बच्चाको ग्रोथ एण्ड डेभलप्मेन्टका अवरोधक

सुरक्षा सुवेदी, लेक्चरर, एसियन कलेज अफ हेल्थ साइन्स || प्रकाशित मिति :2017-08-31 07:48:14

 

चाइल्ड हेल्थ नर्सिङ 

– विश्वस्वास्थ्य संगठनले न्यूमोनिया, झाडापखाला र पोषणको अभावका कारण विश्वमा धेरै बालकालिकाको मृत्यू भएको उल्लेख गरेको छ । बालबालिकाको मृत्यू गराउने मुख्य कारक तत्वमा न्यूमोनिया रहेको छ ।

– बच्चालाई कुन उमेरमा कस्तो पोषण दिने भन्नेबारे अभिभावकमा जनचेतनाको अभाव छ । यसले बच्चाको शरीरमा पोषण सन्तुलन हुन सक्दैन र उनीहरुलाई विभिन्न किसिमका रोग लाग्ने गर्छ ।
– स्वस्थ्य हुन पाउने बच्चाको अधिकार हो । त्यसैले चाइल्ड राइट (बच्चाको अधिकार) सम्बन्धमा शिक्षक शिक्षिकालाई अभिप्रेरित गराउनुपर्छ ।

चाइल्ड हेल्थ नर्सिङ अध्ययनको शिलसिलामा मैले भारतका केही विद्यालयका शिक्षक शिक्षिकामा बच्चाको ग्रोथ एण्ड डेभलप्मेन्ट सम्बन्धि जानकारीबारे अनुसन्धान गरेको थिएँ । मैले गरेको अनुसन्धानले शिक्षक शिक्षिकामा बच्चाको ग्रोथ एण्ड डेभलप्मेन्ट सम्बन्धी ज्ञानको अभाव पाएँ । बच्चा प्रतिस्पर्धी हुन नसक्दा कुट्ने पिट्ने गरेको देखियो ।
कमजोर पढाई र चकचके स्वभावका बच्चालाई पिटेर तह लगाउने भन्दा पनि उनीहरुको समस्याको कारण पत्ता लगाउन तिर शिक्षक शिक्षिकाको ध्यान केन्द्रीत हुनुपर्छ ।
बच्चामा के कारणले सुधार आउन सकेको छैन ? भन्नेबारे शिक्षकशिक्षिकाले पत्ता लगाउनुपर्छ । यसमा रोग, ग्रोथ एण्ड डेभलप्मेन्टको समस्या, मस्तिष्क, घरायसी समस्या आदिले भूमिका खेलेको हुनसक्छ । समस्या समाधान गरेर बालबालिकाको चौतर्फी उन्नतीमा सहयोग पु¥याउन सकिन्छ । बच्चा समस्या ग्रस्त भएमा रिह्याविलिटेसन सेन्टरमा राखेर सुधार गर्न सकिन्छ ।
बच्चाको ग्रोथ एण्ड डेभलप्मेन्टमा कमी हुनुको कारण आमा गर्भवती हुँदाको समयदेखिबाट शुरु हुन्छ । गर्भवती अवस्थामा राम्रो सँग पोषण खान नपाएका बच्चाहरुमा यस किसिमको समस्या देखिन्छ । आमालाई मधुमेह, उच्च रक्तचाप जस्ता रोग लागेको अवस्थामा पनि बच्चामा असर पर्नसक्छ । यसका साथै विभिन्न संक्रमण र वंशाणुगत कारणले पनि भूमिका खेलेको हुन्छ । बच्चा जन्मिसकेपछि पर्याप्त पोषण उपलब्ध गराउन नसकेमा पनि बच्चाको ग्रोथ एण्ड डेभलप्मेन्टमा असर पुग्नसक्छ ।
त्यसैले आफ्नो बच्चाको स्वास्थ्यमा गर्भवती अवस्थादेखि नै ख्याल पु¥याउनुपर्छ । अध्ययनमा कमजोर बच्चालाई अनावश्यक सजाय दिएर होइन कारण पत्ता लगाएर समाधानको उपाय खोज्नुपर्छ ।

चाइल्ड हेल्थ नर्सिङ केयरको अवस्था कस्तो छ ?
भारतका केही निजी एवं सरकारी अस्पतालहरुमा हुने चाइल्ड हेल्थ केयरको तुलनामा नेपालमा त्यति राम्रो छैन । यहाँ प्रयाप्त उपकरण छैनन् । चाइल्ड हेल्थ अध्ययन गरेका जनशक्ति पनि न्यून मात्रामा छन् । चाइल्ड केयरका लागि आवश्यक पर्ने सेवा र सुविधाको राम्रो व्यवस्था छैन ।

चाइल्ड हेल्थ केयर के हो ?
चाइल्ड हेल्थ केयरमा गर्भावस्थादेखि युवा अवस्थामा नपुगुन्जेलसम्म बच्चामा हुने सम्पूर्ण विकास पर्छ । जस्तोः ग्रोथ एण्ड डेभलेप्मेन्ट, शारीरिक र मानसिक विकास आदि ।

नेपालमा चाइल्ड हेल्थ केयरको स्तरमा सुधार नआउनेको पछाडि के कस्ता समस्या छन् ?

