Logo
|
Thursday 28th March 2024
Logo

epaper

बिएन्डसीमा अर्बुदको सफल शल्यक्रिया



बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा एक महिलाको जटिल प्रकारको अर्बुद रोगको सफल उपचार भएको अस्पतालले जिकिर गरेको छ ।कनकाई नगरपालिका– ३ निवासी ३८ वर्षीया मनमाया श्रेष्ठको पित्तको नली, प्याङ्क्रियाज ग्रन्थी र ड््युडेनम नली जोडिने भागमा पलाएको मासुको सफल शल्यक्रिया भएको उपचारमा संलग्न चिकित्सक डा रोहित यादवले बताउनुभयो । शल्यक्रिया गर्न आठ घन्टा लागेको बताइएको छ ।

आठ घन्टा लामो शल्यक्रियापछि उहाँको सफल उपचार भएको बताइएको छ । श्रेष्ठको आठ दिनअघि सफल शल्यक्रिया भएको र अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकले बताएका छन् ।

अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै उपचारमा संलग्न डा यादवले भन्नुभयो, “ग्यास्ट्रिकको समस्याले पेट दुखेको महसुस गरेर जँचाउन अस्पताल आएकी श्रेष्ठको पेटमा इन्डोस्कोपी गर्दा मासु पलाएको थाहा भयो । रोगको लक्षण अनुसार सिटी स्क्यान र एमआरआई गरी थप परीक्षण गर्दा क्यान्सर भएको पत्ता लाग्यो ।”,

चिकित्सकको सिङ्गो टोली र प्रविधिले सुसज्जित अपरेसन थिएटरको मद्दतमा बिएन्डसीमा पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरिएको पनि उहाँले बताउनुभयो । पछिल्लो समयमा बिएन्डसीले उपचार सेवामा प्राप्त गरेको लोकप्रियता र सफलतापछि श्रेष्ठको जटिल प्रकृतिको सफल शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जिकिर गर्नुभयो ।

उहाँले यही प्रकृतिको शल्यक्रिया गर्न भारतका ख्यातिप्राप्त अस्पतालले १५ लाख भारु लिने र नेपालमा पनि रु १२ लाखदेखि १५ लाख खर्च हुने गरे पनि आफूहरुले रु दुई लाखभन्दा कम शुल्कमा उहाँको उपचार गरिएको जानकारी दिनुभयो ।

विभिन्न औषधि उत्पादक कम्पनीसँग सहकार्य गरी शल्यक्रियामा आवश्यक सामग्री र औषधि निःशुल्क प्राप्त गरेकाले बिरामीको परिवारले ठूलो धनराशि खर्च गर्न नपरेको डा यादवले बताउनुभयो । “श्रेष्ठ परिवार विपन्न वर्गको रहेको तथा श्रीमान् र छोरा वैदेशिक रोजगारीमा रहेकाले नेपालमा तत्काल उपचार खर्च जुटाउन असम्भव भएको पाएपछि हामीले बिरामीलाई बचाउनु नै डाक्टरको पहिलो कर्तव्य ठानेर उपचार गरेका हौंँ”, डा यादवले भन्नुभयो ।

अस्पतालका विशेषज्ञ सर्जन डा यादवसहित डा वासुदेव बास्कोटा, डा रवीनरत्न रञ्जितकार, एनेस्थेसियोलोजिस्ट प्रा डा सङ्गीता भट्टाचार्य, डा राजु श्रेष्ठ, डा निरु नेपाल, डा सुमोल थापालगायतको टोलीले उपचार गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताउनुभयो ।

बिर्ता सिटीमा निःशुल्क हेमोडायलासिस
सरकारले निःशुल्क उपलब्ध गराउने भनेको मिर्गौैला रोगीका लागि निःशुल्क हेमोडायलासिस सेवा अब बिर्तामोडमा रहेको पूर्ण–टुङ्क बिर्ता सिटी हस्पिटलबाट प्रारम्भ गरेको छ ।

स्वास्थ्य मन्त्रालय र हस्पिटलबीच सम्झौता भएसँगै सो सेवा सोमबारदेखि निःशुल्क उपलब्ध गराउन सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार बस्नेतले बताउनुभयो । विसं २०७१ देखि अस्पतालले पूर्वमा पहिलो पटक निजी क्षेत्रबाट मिर्गौला रोगीका लागि हेमोडायलासिस सेवा प्रदान गर्दैआएको थियो । तीन यन्त्र राखेर अस्पतालले दैनिक १०–१२ मिर्गौला रोगीको हेमोडायलासिस गर्दै आएको छ । हाल ४५ जनाले हप्तामा दुईदेखि तीन पटकसम्म सो सेवा लिइरहेको डा बस्नेतले जानकारी दिनुभयो ।

झापामा दिन प्रतिदिन मिर्गौला रोगीको सङ्ख्या थपिँदै गएको र २० देखि ३० वर्ष उमेर समूहका पाँच–छ जनाले नियमित हेमोडायलासिस गर्दै आएको छ । “मधुमेह र रक्तचापका रोगीमा मिर्गौला छिट्टै बिग्रने समस्या देखिएको छ”, डा बस्नेतले भन्नुभयो–“नेपालको कुल जनसङ्ख्याको ९ प्रतिशत मानिसमा यो समस्या छ, विशेषगरी खानपानमा ध्यान नदिँदा मिर्गौला चाँडै बिग्रन्छ ।”
अस्पतालमा बिरामीको चाप बढेको र सेवालाई थप प्रभावकारी बनाउन केही दिनभित्रै अस्पतालले अर्को पनि यन्त्र सञ्चालनमा ल्याउन लागेको डा बस्नेतले जानकारी दिनुभयो । झापामा यसअघि मिर्गौला रोगीका लागि निःशुल्क हेमोडायलासिस सेवा भद्रपुरमा रहेको ओमसाई पाथीभरा अस्पतालले उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्