Logo
|
Tuesday 11th March 2025
Logo

epaper

नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीद्धारा देशका दुई चर्चित क्यान्सर विशेषज्ञलाई विशेष सम्मान

एकताले क्यान्सर रोगमाथि विजय प्राप्त गर्न सकिने सोसाइटीकी अध्यक्ष प्रमिता खनालद्धारा जानकारी



नेपाल हेल्थ न्युज, काठमाडौं । क्यान्सर विजेताहरुको साझा संस्था नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले नेपालमा दुई चर्चित क्यान्सर विशेषज्ञलाई सम्मान गरेको छ ।

विश्व क्यान्सर दिवस २०२५ का अवसरमा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.मदन पिया र वरिष्ठ क्यान्सर शल्यचिकित्सक प्रा.डा.प्रकाश सायमीलाई सो सम्मान गरिएको हो । दुवै जना डाक्टरहरूको अहिलेसम्मको योगदानको उच्च कदर गर्दै सार्क फेडरेशन अफ अंकोलोजीका अध्यक्ष प्रा.डा.विवेक आचार्यको प्रमुख आतिथ्यतामा सो सम्मान प्रदान गरिएको हो ।

सो अवसरमा क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले नेपालमा भइरहेको क्यान्सरको उपचार पद्धति र यसबाट बच्ने तरिकाको बिषयमा प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रममा विभिन्न डाक्टर, सर्भाइभर्स र विशिष्ट व्यक्तिहरूले आ—आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।


अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ (यूआईसीसी) को नेतृत्वमा सन् २००० देखि नै क्यान्सर सम्बन्धि विश्वव्यापी जनचेतना बढाएर एउटा सकारात्मक आन्दोलनको दिशामा क्यान्सरसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूले विश्व क्यान्सर दिवसलाई एउटा भव्य दिनको रूपमा मनाउँदै आएका छन् ।


घातक रोग क्यान्सरले आक्रमण गरे पनि सभाइभर्सहरु सक्षम छन् र उनीहरूको एकताले यो रोगमाथि विजय प्राप्त गर्न सकिने नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष प्रमिता खनालले जानकारी दिनुभयो । युनिटी वाई युनिक भन्ने यस वर्षको मुल नारा रहेको छ ।


क्यान्सर सम्बन्धी जनचेतना, मनोपरामर्श, स्कुल तथा कलेजका विद्यार्थीहरूको लागि सचेतना कार्यक्रम, स्क्रिनिङ क्याम्प, र्याली लगायतका विभिन्न गतिविधिहरू गर्दै आएको क्यान्सर योद्धाहरूको संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न प्रकारका गतिविधिहरूलाई तीव्रता दिँदै आएको छ ।


क्यान्सर सर्भाइभर्सहरुलार्ई आर्थिक रूपमा सक्षम बनाउन आयमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, स्थानीय निकाय अन्तर्गत समुदाय स्तरमा जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने, सर्भाइभर्स तथा वहाँका परिवारहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने, स्वास्थ्य संस्था तथा अस्पतालहरूसँग समन्वय गरी स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने, सर्भाइभर्सहरुको उपचार सर्वसुलभ तथा निःशुल्क बनाउन सोसाइटीले बहस तथा पैरवी गर्दै आएको क्यान्सर सभाईभर्स सोसाइटीकी महासचिव प्रमिला केसीले जानकारी दिनुभयो ।


क्यान्सरसम्बन्धी जनचेतनाको अभावमा अहिलेको सूचना तथा प्रविधिको युगमा पनि यो रोग अझ घातक बन्दै गइरहेको छ । त्यस कारण पनि विश्व क्यान्सर दिवसको अवसर पारेर सोसाइटीले क्यान्सरसम्बन्धी जनचेतनालाई अझ व्यापक रूपमा प्रचार प्रसार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्