– नेपालमा ग्रामीण क्षेत्र धेरै भएकाले भौगोलिक विकटताको समस्या छ ।

– यातायातको भरपर्दो सुविधा उपलब्ध छैन ।

– थानीय तहमा अस्पतालको सुविधा छैन ।

– बच्चालाई रोग लागेको शुरुको लक्षणबारे आमा बाबुलाई जानकारी हुन सक्दैन । लक्षण थाहा पाउन्जेल धेरै ढिलो भइसकेको हुन्छ ।

– उपचारका लागि आर्थिक अभावको पनि समस्या छ ।

– अस्पताल पनि निकै टाढा हुन्छ र सेवा सुविधा पनि त्यत्तिकै महँगो छ ।

नेपालको चाइल्ड हेल्थ केयरमा सुधार ल्याउन सकिने आधारहरु के के छन् ?

– स्थानीयस्तरमा चाइल्ड हेल्थ केयरसम्बन्धि हस्पिटल हुनुपर्छ ।

– यातायातको सुविधा दिनुपर्छ ।

– रेडियो, पत्रपत्रिका, स्वयंसेवक आदिको माध्यमबाट आमाहरुमा जनचेतना जागृत गराउनुपर्छ र विभिन्न रोगबारे ज्ञान दिनुपर्छ ।

– ग्रामीण क्षेत्रमा चाइल्थ हेल्थसम्बन्धि निःशुल्क शिविरहरु सञ्चालन गर्नुपर्छ ।

– स्क्रिनिङ कार्यक्रमहरु सञ्चालन गरेर कसलाई कस्तो रोग लाग्छ भन्ने पहिचान गर्ने र उपचारका लागि आवश्यक अभियान अघि बढाउनुपर्छ ।

– बच्चाको उपचार निशुल्क उपलब्ध हुनुपर्छ ।

– चाइल्ड हेल्थ केयरबारे आमाबुबालाई विभिन्न व्यवहारिक ज्ञान प्रदान गर्नुपर्छ ।

– बच्चालाई रोग लाग्नुको कारण पत्ता लगाउन प्रयाप्त अनुसन्धान गर्नुपर्छ ।

– बच्चाहरुको स्वास्थ्य अवस्थाबारे तथ्यांक संकलन गर्नुपर्छ ।

– बच्चामा हुनसक्ने कमजोरी र रोग लाग्नुका कारण पत्ता लगाउन जरुरी हुन्छ ।

– स्थानीय तहमा उपलब्ध साधन स्रोतहरुको प्रयोग गरेर घरमा पोषणयुक्त खाना बनाउने तालिम दिन जरुरी छ ।

– आवश्यकता अनुसार वाल अस्पतालहरु स्थापना गर्नुपर्छ ।

विद्यालयस्तरबाट चाइल्ड हेल्थको स्तर उकास्न के गर्नुपर्ला ?

– स्कुलका शिक्षक शिक्षिकलाई चाइल्ड हेल्थ केयरसम्बन्धि तालिम दिनुपर्छ ।

– विद्यालयको पाठ्यक्रममा चाइल्ड हेल्थ केयरसम्बन्धि पाठ समावेश गरिनुपर्छ ।

– स्कुलमा पनि बच्चाको शारीरिक तौल र उचाई मापन गर्ने प्रावधान हुनुपर्छ । यसले बच्चाको ग्रोथ एण्ड डेभलपमेन्ट भएनभएको जानकारी लिन सकिन्छ ।

– बद्यालयमा वर्षमा १ वा २ पटक स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेमा बच्चाको स्वास्थ्य अवस्था पहिचान गर्न सकिन्छ ।

लेखकबारे जानकारी

सुरक्षा सुवेदीले १० कक्षासम्मको अध्ययन वुटवलको न्यू होराइजन इङ्लिस उच्च माध्यमिक विद्यालयबाट गर्नुभयो । बीएस्सी संजिवनी नर्सिङ कलेज बुटवलबाट गर्नुभएको थियो । सु्वेदीले २०१३–२०१५ मा भारतको आसामबाट चाइल्ड हेल्थ नर्सिङमा स्नातकोत्तर (एमएसी) गर्नुभएको छ । त्यस बाहेक त्रिभुवन विश्वविद्यायलयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । भारत तथा नेपालमा आयोजना भएका विभिन्न सम्मेलनहरुमा विभिन्न विषयहरुमा कार्यपत्रहरु समेत प्रस्तुत गर्नुभएका सुवेदीले ६ महिने एड्भान्स डायलाइसिस नर्सिङ्ग तालिम पनि सम्पन्न गर्नुभएको छ । हालै नर्सिङ्ग सम्बन्धि प्रकाशित पुस्तकमा सहलेखन गर्नुभएका सुवेदीको चाइल्ड हेल्थ नर्सिङ्ग सम्बन्धी २ वटा पुस्तक प्रकाशनको अन्तिम तयारीमा छन् । हाल एसियन कलेज अफ हेल्थ साइन्समा लेक्चरर भएर नर्सिङ अध्यापन गराइरहनुभएको छ ।

    Comment Here!