Logo
|
Friday 26th April 2024
Logo

epaper

अस्पताल व्यवस्थापनमा हेल्थ केयर म्यानेजमेन्टको भूमिका

हेल्थ केयर म्यानेजमेन्ट पढेको दक्ष जनशक्तिले प्रशासनिक विभागको नेतृत्व सम्हालेमा संस्थालाई प्रभावकारी बनाउन सकिन्छ



रोशन अधिकारी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मार्केटिङ प्रबन्धकको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले हेल्थकेयर म्यानज्मेन्टमा स्नातक गर्नुभएको छ । यसअघि अधिकारी भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल, बुटवलको लुम्बिनी सिटी अस्पतालमा जनसम्पर्क अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो । अधिकारीसँग दिल्लीस्थित म्याक्स हस्पिटलको म्याक्स पेसेन्ट असिस्टेन्ट सेन्टरमा काठमाडौंबाट नेतृत्व गरेको अनुभव तथा ह्याम्स अस्पतालमा पनि विभिन्न विभागको नेतृत्व गरेको लामो अनुभव छ । यसै सन्दर्भमा अस्पताल व्यवस्थापन अर्थात् हेल्थ केयर म्यानेजमेन्ट विषयबारे अधिकारीसँग गरिएको कुराकानीः

हेल्थ केयर म्यानेजमेन्ट कस्तो विषय हो ?

हेल्थ केयर म्यानेजमेन्ट (अस्पताल व्यवस्थापन) मा व्यवस्थापन संकाय र प्राविधिक संकाय गरी दुवैको मिश्रण कोर्ष अध्ययन हुने गर्छ । जस्तैः शरीर–रचना–विज्ञान (एनाटोमी), पोषण, (न्युट्रिसन), स्वास्थ्य सेवा कानुन (हेल्थ केयर ल), स्वास्थ्य हेरचाह (हेल्थ केयर विधादेखि अर्थशास्त्र, मानव संसाधन व्यवस्थापन, लेखा, मनोविज्ञानदेखि अस्पताल प्रशासन र अस्पताल योजनासम्मको पढाइ हुने गर्छ । यस्तै, हेल्थ केयर म्यानेजमेन्टको स्नातक तहमा ४ वटा इन्टर्नसिप हुने गर्छ । यसले गर्दा अस्पतालमा काम नगरी फ्रेसरको रूपमा पढ्न गएका व्यक्तिले पनि इन्टर्नसिपका बेला अस्पतालका अनुभव हासिल गर्छन् । उदाहरणका लागि तेस्रो सेमेस्टरमा अस्पतालको ओपिडी, इमर्जेन्सी र मेडिकल रेकर्ड गरी ३ वटा विभागमा प्रशासनिक काम गर्नुपर्छ । अध्ययनका सिलसिलामा नेपाल सरकारले चलाएका कार्यक्रम जस्तैः आमा सुरक्षा, डट्सलगायत कार्यक्रमको रिसर्च गर्नुपर्छ । अन्तिममा विधागत एउटा विषय अथवा विभागबारे सबै रिसर्च गर्नुपर्छ ।

अस्पताल व्यवस्थापनमा हेल्थ केयर म्यानेजमेन्टको भूमिका के हुन्छ ?

वास्तवमा नेपाल होस् या विदेश । अस्पताल सञ्चालनको उद्देश्य एउटै हो । हेल्थ केयर म्यानेजमेन्ट अर्थात् अस्पताल व्यवस्थापन विषय पढेको दक्ष जनशक्तिले अस्पताल व्यवस्थापनअन्तर्गतका प्रशासनिक विभागको नेतृत्व गरेमा संस्थालाई प्रभावकारी रुपमा लैजान सकिन्छ ।

हेल्थ केयर म्यानेजमेन्ट पढेको व्यक्तिले अस्पताल सञ्चालनको रणनीति तयार गर्छ । अस्पतालको उद्देश्य र आवश्यकताअनुरूप के–कस्तो सुविधा राख्दा उचित र प्रभावकारी हुन्छ, त्यहीअनुसार सेवा विस्तार गर्छ । सेवा विस्तार गर्दै गर्दा सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति, उपयुक्त स्थान तथा स्रोत–साधनको उचित मूल्यांकन गर्दै अपुग देखिए सोहीअनुरुपमा क्रियाकलाप गर्छ ।

सो कोर्ष गर्दै गर्दा उसले स्वास्थ्यसम्बन्धी कानुन अर्थात् ‘हेल्थ केयर ल’ मा पनि दक्षता हासिल गरेको हुन्छ । सोहीअनुसार अस्पताल सञ्चालनका लागि नीति–नियम बनाएर सेवा सञ्चालन तथा विस्तार गर्दै लैजान्छ ।

अस्पताल व्यवस्थापनमा हेल्थ केयर म्यानेजमेन्ट पढ्नेको महत्व किन हुन्छ ?

अस्पताल व्यवस्थापनमा हेल्थ केयर म्यानेजमेन्ट पढेका व्यक्ति आवश्यकताअनुसार अस्पतालको रणनीति, नीति नियम निर्माण तथा प्रशासनिक क्रियाकलाप हेर्न सक्षम हुन्छन् । यसरी अस्पताल सञ्चालन गर्दा सेवा लिन आउने सेवाग्राहीलाई पनि गुणस्तरीय तथा प्रभावकारी सेवा दिन सकिन्छ । अस्पताल व्यवस्थापनअन्तर्गतका विभिन्न व्यवस्थापकीय विभागमा पनि हेल्थ केयर म्यानेजमेन्टले महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । अस्पतालको दैनिक प्रशासनिक क्रियाकलाप, ओपीडी, मेडिकल रेकर्ड विभाग, अस्पताल गुणस्तर विभाग, अस्पतालको मार्केटिङ जसमा अस्पताल बाहिरका क्रियाकलाप, स्वास्थ्य शिविरलगायत विभिन्न क्रियाकलाप अर्थात् सेवाग्राहीको सहायतामा पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् ।

तपाईंको भोगाइमा हेल्थ केयर म्यानेजमेन्टसम्बन्धी चुनौती के हुन् जस्तो लाग्छ ?

