Logo
|
Monday 25th November 2024
Logo

epaper

अस्पताल पुग्न भ्याउँदैनन् दुर्गमका बिरामी



 जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–२ निवासी हिक्मतनाथ योगीको उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा बाटामै मृत्यु भयो । शरीरमा घाउ खटिरा निस्केर बिरामी परेका योगी अस्पताल पुग्नै सकेनन् । पेट दुख्ने समस्या भएपछि जिल्ला अस्पताल आउँदै गर्दा सोरु गाउँपालिका–६ का ३२ वर्षीय हर्क लावडको पनि केही दिनअघि आधी बाटोमा नै मृत्यु भयो ।

बिरामी परेपछि समयमा उपचार नपाएकै कारण ज्यान गुमाउनेमा यी दुईजना पछिल्लो उदाहरण मात्र हुन् । ग्रामीण क्षेत्रका आम नागरिकको पीडा यस्तै छ । जिल्लाको दुर्गम क्षेत्रबाट सदरमुकाम ल्याइँदै गर्दा यसअघि धेरै बिरामीले ज्यान गुमाएका छन् । जिल्लामा २४ वटा स्वास्थ्य चौकी छन् । एउटा पन्ध्र शै्याको अस्पताल र खत्याड गाउँपालिकामा प्राथामिक स्वास्थ्य केन्द्र छ । तर, सदरमुकामबाहिरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटिँदा दुर्गमका बिरामी अकालमै ज्यान गुमाउन बाध्य छन् ।

सामान्य रुघा खोकी लाग्दासमेत गाउँमा सिटामोल पाइँदैन । सरकारले स्वास्थ्य चौकीबाट ४० किसिमका औषधि निःशुल्क प्रदान गर्छ तर स्वास्थ्य चौकीमा कर्मचारी भेट्नै मुस्किल छ ।
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहँुदा सामान्य औषधिसमेत नपाउने गरेको स्थानीयले बताए । ‘सामान्य रुघा खोकी लाग्दासमेत गाउँमा सिटामोल पाइँदैन,’ एक स्थानीयले भने, ‘सरकारले स्वास्थ्य चौकीबाट ४० किसिमका औषधि निःशुल्क प्रदान गर्छ भन्ने सुनेका छौं, हामीले पाउन त परको कुरा स्वास्थ्य चौकीमा कर्मचारी भेट्नै मुस्किल छ ।’

जिल्लाभर नेपाल सरकारले करोडौंको लगानीमा ११ वटा प्रसूतिगृहसमेत निर्माण गरेको छ । तर, प्रसूतिगृहमा राम्रो सेवा नभएको भन्दै ग्रामीण क्षेत्रका गर्भवती जिल्ला अस्पताल पुग्ने गरेका छन् । एक साताअघि सोरु गाउँपालिका–१ ख्याल्च गाउँकी मयसरा बुढा डेढ घण्टा हिँडेर पुगिने कच्चेगाउँमा रहेको प्रसूतिगृहमा नगई जिल्ला अस्पतालतर्फ हिँडिन् । नन्दको साथमा हिँडेकी उनले आधा बाटोमै बच्चा जन्माइन् । उनले भनिन्, ‘प्रसूतिगृहमा जानु र नजानुको केही अर्थ छैन ।

त्यसैले अस्पताल नै हिँडेको तर पुग्नै भ्याइन ।’ श्रीमान् अर्जुन र उनका साथीहरू सुत्केरी भएको स्थानबाट मयसरालाई बोकेर जिल्ला अस्पताल पु¥याए । ‘मलाई घर नजिक रहेको प्रसूतिगृहबाट प्रदान गरिने सेवामा विश्वास नलागेपछि म जिल्ला अस्पतालमा जान घरबाट हिँडे तर बीच बाटोमा नै सुत्केरी भएँ । व्यथा लाग्दा बाटोमा नै मर्ने भएँ भन्ने सोचेकी थिएँ तर भाग्यले बाँचें,’ मयसराले भनिन् । मयसरामात्र हैनन्, ग्रामीण क्षेत्रका अधिकांश गर्भवती महिला घरमा नै सुत्केरी हुने गरेका छन् भने कतिपयले स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनुपरेको छ ।

‘घरबाट गर्भवती श्रीमती जिल्ला अस्पताल आउन हिँडेको खबर आएपछि बाटोमा नै केही हुने हो कि भन्ने चिन्ताले साथीलाई लिएर गएँ तर म पुग्दा बाटोमा नै सकुशल सुत्केरी भइसकिछन्,’ मयसराका श्रीमान अर्जुनले भने । दुई वर्षअघि उनकै छिमेकी गाउँ बुम्चकी महिला स्वास्थ्य स्वयंसेविका उज्याली बुढाको सुत्केरी बेथा लागेर जिल्ला अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको घटनाले अर्जुनलाई झस्काइरहन्छ । अब स्थानीय तहमा जनप्रतिनिधि आएकाले ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था गुणस्तरीय हुनेमा उनलाई झिनो आसा छ ।

ग्रामीण क्षेत्रका स्थानीयले पहिलेजस्तो बिरामी पर्दा उपचारमा समस्या झेल्नु नपरेको जिल्ला अस्पतालको भनाइ छ । अहिले सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधि पर्याप्त रहेको तथा स्थानीय बिरामी पर्दा स्वास्थ्य संस्थामा नआएर निजी मेडिकलमा उपचार गराउन जाने, थप समस्या बल्झिँदामात्र स्वास्थ्य संस्था पुग्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। जितेन्द्र कडेंलले बताए । स्वास्थ्य समस्या पर्र्नेबित्तिकै स्वास्थ्य संस्थामा नआउने र दुर्घटना भइसकेपछि स्वास्थ्य संस्थालाई दोष लगाउने गरेको कडेंलको भनाइ छ ।

अहिले जिल्ला अस्पतालमा हर्निया, हाइड्रोसिल, एपेन्डिक्स र प्रसूति शल्यक्रियाको सेवा प्रदान हुने गरेकाले समयमा नै जिल्ला अस्पताल आउने बिरामीको उपचारमा कुनै समस्या नहुने उनले दाबी गरे ।-नागरिक पोष्टबाट

प्रतिक्रिया दिनुहोस्