हात्तीपाइले
सुरुआत गरौं एउटा कहालीलाग्दो यथार्थबाट— हात्तीपाइलेको कीटाणु शरीरमा बोकेकाहरूको जनसंख्या हाम्रो राजधानीमा २२ प्रतिशत छ।
मुलुकको मुटु मानिने राजधानी सहरकै अवस्था यस्तो छ भने, विकट क्षेत्रमा हात्तीपाइले कुन रूपमा होला भन्ने सहजै अनुमान गर्न सकिन्छ। हात्तीपाइलेले मानिसको खुट्टा हात्तीको जस्तो बनाइदिन्छ। यो रोग खुट्टामा मात्रै भने लाग्दैन। यही रोगका कारण पुरुषको अण्डकोष सुन्निन्छ। महिलाको स्तन र यौनांगसमेत अस्वाभाविक रूपले ठूलो हुने कान्तिपुर दैनिकमा उल्लेख छ ।
एकपटक खुट्टा हात्तीको जस्तो भएपछि त्यसलाई सामान्य रूपमा ल्याउने उपचार विश्वमै अहिलेसम्म उपलब्ध छैन। त्यस्तो डरलाग्दो रोग हो हात्तीपाइले। यो रोग भारतीय उपमहाद्वीपको निकै पुरानो रोग हो। इसापूर्व छैटौं शताब्दीका आयुर्वेदका ज्ञाता सुश्रुतको पुस्तकमा समेत यसबारे उल्लेख पाइन्छ ।
नेपालमा हात्तीपाइलेले गर्दा करिब २० लाख पुरुषलाई हाइड्रोसिल हुने गरेको छ,इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनी भन्छन्, महिलाको स्तन र जननेन्द्रिय सुन्निने समस्या कति छ, अनुमान लगाउनसमेत गाह्रो छ।
६१ जिल्लाका बासिन्दा हात्तीपाइले पीडित छन्। तराईको सहरी इलाकामा २०-२५ प्रतिशत व्यक्तिको शरीरमा हात्तीपाइलेको जीवाणु छ। बर्दियाको त ४० प्रतिशत जनसंख्या यो संक्रमणमा छ। समग्र मुलुकको कुरा गर्ने हो भने, करिब १३ प्रतिशत नेपाली यसबाट संक्रमित भइसकेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार ७३ मुलुकका १ अर्ब ४० करोड व्यक्ति यसको जोखिममा छन्।अढाई करोड नेपाली हात्तीपाइलेको जोखिममा छन्, डा. मरासिनी भन्छन्, ग्रामीण मात्र नभई सहरी क्षेत्रमा समेत यो रोगको व्यापक विस्तार छ।
हात्तीपाइले मसिनो धागो आकारको उच्चेरिया बाङ्क्रोफटी नामक फाइलेरियाको परजीवीबाट सर्छ। यो परजीवी भने एकबाट अर्को व्यक्तिमा पोथी क्युलेक्स वा एनोफिलिस लामखुट्टले सार्ने गर्छ।
यो संक्रमणलाई रोक्न डब्लूएचओले संक्रमण भएको ठाउँमा वाषिर्क रूपमा बृहत् उपचार कार्यक्रमअन्तर्गत दुइटा औषधि एकल मात्रा प्रस्तावित गरेको छ। केही व्यक्तिमा यो रोगको संक्रमण भए पनि जीवनभर रोग देखिँदैन। तर लक्षण नदेखिने यस्ता व्यक्ति लामखुट्टेको माध्यमले अरू व्यक्तिमा संक्रमण सार्ने माध्यम भने बन्छन्।
नेपाल सरकारले वर्षेनी हात्तिपाइले विरुद्घको औषधि वितरण गर्दै आएको छ, जसमा केही खास स्वास्थ्य स्थिति भएका बाहेक सबै स्वस्थ व्यक्ति सहभागी हुन सक्छन्। यो औषधि गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोग, मुटु रोग, मृगौला, जन्डिस, कलेजोका दीर्घ रोगीहरूर दुई वर्ष नपुगेका बालबालिकाबाहेक सबैले खान सक्ने मरासिनी औंल्याउँछन्। यो औषधि खाली पेटमा भने खानु हुँदैन।