सुरु–सुरुमा यो विषयबारे धेरैलाई थाहा थिएन र खासै चासो पनि देखाउँदैन थिए । तर, अहिले अस्पतालको उचित व्यवस्थापन गर्न व्यवस्थापकको खाँचो महसुस गर्दै सरकारले पनि विभिन्न अस्पतालमा अस्पताल व्यवस्थापक विषय लिएर पढेकाहरूका लागि विज्ञापन खुलाउँदा यसमा विद्यार्थी चासोको बढिरहेको छ । निजी अस्पतालमा केही दशकदेखि व्यवस्थापनमा हेल्थ केयर म्यानेजमेन्ट नै कार्यरत छन् भने सरकारी स्तरका अस्पतालमा हालै मात्र यसको माग बढ्दै गएको देखिन्छ ।

अस्पतालमा हेल्थ केयर म्यानेजमेन्टको भूमिकाबारे प्रस्ट नहुँदा अझै कहीँ–कतै यो विषय ओझेल परेको हो कि भन्ने लाग्छ । अझै पनि अस्पताल व्यवस्थापक डाक्टर नै हुनुपर्छ भन्ने बुझाइ छ । क्लिनिकल विधा र व्यवस्थापन विधा छुट्टाछुट्टै हुन् भन्ने हामीले बुझ्नु जरुरी छ ।

डाक्टर अस्पतालको व्यवस्थापक हुनुहुँदैन भन्ने मेरो भनाइ होइन । तर, डाक्टरले पनि अस्पताल व्यवस्थापनबारे निश्चित तालिम लिएर व्यवस्थापन हेर्दा अझै बढी सजिलो हुन्थयो कि ? सायद यसैलाई लक्षित गर्दै अहिले नर्सिङदेखि डाक्टर, विभिन्न क्लिनिकल पेसामा आबद्ध व्यक्तिमा पनि हेल्थ केयर म्यानेजमेन्ट विषयमा रुचि बढेको देख्न सकिन्छ । यसले अस्पताल व्यवस्थापन प्रक्रियालाई दक्ष बनाउन मद्दत मिलेको छ ।

अन्त्यमा, निजी अस्पताल धेरै महँगा हुने गरेको गुनासो सर्वसाधारणबाट सुनिन्छ । यसमा तपाईंको धारणा के छ ?

निजी क्षेत्रका अस्पताल धेरै महँगा र तिनले बिनाकारण महँगो शुल्क असुल्दै आएका छन् भन्ने गुनासा समाज र नागरिकबाट सुनिँदै आएको छ । साँच्चै निजी अस्पतालले बिरामीसँग अवैज्ञानिक तथा आधारहीन महँगो शुल्क असुल्ने गरेका छन् ? के निजी अस्पताल बिरामी लुट्न बसेका हुन् ? निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूले सर्वसाधारण बिरामीलाई लुटिरहेका छन् भने उपचारका लागि किन निजी अस्पताल रोजिन्छ त ? महँगो छ भन्ने थाहा हुँदाहुँदै निजी अस्पतालको स्वास्थ्य सेवा लिन किन जाने ? निजी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा, बिरामीको हेरचाह तथा उपचार पद्धति गुणस्तरीय र विश्वासयोग्य छन् । निजी अस्पतालले रोग पहिचान र निदानका लागि अत्याधुनिक प्रविधिका मेडिकल उपकरण खरिदमा लगानी गरेका छन् ।

सरकारी अस्पतालको शुल्कसरह नै निजी अस्पतालले भरपर्दो र गुणस्तरीय उपचार सेवा प्रदान गरुन् भन्ने सबैको चाहना हो । यस् तो चाहना राख्नु गलत नभए पनि सरकारी अस्पताल सरकारद्वारा प्रदान गरिने बजेटमा सञ्चालित हुन्छन् भन्ने हेक्का राख्नु जरुरी छ ।

निजी अस्पतालले दिँदै आएका अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवाको हिसाबकिताब गर्दा तिनले लिएको शुल्क त्यति महँगो होइन । उक्त शुल्कबाट अस्पतालका चिकित्सक, नर्स, स्टाफ खर्च, बैकको किस्ता सबै खर्च बेहोर्नुपर्छ । सरकारी तहबाट निजी अस्पताललाई कुनै अनुदान उपलब्ध गराइँदैन । यदि अनुदान र विभिन्न कर छुट भए अहिलेभन्दा न्यून शुल्कमा सेवा उपलब्ध गराउन सक्छन् । तसर्थ, सरकारीभन्दा निजी क्षेत्रका अस्पताल केही मात्रामा महँगो हुनु स्वाभाविकै हो ।

सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मान गरौं । निजी अस्पताललाई अमानवीय व्यवहार नगरौँ । जीवनरक्षा गर्ने सम्पूर्ण व्यक्तिलाई सधैँ आदर गरौँ भन्ने मेरो कामना हो ।

प्रतिक्रिया दिनुहोस्