आमाको उपचारका लागि सिलिगुडी पुगेका नेपाली पक्राउ
सिलिगुडी प्रहरीद्वारा दंगा भड्काएको आरोपमा मंगलबार साँझ पक्राउ परेका नेपाली नागरिक उदयहाङ फागो आमाको उपचारका लागि आएको पारिवारिक स्रोतले जनाएको छ ।
इलाम जिल्लाको सूर्योदय नगरपालिका फिक्कल निवासी ३५ वर्षीय फागोलाई प्रहरीले सिलिगुडी नजिककैको सालवारीस्थित डनवस्को स्कुल परिसरबाट पक्राउ गरेको थियो । उदयका दिदी साधना फागोका अनुसार आमा गंगामायाको उपचारका लागि उनी आएका थिए । परिवारका अनुसार गोर्खाल्याण्ड आन्दोलनमा फागोको कुनै संलग्नता छैन । निर्दोष व्यक्तिलाई बिनाप्रमाण पक्राउ गरिएको पारिवारिक स्रोतले बताएको छ ।
फागोलाई हिजै सिलिगुडी अदालत पेस गरी अनुसन्धानका लागि १२ दिन प्रहरी हिरासतमा राखिने प्रहरीले जनाएको छ । फागोसँगै पक्राउ परेका सालवारी निवासी नितिन क्षेत्री भने गोर्खा जनमुक्ति मोर्चाका सुकुना क्षेत्रका सचिव हुन् ।-स्रोतःकान्तिपुर