवनसाथीको मृत्यु भएमा वा सन्तान पनि अन्यत्रै लागेर आफू एक्लै बस्ने गरेको अवस्थामा खाना बनाउन मन नलाग्ने हुने, पोषणयुक्त माछामासु महँगो हुने तथा बजार वा पसलसम्म जान सापेक्षिक कठिनाइ हुने हुँदा त्यस्ता आहारबाट विमुख हुनुपर्ने अवस्था आउँछ।

यसको एउटा दुष्चक्र बन्न सक्छ। विज्ञहरूका अनुसार यसो हुनुमा आर्थिक कारकहरूको भूमिका मात्रै पनि हुँदैन, एक्लोपन वा अवसादको सुरुवाती परिणाम पनि हुन सक्छ (जुन आहारमा भिटामिन बी–१२ जस्ता पोषक तत्त्व नहुँदा बढ्न सक्छ)। उमेर बढ्दै जाँदा यसले शारीरिक स्वास्थ्य र नाजुकपनमा गम्भीर असर पार्न सक्छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्