Logo
|
Tuesday 16th April 2024
Logo

epaper

विज्ञापनले जुराएको जोडी



Dr Jagadish Agrawal1
डा. जगदीश अग्रवाल र ज्योति अग्रवाल

डा. अग्रवाल दम्पत्तिको दाम्पत्य
सम्बन्धको आधार विश्वास र प्रेमनै हो भन्ने कुरा डा. डा. जगदीश अग्रवालको दामम्पत्य जीवनले पुष्टि गर्छ । विज्ञापनबाट जोडिएको जगदीश र ज्योतिको सम्बन्ध आफैंमा एउटा रोचक कथा बनेको छ । यसपटक दाम्पत्य कोलममा हामीले यहि दम्पत्तीलाई निम्त्याएका छौं ।
जगदीश अग्रवाल इन्टरनल मेडिसिनमा प्राध्यापक एवं वरिष्ठ नसा रोग विशेषज्ञ हुनुहुन्छ । त्रि.बि.शिक्षण अस्पतालमा उहाँले सेवा गरेको पनि २५ वर्ष पूरा भइसकेको छ । यसका साथै प्रा.डा. जगदीश अग्रवाल सामाजिक क्रियाकलापमा पनि त्यतिकै सक्रिय सहभागी हुनुहुन्छ । हाल उहाँ मस्कुलर डिस्ट्रोफी समाजको अध्यक्ष हुनुहुन्छ । उहाँकी धर्मपत्नी डा. ज्योति अग्रवाल वरिष्ठ स्त्री तथा प्रशुति रोग विशेषज्ञ हुनुहुन्छ ।
प्रा.डा. जगदीश र डा.ज्योतिको बैवाहिक सम्बन्ध बिज्ञापनबाट जुरेको थियो । उहाँहरु दुवैजना दाइजोप्रथाको बिरोधी भएकाले पनि भारतको उदयपुरकी ज्योति र बिराटनगर रंगेलीका जगदीशबीच बैवाहिक सम्बन्ध स्थापित भयो ।
डा. जगदीश अग्रवाल र ज्योति अग्रवालले गत २ अक्टोबर २०१४ मा २६ औं म्यारिज एनिभर्सरी मनाउनुभएको छ । उहाँहरुको बिवाह सन् १९८८ मा भएको थियो ।

