Logo
|
Saturday 4th January 2025
Logo

epaper

काठमाडौँ जिल्लाका औषधि व्यवसायीका लागि ‘खुद्रा औषधि व्यवसायी आचारसंहिता २०८१’ सार्वजनिक

जिल्ला शाखा महासचिव शुभमान श्रेष्ठ भन्नुहुन्छ–‘व्यवसायिक र सामाजिक प्रतिष्ठालाई सुदृढ पारौँ’



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाले ‘खुद्रा औषधि व्यवसायी आचारसंहिता २०८१’ सार्वजनिक गरेको छ ।

औषधि व्यवसायीको व्यवसायिक र सामाजिक प्रतिष्ठालाई सुदृढ बनाउन सात बुँदे मार्गदर्शक दस्तावेज तयार पारेको नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाका महासचिव शुभ मान श्रेष्ठले जानकारी दिनुभयो ।

‘व्यवसायिक मर्यादा, सामाजिक उत्तरदायित्व र उत्कृष्ट सेवा हाम्रो पहिचान’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गरी ‘खुद्रा औषधि व्यवसायी आचारसंहिता २०८१’ पालना गर्न सबै खुद्रा औषधि व्यवसायीहरुलाई उहाँले आह्वान गर्नुभयो ।

त्यसैगरी थोक औषधी बिक्रेता र आयातकर्ता आचार संहिता पनि क्रमशः बनाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

यस्ता छन् ७ बुँदे आचारसंहिता

१. कानूनी वैधता

क) व्यवसायीहरूले औषधी व्यवस्था विभाग, आन्तरिक राजश्व कार्यालय, स्थानीय निकाय (वडा कार्यालय) लगायत आवश्यक क्षेत्रबाट इजाजतपत्र प्राप्त गरेर मात्र औषधि व्यवसाय संचालन गर्नुपर्दछ

ख) औषधी ऐन २०३५ र औषधी बिक्री वितरण सहिता २०८० को मातहतमा रही औषधी बिक्री वितरण गर्नुपर्दछ ।

ग) कुनै पनि गैरकानुनी र बिना इजाजतपत्रका अवधि बिक्री वितरण गर्नु साथै विक्रेतालाई प्रश्रय दिनु पनि हुँदैन ।

२. गुणस्तर सुनिश्चितता

क) उचित भण्डारण र ह्यान्डलिङ प्रक्रियाहरूको पालना गरेर औषधिको गुणस्तर कायम राख्नुपर्छ । ख) म्याद सकिएका वा बिग्रिएका औषधिहरू तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्दछ ।

ग) म्याद गुज्रिएका औषधीहरु ३ महिना भित्र नै सम्बन्धित निकायमा पठाई शोधभर्ना लिनुपर्छ ।

३. सूचनाको पारदर्शिता

क) सेवाग्राहीलाई औषधिको सही प्रयोग, खुराक र सम्भावित दुष्प्रभावहरू बारेमा स्पष्ट जानकारी दिनुपर्छ ।

ख) औषधि बिना चिकित्सकको सल्लाह दिनु हानिकारक हुन सक्छ भन्ने जनचेतना फैलाउनु पर्दछ ।

ग) सेवाग्राहीहरुको सूचना पाउने हकको कदर गर्दै उहाँहरुको प्रत्येक जिज्ञासालाई बुझाउने प्रयास गर्नुपर्दछ ।

४) नैतिकता

क) गलत जानकारी वा प्रचारको आधारमा औषधि बिक्री वितरण गर्नुहुदैन ।

ख) किन्चित आर्थिक लाभका लागि अनुचित सल्लाह दिनुहुदैन ।

ग) क्षणिक लाभको मोहमा लागू तथा मनोद्विपक औषधी र प्रतिजैविक औषधीहरु जथाभावी बिक्री वितरण गर्नुहुदैन ।

घ) सत्य, तथ्य र निष्ठामा रही सेवाग्राहीहरुको सेवामा हरपल समर्पित रहनुपर्दछ ।

५) व्यावसायिकता

क) सबै सेवाग्राहीहरूसँग इमानदारीपूर्वक समान व्यवहार गर्नुपर्दछ ।

ख) सेवाग्राहीको गोपनीयता कायम राख्नुपर्दछ ।

ग) औषधी खरिद आधिकारिक थोक विक्रेताहरुबाट मात्र गर्नुपर्दछ ।

घ) औषधी खरिद वा बिक्री गर्दा बिल बिजक अनिवार्य जारी गर्नुपर्दछ ।

ङ) आधिकारिक प्रमाण पत्रहरु कार्यक्षेत्रमा देखिने गरी राख्नुपर्दछ ।

च) व्यवसायी या फर्मासिस्ट्सको उपस्थिति र निगरानीमा सेवा प्रदान गर्नु गराउनु पर्दछ।

६) सामाजिक जवाफदेहिता

क) नक्कली औषधिहरूको बिक्री नगर्नु र यसप्रति सचेत रहनु पर्दछ ।

ख) स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान दिनुपर्दछ ।

ग) लागू तथा मनोद्विपक औषधीहरुको बिक्री वितरणमा सचेत भई सामाजिक उत्तरदायित्व र जवाफदेहिताको कद गर्नुपर्दछ ।

घ) प्रतिजैविक औषधीहरुको प्रतिकुल असर नहुनेगरी चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गर्नुपर्दछ ।

७) कानूनी पालना
क) औषधी ऐन २०३५ र विक्री वितरण सहिता २०८० लगायत सम्बन्धित निर्देशिका, नियमावली, मापदण्ड र कार्यविधिको पूर्णतः पालना गर्नुपर्दछ ।

ख) औषधी व्यवसाय संचालनार्थ सबै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरुको पालना गर्नुपर्दछ ।

ग) सरकारी निकायहरु वा नियामक संस्था भौषधी व्यवस्था विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ ।

घ) औषधी व्यवस्था विभाग, स्थानीय निकाय वा प्रशासनवाट गरिने आधिकारिक निरीक्षणलाई सहजीकरण नगरी सहज बनाउनु पर्दछ ।

ङ) लागू तथा मनोद्धिपक औषधिहरुको बिक्री वितरण गर्दा अनिवार्य रुपमा अभिलेख राख्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्