जहाँ विष सेवन गरेका ९९ प्रतिशत बिरामी निको भएर घर फर्किन्छन्

जनस्वास्थ्य सरोकार || प्रकाशित मिति :2018-03-19 13:36:14

डा. मोनिषा कार्की, सिनियर हाउस अफिसर, नागरिक कम्युनिटी टिचिङ हस्पिटल

विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार, प्रत्येक वर्ष करिब ८ लाख मानिसको आत्महत्याबाट मृत्यु हुने गर्छ । सामान्य रुपमा आत्महत्याको प्रयासका लागि एकल (सिंगल) सबैभन्दा महत्वपूर्ण जोखिम कारक मानिन्छ । आत्महत्या १५–२९ बर्षका बच्चाहरु बीच मृत्युको दोस्रो प्रमुख कारण मानिएको संगठनको भनाइ छ । संगठनका अनुसार, ७८ प्रतिशत आत्महत्या निम्न र मध्यम आयस्रोत भएका देशमा हुने गरेको छ । नेपाल लगायत विश्वभर नै बिष सेवन र झुन्डिने आत्महत्याको सबैभन्दा सजिलो तरिका रहेको विश्व स्वास्थ्य संगठनको निष्कर्ष छ ।
विश्व स्वास्थ्य संगठनको अर्को रिपोर्टअनुसार संसारभर बढी आत्महत्याका घटना हुने देशहरूमा नेपाल सातौँ स्थानमा पर्छ । अझ महिलाको आत्महत्याका घटनालाई हेर्ने हो भने नेपाल विश्वमै तेस्रो स्थानमा पर्दछ । आत्महत्या गर्नुका पछाडि यही नै कारण हो भन्न सकिन्न । करिब ९० प्रतिशत मानिस आत्महत्या मानसिक रोगको कारणले गर्ने बताइन्छ । विभिन्न मानसिक रोगहरूमध्ये डिप्रेसनलाई आत्महत्या गर्न सघाउ पु¥याउने प्रमुख रोगको रूपमा मानिन्छ । यसका साथै बाइपोलार डिसअर्डर, स्किजोफेनियाजस्ता मानसिक रोगहरूले पनि आत्महत्या गर्न सघाउ पु¥याउँछ ।
पुरुषमा ४५ वर्ष र महिलामा ५५ वर्षको उमेरपछि आत्महत्याको सम्भावना बढ्ने गरेको तथ्यांक पाइन्छ । आत्महत्याको प्रयास गर्ने मानिस प्रायजसो उदासी र निराश भावनाले भरिएका हुन्छन् ।

आत्महत्या गर्ने कारण
– अत्यधिक मात्रामा निराश
– एक्लोपन महसुस
-चिन्तित र उत्तेजित महसुस
-जीवनमा बाँच्नका लागि कुनै कारण नभएको महसुस
-आत्महत्या गर्नु मात्र समाधान देख्ने

यसै सन्दर्भमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल सिनियर हाउस अफिसर डा. मोनिषा कार्कीसँगको जनस्वास्थ्य सरोकारको भलाकुसारी ।

यहाँले काम गरेको कति वर्ष भयो ?

हस्पिटलको स्थापना कालदेखि मेडिकल अफिसर इन्चार्जका रुपमा कार्यरत छु । करिब ७ बर्षभन्दा बढी भइसकेको छ ।
यहाँले कस्तो जिम्मेवारी वहन गर्नु भएको छ ?

म धेरै जस्तो आइसियु मा काम गर्छु । त्यस बाहेक परिआएको अवस्थामा अरु विभागमा पनि मद्धत गर्छु । तर विशेषगरी आसियु मै केन्द्रित भएर काम गर्छु ।
यसका साथै हरेक हप्ता आउट रिच क्लिनिकमा गएर शिविर गर्छु । खासगरी बेलाबेलामा भक्तपुरका विभिन्न ठाउँमा गएर प्रोल्याप्स (पाठेघर खस्ने समस्या) स्क्रिनिङ शिविर पनि गर्छु । अहिलेसम्म जनस्वास्थ्यसँग मैले ४५ वटा स्क्रिनिङ शिविर गरिसकेको छु ।

विष सेवन गर्नुको यथार्थ जानकारी कसरी प्राप्त गर्न सकिन्छ ?