विवाहको रोचक कथा
उहाँहरुको बिवाह प्रसंग अलि रोचक छ । त्यो बेला डा. जगदिश अग्रवाल कोलम्बो प्लानबाट एमबीबीएस पूरा गरी त्यहीँको छात्रबृत्ति पाएर जयपुरको एसएमएस मेडिकल कलेजमा इन्टरनल मेडिसिनमा एमडी गर्दैहुनुहुन्थ्यो । त्यो बेला घरपरिवारबाट पनि बिहे गर्नुपर्ने कुरा चलिरहेको र आफ्नै जातको डाक्टर पढेको केटी पाएमा बिहे गर्ने सोचमा हुनुहुन्थ्यो डा. जगदीश । एकदिन उहाँले राजस्थान दैनिक पत्रिकामा सु–योग्य बर (बेहुला) को खोजीमा उदयपुरको एकजना केटीको बुबाले गरेको विज्ञापन पढ्नुभयो । विज्ञापन गर्ने व्यक्ति डा. ज्योतिको बुबा हुनुहुन्थ्यो ।
त्यो बेला राम्रो केटाको खोजीमा वैवाहिक विज्ञापन स्थानीय पत्रिकाहरुमा छपाउने चलन रहेछ । विज्ञापनका आधारमा डा. जगदीशले आफ्नो बायोडाटासहीत पत्राचार गर्नुभयो । अहिले पनि त्यो विज्ञापन डा. अग्रवालको घरमा सुरक्षित छ ।
डा. जगदीशले आफ्नो बायोडाटा पठाएपछि सोही आधारमा डा. जगदीशलाई हेर्न डा. ज्योतिको परिवारबाट बुवासहित जयपुर आउनुभयो । डा. ज्योतिको माइती राजस्थानको उदयपुर हो । केटीको परिवारले डा. जगदीशलाई मन पराए । डा. जगदीशले पत्रिकाको विज्ञापनलाई मात्र सत्प्रतिशत विश्वास गर्नुभएन र उहाँ पनि अनौपचारिक रुपमा डा. ज्योतिलाई हेर्न उदयपुर जानुभयो । डा. जगदीश भन्नुहुन्छ—‘पत्रिकाको मात्र के भर पर्नु भनेर ज्योतिलाई हेर्न म उनको घर गएँ ?’ माइतिपक्षबाट थाहा नपाउने गरी उदयपुरको एक अस्पतालमा राउण्ड गर्दैरहेको अवस्थामा डा. ज्योतिलाई हेरेर आउने बिचारले डा. जगदीश उदयपुरतिर जानुभएको थियो ।
भारतमा आइतबारको दिन छुट्टी हुने भएकाले राउण्ड सकेपछि अस्पतालमा बस्नुपर्दैन । त्यो दिन ज्योति आफ्नो राउण्ड सकेर निस्किसक्नुभएको थियो र एकजना साथीको सहयोगमा आफू ज्योतिको घरमा पुगेको स्मरण सुनाउनुहुन्छ डा. जगदीश । जयपुरबाट उदयपुर पुग्न रात्रीबसमा चढेर करिब ८—९ घण्टाको यात्रा गर्नुपर्छ । ‘त्यसैले त्यहाँ पुगेपछि ज्योतिलाई भेटेर फर्किने सोच गरेँ ।’–उहाँ भन्नुहुन्छ ।
केटाकेटीको देखभेटपछि दुवै घर पक्षबाट मान्य भयो र जयपुरमा बिवाहका लागि इंगेजमेन्ट भयो । त्यो बेला जगदीश आफ्नो दुईवर्ष सिनियर डाक्टरको घरमा बस्नुहुन्थ्यो । त्यही घरमा डा. जगदीश र डा. ज्योति बैवाहिक बन्धनको धागोमा अनुबन्धित हुनुभयो ।
त्यो बेला डा. ज्योति उदयपुरमा चिकित्सा विज्ञान अन्तर्गत डिजिओ गर्दै हुनुहुन्थ्यो भने डा. जगदीश जयपुरमा बसेर इन्टरनल मेडिसिनमा एमडी गर्दैहुनुहुन्थ्यो ।
डा. जगदीश बिगतको वैवाहिक प्रसंगलाई सम्झदै भन्नुहुन्छ—‘हामी साधारण परिवारको मान्छे हो । हाम्रो धेरै आकांक्षा थिएन । आफूलाई सुहाउने र आफ्नै अग्रवाल समाजको केटा र केटी खोजेका थियौं ।’ इंगेज्मेन्टपछि मात्र डा. जगदीश र ज्योतिबीच बोलचाल भएको थियो ।
डा.जगदीश अग्रवालको घर बिराटनगरको रंगेली हो । उहाँहरुको बिवाह बिराटनगरमा भएको थियो । त्यो बेला केटी पक्षबाट बिराटनगर आएर डा.ज्योतिको बिवाह गरिदिएका थिए । त्यो बेला सुविधाको दृष्टिकोणले केटा पक्ष भएको ठाउँमा गएर केटी पक्षले छोरीको विवाह गरिदिनुपर्दथ्यो । डा. ज्योति भन्नुहुन्छ—‘केटापक्षको कुरा केटी पक्षले त मान्नुपर्दथ्यो ।’
बिवाह भएको एकवर्षपछि डा. जगदीशको एमडी अध्ययन पूरा भयो र सन् १९९०को जनवरीदेखि उहाँले त्रि.बि.शिक्षण अस्पताल महाराजगंजमा काम शुरु गर्नुभयो । उहाँले त्रि.बि. शिक्षण अस्पतालमा काम गरेको पनि २५ वर्ष पूरा भइसकेको छ ।

स्वास्थ्यको दुनियाँमा सम्बन्ध
हाम्रो दाम्पत्य र पारिवारिक जीवन निकै राम्रो छ । दुवैजना निश्चित समयसम्म आ—आफ्नो काममा व्यस्त हुन्छौं । त्यसपछि आफ्नो घरपरिवारमा रमाएर बस्छौं ।

करियरमा एकअर्काको सहयोग
यसमा धेरै ठूलो सहयोगको आवश्यकता पर्छ । हाम्रो करियरमा एकअर्काको ठूलो सहयोग छ । दुवैबीच एक आपसमा विश्वास र सहयोग छ । मेरो करियरमा ज्योतिको ८० प्रतिशत योगदान छ । पारिवारिक रुपमा स्वतन्त्र भएकै कारण मैले आफ्नो करियरमा सफलता हाँसिल गरेको छु ।’

