वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभुषण उपाध्यायको ‘मान्छेको मुटु’ लोकार्पण
मुटुसँग सम्बन्धित दुई सयभन्दा बढी समस्या र बच्ने उपायको सरल भाषामा उत्तर
नेपाल हेल्थ न्युज, काठमाडौं । चार दशक भन्दा बढी समयदेखि अनवरत मुटुुरोग उपचारमा समर्पित वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभुषण उपाध्यायको ‘मान्छेको मुटु’ पुस्तक लोकार्पण भएको छ ।
![](https://i0.wp.com/nepalhealthnews.com/wp-content/uploads/2025/02/manxe-ko-mutu-lokaroan.jpg?resize=720%2C480&ssl=1)
२०८१ माघ २७ गते काठमाडौंको मेरियट होटलमा आयोजित कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा. सत्यनारायण सुवाल, नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष डा. रत्नमणि गजुरेल, पुस्तकका प्रकाशक इदा उपाध्याय, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी, साहित्यकार राजेन्द्र थापा, लेखक तथा सम्पादक लक्ष्मण अधिकारीले संयुक्त रूपमा सो पुस्तक लोकार्पण गर्नुभयो ।
यसभित्र मुटुसँग सम्बन्धित दुई सयभन्दा बढी प्रश्नको उत्तर दिने प्रयास गरिएको छ । ३१० पृष्ठको पुस्तकमा १७ वटा रोचक शीर्षक समावेश छन् ।
पुस्तकमा मुटुसम्बन्धी विविध रोग, त्यसबाट बच्ने उपाय र उपचारसम्बन्धी आम मानिसका अनेकौं जिज्ञासाको सरल जवाफ दिने प्रयास गरिएको छ । पुस्तकको बीचबीचमा प्रश्नोत्तर शैली अपनाइएको छ, जसले मुटुसँग सम्बन्धित आम मानिसको मनमा उत्पन्न हुने कोतुहलता मेट्न सहयोग पुग्ने लेखक डा. उपाध्यायले जानकारी गराउनुभयो । उहाँका अनुसार पुस्तकमा मुटुको बारेमा तथ्यपरक पक्षलाई पुस्तकमा उतारिएको छ ।
![](https://i0.wp.com/nepalhealthnews.com/wp-content/uploads/2025/02/manxe-ko-kutu1.jpg?resize=657%2C933&ssl=1)
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले मुटुसँग सम्बन्धित वैज्ञानिक, प्राविधिक, आध्यात्मिक, भावनात्मक सबै पाटो जोडिएर पुस्तक लेखिएको बताउनुभयो । उहाँले भन्नुभयो—‘जीवनको सुरुआत नै मुटुको धड्कनबाट हुन्छ र अन्त्य पनि यसैबाट । पुस्तकमा मुटुबारे विविध जानकारी हुनाका साथै मन र आत्माबारे चर्चा छ । प्रश्नोत्तर शैलीमा लेखिएको पुस्तक रोचक छ ।’
साहित्यकार थापाले पुस्तकले आमपाठकले बुझ्ने गरी मुटुसम्बन्धी सरल भाषामा जानकारी प्रस्तुत गरिएको बताउनुभयो । उहाँले पुस्तकले मेडिकलभन्दा पनि आम मानिसका मुटुसम्बन्धी जिज्ञासालाई प्रश्नोत्तरमार्फत मनका कुरा रोचक ढङ्गले लेखिएको र यो सबैका लागि उपयोगी भएको बताउनुभयो ।
सर्वसाधारण सबैलाई काम लाग्ने गरी लेखिएको यसमा विशेषगरी मुटु रोग कसरी लाग्छ? मुटु रोग लाग्न नदिन के खाना खाने ? के खाना नखाने जस्ता विषयहरु समेटिएको र साधारण भाषामा लेखिएको छ ।
यो डा. उपाध्यायको दोस्रो पुस्तक हो ।
साढे चार दशकदेखि मुटु उपचार संलग्न डा. उपाध्यायको यसअघि ‘मुटुसँग सहयात्रा’ नामक पुस्तक प्रकाशन भइसकेको छ ।