Logo
|
Friday 3rd January 2025
Logo

epaper

मंकिपक्स निदानका लागि देशभर १४ अस्पताल तोकिए, नाकाहरूमा हेल्थ डेक्सको व्यवस्था

साउदी अरब र अफ्रिकी देशबाट आउने मानिसहरुलाई निगरानीमा राख्न पहल



शलिना कुँवर / नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा मंकिपक्स (एमपक्स) पुष्टि भएपछि सरकारले निदानका लागि देशभर १४ वटा अस्पताल तोकेको छ । ती अस्पतालहरूमा छालारोग विशेषज्ञलाई उपचारको लागि तैनाथ गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गत वर्ष नै तोकिएका मेची अस्पताल, कोशी अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, गण्डकी अस्पताल, वीरगञ्ज अस्पताल, भरतवुर अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, सुर्खेत अस्पताल र सेती अस्पताल रहेको जानकारी गराउँदै अन्तर्राष्ट्रिय विमानस्थलहरू र हरेक स्थल नाकाहरूमा हेल्थ डेक्सको समेत व्यवस्था गरिएको बताउनुभयो ।

अहिलेसम्म नेपालमा २ जनामा मंकिपक्स पुष्टि भइसकेको छ । पुष १५ गते साउदी अरबबाट आएका ४४ वर्षीय एक पुरुषमा मंकिपक्स पुष्टि भयो । यस अघि पनि पुष ५ गते साउदी अरबबाट नै फर्किएका ३६ वर्षीय युवामा मंकिपक्स (एमपक्स) पुष्टि भएको थियो । संक्रमित दुवै जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । गत वर्ष पहिलोपटक नेपालमा एक ६० वर्षीया विदेशी महिलामा एमपक्स पुष्टि भएको थियो ।

तत्कालीन समयमै फेरि पनि नेपालमा एमपक्सको जोखिमको सम्भावना रहेकाले पूर्व तयारी थालिएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी बताउनुहुन्छ ।

विशेषगरी जुनजुन देशमा एमपक्स देखिसकेको छ ती देशबाट नेपाल आउने व्यक्तिलाई निगरानीमा राख्न भनिएको छ । डा. बुढाथोकी भन्नुहुन्छ– ‘विशेषगरी साउदी अरब र अफ्रिकी देशको उडानबाट आउने मानिसलाई निगरानीमा राख्न मन्त्रालयबाट पहल गरिएको छ ।’

हाल एमपक्सको संक्रमण पुष्टि भएका युवकसँगै जहाजको अगाडि–पछाडि बसेका व्यक्ति पहिचान गर्ने काम पनि भइरहेको छ । साउदी अरबबाट फर्किएका ३६ वर्षीय युवकको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार अगाडि बढाएको थियो । हाल उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालका सुरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुनको भनाइ छ ।

डा. पुनका अनुसार साउदी अरबबाट फर्किएका युवकमा एमपक्ससँग मिल्दोजुल्दो लक्षण शरीरमा बिमीरा देखिएका थिए । त्यसपछि उनी घर नगई सिधै जाँच गराउन अस्पताल पुगे । नीजि अस्पतालले टेकु अस्पतालमा रिफर गरेपछि पुष ४ गते नै विरामीको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । शुक्रबार रिपोर्टमा एमपक्स पुष्टि भएको उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ–‘यो समयमा विरामीमा निमोनिया लगायत अन्य श्वास्थ्य जटिलता देखिनसक्ने सम्भावना छ । त्यस्तै अन्य व्यक्तिमा पनि संक्रमण सर्नसक्ने भएकाले पूर्ण रूपमा निको नभएसम्म विरामीलाई आइसोलेसनमा राखेरै उपचार पद्धती अगाडी बढाइने छ ।’

यो केसमा विरामी आफैले बुद्धिमताले काम गरेका छन् । समुदायमा घुलमिन हुनुअघि नै संक्रमित व्यक्ति सिधै अस्पताल आइपुगेकाले अन्य व्यक्तिमा सर्नसक्ने सम्भावना निकै न्युन रहेको सरुवा रोग विशेषज्ञ डा पुनको भनाइ छ । तर, पनि सबैलाई सावधानी अपनाउन उहाँ सुझाउनु हुन्छ ।