पहिलो त विगतमा भएका विभिन्न समस्याको सोधपुछबाट नै हो । त्यसपछि बिरामीको मुखबाट आउने विषको गन्ध र क्लिनिकल मुल्यांकनबाट यथार्थ जानकारी प्राप्त गर्न सकिन्छ ।

यहाँहरुको उद्देश्य के हो ?
पहिलो त राम्रोसँग बिरामीको उपचार गर्नु हो । विष सेवन गरेर आत्महत्याको कोशिस गर्न खोजेका बिरामी हतपत कुनै पनि हस्पिटलले सजिलै भर्ना गर्न चाहँदैनन् किनभने यस्ता घटनामा पुलिसले हेर्ने भएकाले लफडा र झन्झटिलो हुने गर्छ । आखिर आत्महत्या त स्वयंं व्यक्तिले मर्ने उद्देश्यले गरेको कोशिस त हो । यस्ता बिरामीहरुको उपचार गर्न हामीले आप्नो कर्तव्य ठानेका छौ ।

मेरो विचार के छ भने दुख परेका कारण आवेषमा आएर गरेको गल्तीलाई हामीले माफ गरेर उसलाई फेरि नयाँ जिन्दगी बाँच्ने वातावरण बनाइदिनुपर्छ जस्तो लाग्छ ।

विष सेवन गरेका बिरामीको उपचारमा कुन दरले सफलता प्राप्त हुने गरेको छ ?
विष सेवन गरेका कारण आएका बिरामी ९९ प्रतिशत राम्रो भएर घर फर्कने गरेका छन् । भक्तपुर जिल्लामा नागरिक अस्पताल विष सेवन घटनाका लागि अब्बल नै मानिन्छ ।

आत्महत्यामा घटना कुन ठाउँबाट धेरै आइरहेका छन् ?
सामान्यत भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा आसपासका व्यक्तिले विष सेवन गरेर मर्ने प्रयास गरेका धेरै घटनाहरु अस्पतालमा आउने गरेका छन् ।

कुन समुदायले बढि आत्महत्याको कोहिस गर्ने गरेका छन् ?

खासगरी मंगोलियन अनुहार बढी हुन्छन् । उनीहरु अलि रिसाहा र जिद्धि स्वभावका हुन्छन् । साथै अरु समुदायका पनि प्रशस्तै छन् ।
यस्ता व्यक्तिहरुमध्ये पुरुषले मर्न कै लागि अनि महिलाहरुले घुर्क्याउनका लागि विष सेवन गरेको पाइएको छ ।

प्रायः विष सेवन गर्नेहरु कति उमेर समूहका छन् ?
विगतमा १८ बर्षदेखि ३४ वर्ष उमेर समूहका व्यक्तिले विष सेवन गर्ने गरेकोमा विगत ३ महिनादेखि वृद्धावस्था अर्थात ४५—६० वर्ष उमेर समूहका व्यक्तिले आत्महत्याको प्रयास गरेको पाइएको छ ।
आत्महत्या गर्ने के कारण पाइएको छ ?

प्रायः उमेर ढल्केकाहरुले घरको ऋण बोझका कारण निरास भएर विष सेवन गरी आत्महत्याको कोशिस गरेका छन् भने युवावस्थाका व्यक्तिले लभ अफेयर, प्रतिस्पर्धा, आफ्ना चाहना पुरा नहुँदा, परीक्षामा फेललगायत स—साना कुरालाई लिएर आत्महत्याको प्रयास गरेको पाइएको छ । अहिलेका युवा पुस्तामा अलि तनाव खप्न नसक्ने क्षमता छ ।

विष सेवन गरेका व्यक्तिलाई बचाउन सकिने आधार के हुन्छ ?
विष सेवन गरेको मात्राको आधारमा बिरामी जिवित हुन्छ वा मर्छ भन्ने कुराको निक्र्योल हुने गर्छ ।

बिष सेवन गर्नुको यथार्थ जानकारी कसरी प्राप्त गर्न सकिन्छ ?
आईसियुमा लगेर बिरामीलाई दिइने विष काट्ने औषधि एट्रोपिन दिइन्छ जसले गर्दा पछि साइकोसिस डेभलप गर्छ । यस्तो अवस्थामा बिरामीले बेहोसी कुरा गर्ने, उफ्रिनेलगायतका क्रियाकलाप गर्छन् ।
एट्रोपिन औषधि बन्द गरेको ४८ घण्टापछि बिरामी फ्रेस भएपछि साइक्याट्रिष्टको काउन्सिलिङ पछि बिरामीले आफूले आत्महत्या गर्नाको यथार्थ बताउँछन् ।
 

    Comment Here!