Dr Jagadish Agrawal12
डा. जगदीश अग्रवाल र ज्योति अग्रवाल

गुण र दोष
डा. जगदीश भन्नुहुन्छ— ज्योतिमा सबैको ख्याल राख्ने, कामप्रति समर्पण र समयको महत्व बुझ्ने बानी छ । परिवारमा सबैलाई खुशी राख्ने गुण छ । दयालु भावना छ ।’ ‘तर ज्योतिमा कहिलेकाँही तनाव लिने बानी छ । यसले कहिलेकाँही अलि समस्या पार्नसक्छ । जे भएपनि आपसी समझदारीकै कारण पारिवारिक, सामाजिक र राष्ट्रियस्तरमा हामी रमाउन सफल भएका छौं । ’ डा. जगदीश भन्नुहुन्छ ।
‘जीवन चलाउन श्रीमान श्रीमती एक सिक्काको दुईपाटा हुन् ।’ डा. जगदीश भन्नुहुन्छ—‘हाम्रो जीवन रमाइलोका साथ अघि बढिरहेको छ । घर व्यवहार चलाउन एक आपसमा सझदारी हुनैपर्छ ।’

एकअर्कालाई दिने समय
उहाँहरु वर्षको एकपटक स—परिवार घुमघामका लागि जाने गर्नुहुन्छ । अनुकूलताका आधारमा वर्षमा एक—दुईपटक नेपालका विभिन्न शहरमा घुम्न पनि पछि पर्नुहुन्न ।
डा. जगदीश र ज्योतिका तीन सन्तान छन् । जेठी छोरी अदिती डाक्टर अध्ययन गर्दैछिन् भने कान्छी छोरी दिब्या दिल्लीमा इन्जिनियरिङ अध्ययन गर्दैछिन् । छोरा देवान्स रातो बंगलामा स्कूलमा कक्षा ९ मा अध्ययन गर्दैछन् ।
सुखी दाम्पत्य कसरी हुनसक्छ भन्ने जनस्वास्थ्य सरोकारको प्रश्नमा डा. जगदीश भन्नुहुन्छ—‘देखासिखी गर्न हुँदैन । आफूले गरेका र आफूसँग भएका कुराहरुमा सन्तुष्ट हुनसक्नुपर्छ । विपत आपत्मा एकअर्काबीच समझदार भएर समस्या समाधानमा लाग्नुपर्छ ।’

के भन्नुहुन्छ डा. ज्योति ?
डा. जगदीश हेर्न आएको एकहप्ता अघि मात्र जयपुरको अर्का एकजना डाक्टर बिवाहको प्रस्ताव लिएर डा. ज्योतिको घरमा पुगेका रहेछन् । दुवै परिवारले दुवै जनालाई मन पराएका पनि थिए । तर बेहुला पक्षबाट दाइजोको प्रस्ताव आएपछि यो कुरा बेहुली पक्षबाट मान्य भएन किनभने डा. ज्योतिको परिवार दाइजो दिएर छोरीको बिवाह गर्ने मनस्थितिमा थिएन । दाइजोको बिरोध गथ्र्यो यो परिवारले ।
यता बेहुली पक्षबाट दाइजो लिन हुँदैन भन्ने मान्यता बोकेको सु—योग्य वर (बेहुला) डा. जगदीश परिवारबाट प्रस्ताव गएपछि डा. ज्योति दिने निधो भएको थियो । यसलाई संयोग नै मान्नुपर्छ ।
यहाँलाई कस्तो केटाको चाहना थियो ? भन्ने जनस्वास्थ्य सरोकारको प्रश्नमा डा. ज्योति भन्नुहुन्छ—‘पोष्ट ग्राजुएसन गरिहेको वा गरेको, धुम्रपान र मद्यपान नगर्ने र सिम्पल व्यक्ति होस् भन्ने चाहना थियो । डा. जगदीशमा मैले यो सम्पूर्ण कुरा पाएँ ।’
डा. ज्योतिलाई आफ्नो करियर र घरको जिम्मेवारी लिनुपर्ने बाद्यता छ । ‘करियरको पछाडि लागेर घर लथालिंग पार्न हुँदैन भन्ने हामी दुवैजनाको सोच छ ।’ —डा.ज्योति भन्नुहुन्छ—‘हामीले आपसी समझदारीमा एकअर्काको परिपुरकको रुपमा लिएका छौं । एकअर्कालाई राम्रोसँग बुझेका छौं ।’

प्रतिक्रिया दिनुहोस्