Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौंमा फोहरबाट ग्याँस उत्पादन



काठमाडौँ महानगरपालिकाले फोहरबाट बायोग्यास निकाल्न शुरु गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रूपमा रहेको बायोग्यास उत्पादन विधिवत् रूपमा आजबाट सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ ।

यहाँ आज आयोजित कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरूपमा फोहर व्यवस्थापन गर्न सके यहाँको धेरै समस्या समाधान हुने बताउनुभयो । यसबाट जैविक फोहर व्यवस्थापनका लागि पनि ठूलो सहयोग पुग्ने बताउँदै उहाँले आफ्नो घर र सहर सफा राख्नु नगरवासीको कर्तव्य रहेको औँल्याउनुभयो । कामपा उपप्रमुख हरिप्रभा खड्गीले परम्परागत सोचमा परिवर्तन ल्याई फोहर व्यवस्थापनको दिगो कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

कामपाका कार्यकारी अधिकृत ईश्वरीराज पौडेलले फोहरलाई ऊर्जाका रूपमा विकास गर्नका लागि कामपाले सुरु गरेको अभियानलाई सार्थक रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । युरोपेली सङ्घ नेपालका लागि राजदूत रिन्जे टिरिन्कले काठमाडौँलाई विश्वसामु सुन्दर सहरका रूपमा चिनाउन अत्यावश्यक रहेकामा जोड दिनुभयो ।

एकीकृत दिगो फोहरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि कामपाको २० प्रतिशत र युरोपेली सङ्घको ८० प्रतिशत गरी रु एक करोड ८२ लाख लगानी गरिएको छ । यसका लागि तीन मेट्रिक टन जैविक पदार्थबाट दैनिक ३०० किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुनेछ । सो परियोजना २०७० चैत १८ गतेदेखि सुरु गरिएको हो । सो परियोजनाको मुख्य लक्ष्य फोहरको स्रोत घटाउने तथा पुनःचक्रीय विधिबाट फोहरको प्रयोगसँगै फोहर नफाली आयआर्जनका लागि रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिनु हो । रासस

प्रतिक्रिया दिनुहोस्