विश्व एड्स दिवस २०२४ः ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’
एचआईभी भएका मानिसहरूले आफ्नो स्वास्थ्यको अलि बढी ख्याल राख्नुपर्ने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज ३७औँ विश्व एड्स दिवस । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ । केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ ।
सन् २०१० यता विश्वमा एचआईभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।
एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक हो । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हाँसिल गरेको उक्त केन्द्रले जनाएको छ ।
एड्सको पूरा नाम अक्वायर्ड इम्युन डेफिसिएन्सी सिन्ड्रोम हो र यो एक प्रकारको भाइरस हो, जसको नाम एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) हो । एचआईभी एड्स एक खतरनाक रोग हो। यो रोगमा मानिसको रोग प्रतिरोधात्मक क्षमता पूर्ण रुपमा हराउन थाल्छ । उनीहरु धेरै छिटो बिरामी हुन्छन्। सामान्यतया मानिसहरुले यसलाई निको नहुने रोगका रुपमा लिने गरेका छन् र यसले ज्यान नै समाप्त हुन्छ भन्ने धेरैले विश्वास गर्दछन् । तर यथार्थमा त्यो होइन । वास्तवमा एचआईभी भए पनि औषधिको माध्यमबाट कुनै समस्या बिना आफ्नो जीवन बिताउन सकिन्छ। यद्यपि, एचआईभी भएका मानिसहरूले आफ्नो स्वास्थ्यको अलि बढी ख्याल गर्नुपर्छ ।