औषधिजन्य मेडिकल र सर्जिकल सामाग्री आयातमा कठिनाइ

जनस्वास्थ्य सरोकार || प्रकाशित मिति :2018-12-15 10:11:53

सुरेश घिमिरे, अध्यक्ष, केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान)

नेपालमा बार्षिक रुपमा १८ देखि २० अर्बसम्म मेडिकल र सर्जिकलसम्बन्धि स्वास्थ्य साम्रागीहरुको आयात हुने गरेको छ । तर रोग डायग्नोष्टिकमा प्रयोग हुने औषधिजन्य मेडिकल र सर्जिकल स्वास्थ्य सामाग्रीहरुमा लगाइने भन्सार शुल्क र भ्याटले यस क्षेत्रमा लागेका व्यवासायीहरु आजित भएका छन् । वारेन्टी र ग्यारेन्टी दिएका सामाग्रीहरुमा दोहोरो भन्सार दर तिर्नुपर्ने अर्को ठूलो समस्या छ । यसै सन्दर्भमा मेडिकल एक्स्पो २०१८ लाई लक्षित गरी केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान) का अध्यक्ष सुरेश घिमिरेसँग गरिएको कुराकानीको सार सपेक्ष प्रस्तुत गरिएको छ ।

केमसानले मेडिकल एक्स्पोलाई प्राथमिकता दिनुको कारण के हो ?
नेपालमा भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरु देश बाहिर गएर स्वास्थ्य सामाग्रीको अवलोकन गर्न सक्दैनन् । त्यसैले अन्तर्राष्ट्रिय जगतमा भएका मेडिकल र सर्जिकलसम्बन्धि नयाँ प्रविधिहरुबारे एकै छातामुनि जानकारी गराउने उद्देश्यले विगत ३ वर्षदेखि वर्षेनी मेडिकल एक्स्पो आयोजना गरिँदै आएको छ ।
चिकित्सक एवं सेवा प्रदायक स्वास्थ्य संस्थाका सञ्चालकहरुले आफैं आएर मेडिकल र सर्जिकल सामानको गुणस्तर र फाइदाबारे जानकारी लिन सक्नुहुन्छ । एकातिर प्रदर्शनकर्ताहरुलाई आफ्नो सामानको क्वालिटीबारे विश्वास दिलाउने अवसर छ भने अर्कोतिर सम्बन्धित व्यक्तिहरुले आफूलाई आवश्यक परेको सामान छनौट गर्न सक्नुहुन्छ ।

एक्स्पोमा कुन कुन देशको सहभागिता छ ?
एक्स्पोमा नेपाल, भारत र चीनका मेडिकल सर्जिकल उत्पादन कम्पनि र व्यवसायीहरुको सहभागिता रहेको छ । यसमा १ सय ७७ वटा स्टल छन् । नेपालीहरुको ५५ वटा रहेको छ ।
यसका साथै नेपाल मेडिकल एसोसिएसनको साझेदारीमा विभिन्न विषयमा कन्फरेन्सहरुको समेत आयोजना गरिएको छ ।

मेडिकल र सर्जिकल बजारमा देखिएका चुनौति के के छन् ?
मेडिकल र सर्जिकल स्वास्थ्य सामाग्रीहरुको व्यवसायमा व्यवसायिक र प्राविधि दुवै प्रकारका चुनौति छन् ।  भन्सारका कर्मचारीहरुले मेडिकल र सर्जिकलका सामान नचिन्ने र चिने पनि लापरबाही गर्ने ठूलो समस्या छ । कतिपय स्वास्थ्य सामाग्रीहरुमा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्ने गर्छ भने कतिपयमा भ्याट छूट छ । कतिपय सामाग्रीमा भन्सार र भ्याट दुवै छूट छ ।
यसो हुँदाहुँदै पनि असमान भन्सारदरको समस्याले धेरैलाई पिरोलेको छ । जस्तोः अपरशेन थियटरका एलइडी लाइटहरुलाई रुम लाइटको वर्गिकरमा राखेर जनरल लाइट सो—सरहको भन्सार दर लगाइदिने गरिएको छ । भ्याट र भन्सार दर दुवै छूट हुनुपर्ने मेडिकल अटोक्लेप मेसिनमा पनि त्यस्तै समस्या छ । हस्पिटल फर्निचरहरुको ओटी वेडहरुमा भन्सार शुल्क लगाइएको हुन्छ । क्याविनका डिलक्स वेडका साइड लकर, ट्रलीहरुमा भन्सार शुल्क लगाइएको हुन्छ । स्पेयर पार्टहरुमा चर्को भन्सार शुल्क छ । यसैगरी वारेन्टी ग्यारेन्टीका सामानहरु फिर्ता गरेर ल्याउँदा र लैजाँदा डबल भन्सार तिर्नुपर्ने बाद्यता छ । एक्सरे इक्युप्मेन्टहरु आयात गर्दा स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर मात्र भन्सार पास गर्ने नियम भएकाले स्वीकृतिका लागि झन्झटिलो छ । मन्त्रालयबाट कागजपत्र नबनाउन्जेल बाहिरबाट आएको भन्सारमा थन्केर बस्छ ।

जीवन मरणसँग जोडिएका यस्ता स्वास्थ्य सामाग्री आयातमा कसरी सहज बनाउन सकिन्छ ?
रोग डायग्नोष्टिकका लागि प्रयोग हुने औषधिजन्य स्वास्थ्य सामाग्रीहरु आयातमा भन्सार छूटको व्यवस्था गर्नुपर्छ । यसबाट सहज मूल्यमा सामान उपलब्ध गराउन सकिन्छ ।
स्लाइन पानीमा भन्सार दर निःशुल्क छ तर स्लाइन प्रयोग गर्ने सामाग्रीहरुमा भन्सार दर लगाइन्छ । त्यसैले आईभी क्यानुला, शरीरभित्र प्रयोग हुने धागो, अर्थोपेडिक इन्प्लान्ट्स, कोरोनरी आर्टरी स्टेन्ट जस्ता स्वास्थ्य सामाग्री आदिलाई औषधि सरह भन्सार दर र भ्याट दुवैमा छुटको व्यवस्था हुनुपर्छ ।

    Comment Here!