Logo
|
Thursday 25th April 2024
Logo

epaper

केसी पक्षद्वारा वार्ता बहिष्कार, स्वास्थ्य स्थिति जटिल बन्दै



अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिले सरकार संवेदनशील नभएको भन्दै बुधबारको वार्ता बहिष्कार गरेका छन्। अनशनको दसौं दिन बुधबारका लागि तय भएको छैटौं वार्ता पनि अघिल्लाजस्तै उपलब्धिविहीन हुने देखेपछि उनीहरूले बहिष्कार गरेका हुन्। ‘वार्ता औपचारिकबाहेक नहुने देखेपछि औचित्य देखेनौं,’ केसी पक्षीय वार्ता टोलीका सदस्य डा। अभिषेकराज सिंहले भने, ‘सरकारी टोलीले वार्ताका लागि मात्रै वार्ता गरिरहेको छ, उनीहरूसँग माग पूरा गर्ने म्यान्डेट पनि छैन।’

केसीका प्रतिनिधिले विज्ञप्ति जारी गर्दै ठोस प्रगतिको गृहकार्यसहित सरकारी वार्ता टोली आएमा मात्रै वार्तामा बस्ने जनाएका छन्। चिकित्सा शिक्षा ऐनमा मागअनुसारको सुधार हुने अवस्था नभएसम्म ‘कर्मकाण्डका रूपमा हुने वार्ता’ले समस्या समाधान नगर्ने उनीहरूले बताएका छन्। संसदीय समितिमा रहेको विधेयकमा चलखेल भएको पनि उनीहरूले बताएका छन्। चलखेलको विरोध र केसीको स्वास्थ्यप्रति उदासीनताको विरोधमा शनिबार माइतीघरमा बृहत् प्रदर्शन गर्नेसमेत केसीका प्रतिनिधिले बताएका छन्।

बहिरंग सेवा बहिष्कार
अनशनरत डा। केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले बुधबार पठनपाठन र बहिरंग सेवा बहिष्कार गरे। नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका महासचिव डा। अमितकुमार यादवले बिहीबार बैठक गरेर विरोधका थप कार्यक्रम ल्याउने बताए। डा। केसीले भने बहिरंग सेवा बहिष्कार नगर्न आग्रह गरेको उनले बताए।

‘हामीले सरको ज्यानको रक्षा र चिकित्सा शिक्षा सेवामा आम नेपालीको पहुँच सुनिश्चित गर्नका लागि आन्दोलन गरेका हौं, यसैले उहाँको आग्रह मानेनौं,’ यादवले भने। शिक्षण अस्पतालमा करिब ३ सय ५० आवासीय चिकित्सक छन्।

केसीको स्वास्थ्य जटिल
अनशनको दसौं दिन बुधबार डा। केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। स्वास्थ्य शिक्षा र सेवामा सुधारको माग गर्दै डा। केसी ११ औं पटक आमरण अनशन बसिरहेका छन्। ‘उनलाई सामान्य संक्रमणले समेत सिकिस्त पार्न सक्ने जोखिम बढेको छ,’ केसीको स्वास्थ्य निगरानीमा संलग्न डा। दिव्यासिंह शाहले भनिन्। उनका अनुसार केसीको रगतमा भएका सेतो रक्तकणिकाको संख्या कम हुन थालेको छ। उनलाई निरन्तर अक्सिजन चाहिन थालेको छ भने पिसाबमा एसिटोन देखिएको छ।
‘रक्तचापसमेत कम भइरहेकाले डा. केसीलाई कुनै पनि समय मुटुको समस्या देखिने जोखिम बढेको छ,’ शाहले भनिन्, ‘अब जुनसुकै समय सघन उपाचारका लागि आईसीयू लग्ने आवश्यकता देखिन सक्छ।’ केसीलाई रिंगटा लाग्ने, जीउ बाउडिनेलगायत समस्या देखिइसकेका छन्। उनको शरीरमा क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियम लगायतका इलेक्ट्रोलाइटको मात्रा पनि कम हुन थालेको छ। शिक्षण अस्पतालको आईसीयूका कोअर्डिनेटर डा। सुभास आचार्य भन्छन्, ‘शरीरमा पोटासियम र म्याग्नेसियमको स्तर कम हुँदा मुटुको चालमा असर पर्छ। सोडियम र क्याल्सियम कम भए मस्तिष्कमा असर पर्ने, होस कम हुने र छारे आउन सक्छ।’ यस्तो स्थितिमा मुटुको चालमा गडबडी भएर ‘कार्डियाक अरेस्ट’सम्म हुन सक्ने सम्भावना औंल्याउँदै डा। आचार्य भन्छन्, ‘उहाँको स्वास्थ्यस्थितिप्रति सबैले चासो दिनु आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्