Logo
|
Thursday 18th April 2024
Logo

epaper

जर्मन राजदूतबाट १७ स्वास्थ्य चौकी भवन हस्तान्तरण



वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड) को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको छ ।

जिल्लाका विभिन्न स्थानमा जिआइजेडले निर्माण गरेका भवनको साँचो स्वास्थ्य मन्त्रालयका विशेषज्ञ प्रमुख डा विनोदमान श्रेष्ठलार्ई नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत ज्याकलिन ग्रोथले प्रदान गर्दै हस्तान्तरण गर्नुभएको छ ।

मंगलबार मेघाङ गाउँपालिका–२ बुङताङमा बुङताङ स्वास्थ्य चौकीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा जिआइजेडले निर्माण गरेका १७ स्वास्थ्य चौकीको साँचो ग्रहण गर्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्रेष्ठले विनाशकारी भूकम्पले क्षति पु¥याएपछि अस्थायी संरचनामा सञ्चालन हुँदै आएको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

नुवाकोटमा रहेका ७५ स्वास्थ्य संस्थामा ३० वटामा पूर्णरुपमा क्षति, २० वटा आंशिक तथा बाँकीसमेत प्रभावित भएकाले विभिन्न संस्थाको साझेदारीमा पुनःनिर्माण जारी रहेकाले स्वास्थ्य सेवा सुधार हँुदै आएको उहाँले बताउनुभयो ।

जर्मनीका कार्यवाहक राजदूत ग्रोथले भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि जर्मन सरकारले जनाएको प्रतिबद्धताअनुसार नुवाकोटमा रु आठ करोड ४९ लाखको लगानीमा निर्माण गरेको १७ स्वास्थ्य संस्थाको सहीरुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भूकम्पपछि अव्यवस्थित भएको नागरिकको दैनिकी सामान्य बनाउन स्वास्थ्य संस्था र शैक्षिक संस्थाको निर्माणसहित जीविकोपार्जनमा समेत सहयोग पु¥याउन जिआइजेडबाट नुवाकोट तथा धादिङ जिल्लामा दुई हजार युवालाई भवन निर्माण ९कालीगढ० सम्बन्धी तालिम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

जिआइजेडमार्फत निर्माण गरिएको भवनमा प्रसूति, परिवार नियोजन, नेपाल सरकारबाट उपलब्ध भएका विभिन्न ३८ प्रकारका निःशुल्क औषधि, खोप कार्यक्रमलगायत स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा सञ्चालन गर्न नौकोठाको आधुनिक संरचना रहेका छन् ।

नुवाकोटका साविक १६ गाविसका १७ स्थानमा निर्माण गरेको स्वास्थ्य चौकीमा जनशक्ति र उपकरण अभाव भएकाले त्यसको व्यवस्थापन मिलाउन जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख वसन्त अधिकारीले मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो ।

जिआइजेडको पुनःस्थापना कार्यक्रममार्फत नुवाकोटमा स्वास्थ्य र विद्यालयको भवन निर्माणसँगै कालीगढ तालिमसमेत सञ्चालन भइरहेको संस्थाका नुवाकोट संयोजक सिद्धार्थ शर्माले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल, त्रिशूली (नुवाकोट)को ५० श्यया क्षमताको प्रि–फ्याब्रिकेटेड भवनसमेत जिआइजेडको सहयोगमा निर्माण गरी यसअघि नै हस्तान्तरण भइसकेको छ । अन्य स्थानका स्वास्थ्य संस्थाका भवन निर्माणको प्रक्रियामा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्