ठुलै हल्लाखल्ला भएपछि मात्र कडाइ गर्ने होइन । नयाँ–नयाँ सम्भावित रोगबारे बाह्रै महिना सावधानी अपनाउन आवश्यक छ भन्ने सन्देश हाल पुष्टि भएको एमपक्सको केसले दिन खोजेको उहाँको भनाइ छ ।


डा पुन भन्नुहुन्छ– ‘नेपालमा दोस्रो पटक एमपक्स पुष्टि हुँदा यसले हामीलाई पाठ सिकाएको छ । अफ्रिकी मुलुकबाट आएका व्यक्तिमा मात्र एमपक्सको संक्रमण हुनसक्छ भन्ने मानसिकतालाई यस कुराले गलत सावित गरेको छ । आयातित रोगको जोखिम जुनसुकै समय र देशबाट भित्रिने मानिसमा हुनसक्ने भएकाले सरकारले अन्तर्राष्ट्रिय विमानस्थल र स्थल नाकामा कडाइ गर्नुपर्छ ।’

के हो मंकीपक्स (एमपक्स) ?
मंकीपक्स एक प्रकारको भाइरस हो । यो भाइरस पहिलोपटक बाँदरहरूमा देखिएकाले मंकीपक्स नाम राखिएको हो । पछिल्लो समय यो भाइरसको नाम एमफक्स राखिएको डा. पुनको भनाइ छ । यसको बढी जोखिममा १५ वर्षमुनिका बालबालिका रहेका छन् ।

पहिलोपटक अफ्रिकी महादेशमा देखिएको एमपक्स रोग केही वर्ष अघिसम्म त्यहीं मात्र सीमित थियो । तर, सन् २०२२ मा अफ्रिकी महादेशबाट युरोपभर फैलिएर भारत र नेपालमा समेत देखिइसकेको छ ।

डा. पुनका अनुसार एमपक्स टाइप–१ र टाइप–२ गरी दुई प्रकारका हुन्छन् । टाइप–२ यसअघि युरोपभर फैलिएको थियो । त्यो समयमा समलिंगीहरूमा बढी देखिएको थियो । यस वर्ष देखिएको एमपक्स टाइप–१ हो । र, यो टाइप–२ भन्दा तुलनात्मक रूपमा अलि कडा मानिएको छ । टाइप–१ विगतमा भारत र नेपालमा समेत देखिइसकेको छ । यसको फैलिने तीव्रता बढी पाइएको छ ।

लक्षण
मंकीपक्स संक्रमित व्यक्तिहरूमा शुरूमा लक्षण थाहा पाउनै मुस्किल हुन्छ । विस्तारै लक्षण देखिन थाल्छ । ज्वरो आउने, त्यसको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिने, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, टाउको, ढाड र मांसपेशी दुख्ने, शरीरका ग्रन्थीहरू बढ्नेजस्ता लक्षणहरू देखापर्छन् ।

यो रोग छोएर, खोक्दा, थुक, र्याल, घाउ, खटिरा, शरीरबाट निस्केको तरल पदार्थ र यौनसम्पर्कद्वारा सर्छ । आँखामा संक्रमण र दृष्टि गुम्नु, गर्भ खेर जानु र मृत्यु हुनु यस रोगका जटिलता हुन् ।

यो भाइरस संक्रमण भएकाले कुन बेला कस्तो अवस्था सिर्जना गर्ने हो भनेर उच्च सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ । कोभिड–१९ महामारीबाट पाठ सिकेर उच्च सतर्कता अपनाउनुको विकल्प नरहेको उहाँ बताउनुहुन्छ ।

‘कोही व्यक्ति मंकिपक्स संक्रमण भएको स्थानबाट आएको होस् या संक्रमण फैलिएका मानिससँग नजिकको सम्बध भएका हुन्, त्यस्ता व्यक्तिलाई क्वारेन्टिनमा राख्न आवश्यक छ,’ डा. पुन भन्नुहुन्छ– ‘शंकास्पद लक्षण देखिएका व्यक्तिले छुट्टै बसिदिए भने पनि अन्यमा सर्न पाउँदैन र भयावह रूप लिनबाट रोक्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्