रक्त क्यान्सरले थलिएका जयन्तको उपचारमा सघाउन परिवारको याचना
बुढेसकालको सहारा भन्ठानेको छोरो रक्त क्यान्सरबाट ग्रसित भएपछि बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीकी दुर्गा बमलाई खाएको एक गाँस पनि आङ लाग्दैन ।
छोराको चिन्ताले खाना खानु नखानु एकै सरह भएको छ उहाँलाई । चौध वर्षीय छोरा जयन्त बम रक्त क्यान्सरबाट पीडित भएपछि उपचारमा सहयोग गरिदिन उहाँले आग्रह गरिरहनुभएको छ । विगत १८ महिनादेखि जयन्तको काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको आमा दुर्गाले जानकारी दिनुभयो ।
विसं २०७२ को फागुन महिनाअघिदेखि बिरामी भएका जयन्तलाई शुरुमा घरमै राखेर उपचार गरिएको थियो । घरायसी उपचारले निको नभएपछि डडेल्धुराको एक क्लिनिकले ब्लड क्यान्सर भएको भनेर काठमाडौँस्थित कान्ति बाल अस्पतालमा लैजान सुझाएको थियो । विसं २०७२ को फागुनमा उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गराएपनि पैसा नभएर बीचमै उपचार गर्न छाडेर उहाँहरु घर फर्किनुभएको थियो । जयन्तलाई हाल पुनः कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।
एक वर्षदेखि कान्तिमा उपचार गराइरहेका जयन्तको उपचारका लागि उहाँका परिवारले भएको सम्पत्ति, जग्गा जमिनसमेत बिक्री गरेका छन् । “हालसम्म छोराको उपचारमा रु सात लाख खर्च भइसकेको छ,” उहाँले दुखेसो पोख्दै भन्नुभयो – “भएको जति सम्पत्ति सबै बिक्री गरिसकें । जग्गा जमिन केही बाँकी छैन ।”
“जयन्तलाई पूर्णरुपमा निको पार्न तीन वर्ष दुई महिना लगातार उपचार गराउनुपर्ने र त्यसका लागि रु २० लाख खर्च लाग्ने भनेको छ,” उहाँले भन्नुभयो – “चिकित्सकले जयन्तको तीन वर्षसम्म नियमितरुपमा अस्पतालमै राखेर उपचार गराउनुपर्ने भनेपछि खर्च जुटाउन समस्या भएको छ ।”
“छोराको उपचारमा सबै सम्पत्ति सकियो,” जयन्तकी आमा दुर्गाले भन्नुभयो – “उपचारमा ठूलो रकम लाग्ने भयो । छोरोको जीवन रक्षाका लागि सहयोगी सङ्घसंस्था र व्यक्तिसँग आग्रह गर्दछु ।”
एक वर्षदेखि छोरोको उपचारमा काठमाडौँ बस्दैआउनुभएका दुर्गाले आर्थिक समस्याले पिरोल्न थालेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो – क्यान्सर पीडित छोराको उपचार गर्न नसकेर एकपटक घरमा समेत लिएर गएकी हुँ । काठमाडौँमा पानीसमेत किनेर खानुपर्छ । घरको सम्पत्ति सबै उपचारमै सकियो ।”
जयन्तमा विसं २०७२ फागुन अगाडि हातखुट्टा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, शरीर भारी हुनेलगायतका लक्षण देखा परेका थिए । यस्ता लक्षण देखा पर्दा शुरुमा घरमै राखेर उपचार गरिएको थियो । स्थानीय स्वास्थ्य चौकीको औषधिले सञ्चो भएन । पछि डडेल्धुराको एक क्लिनिकले रक्त क्यान्सर भएको ठम्याएर एक दुई दिनभित्रै कान्ति बाल अस्पतालमा लैजान सुझाव दिएको थियो । कान्तिमा आएपछि जयन्तलाई रक्त क्यान्सर भएको पुष्टि भयो ।
अस्पताल भर्ना भइसकेपछि शुरुका दिन जयन्तलाई दिसापिसाव गर्न पनि झोलामा हालेर लैजानुपर्ने बाध्यता रहेको आमा दुर्गाले बताउनुभयो । उहाँका अनुसार जयन्तलाई आजभोलि केही सञ्चो भएको छ ।
बैतडीको पुर्चौडीस्थित मेरो निमाबिमा ८ मा पढिरहेका जयन्तले गत वर्ष कक्षा ८ को परीक्षासमेत दिन पाएनन् ।
छोराको उपचारका लागि भारत र नेपालका विभिन्न चहार्दाचहार्दै जायजेथा सकिएपछि खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका बम परिवारले छोराको जीवन रक्षाका लागि सहयोगको याचना गरेका हुन् ।
जयन्तको उपचारमा सहयोग गर्न चाहनेलाई जयन्तको बुबाको नाममा नबिल बैंक कुलेश्वर, काठमाडौँ शाखामा रहेको खाता नम्बर ३११००१७५०५०१७ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।
अमेरिकाबाट सहयोग
रक्त क्यान्सरले पीडित बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीका १४ वर्षीय जयन्त बमको उपचारका लागि अमेरिकाको टेक्सासमा बस्दै आएका गैरआवासीय नेपालीले स्थापना गरेको सुदूरपश्चिम समाजले आर्थिक सहयोग गरेको छ ।
समाजका सदस्य प्रेम शाहीले क्यान्सर पीडित जयन्तकी आमा दुर्गालाई रु ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको समाजकी सचिव गुड्डी भण्डारीले बताउनुभयो ।
केही महिनाअघि मात्र स्थापना भएको सुदूरपश्चिम समाजले गरेको सहयोगले जयन्तको उपचारका लागि थोरै भए पनि सहयोग पुग्ने दुर्गाले बताउनुभयो । सुदूरपश्चिमका जनताको शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधामा पहुँच पु¥याउन र त्यहाँका भाषा र संस्कृतिको जगेर्ना गर्न स्थापित आफ्नो संस्थाका तर्फबाट क्यान्सर पीडित बालकको उपचारमा सहयोग गर्न पाएकामा खुशी लागेको सचिव भण्डारीले बताउनुभएको छ । रासस