“डाक्टर” कस्ता हुन् जसको बिदाइमा रोकिएन आँसु ?
त्यो बेला यस्तो थियो । बझाङको जिल्ला अस्पतालमै पुगेर पनि सुत्केरी हुन नसकेर वर्षमा ५÷७ जनाले ज्यान गुमाउँथे । अस्पताल नपुगेर ज्यान गुमाउनेको तथ्यांकको ग्राफ त अहिले पनि लामै छ । उपचार पाए समयमै ठीक हुने एपेन्डिक्स जस्ता रोगहरू प्राणघातकजस्तै थिए । किनकि बझाङमा उपचार सम्भव थिएन । बर्सेनि यस्ता रोगले मर्नेको संख्याको कुनै हिसाबकिताब थिएन ।
अस्पतालको अवस्था अस्तव्यस्त थियो । यस्तो अवस्थामा ३ वर्षअघि बझाङ पुगेका डाक्टर पूर्ण घर्ती सयौं यस्ता बिरामीका लागि ‘देउता’ सावित भए । निी वर्षको अवधिमा उनले १ सय ५० भन्दा बढी सुत्केरी हुन नसकेका महिलाको पेट काटेर बच्चा मात्र निकालेनन् अकाल मृत्युबाट आमाहरूलाई बचाए ।
केही घण्टाभित्रै अप्रेसन नगरे मृत्यु हुन सक्ने एपेन्डिक्सका सयभन्दा बढी बिरामीको शल्यक्रिया गरेर पुनर्जीवन दिए । पाठेघरमा मासु पलाएका, पाठेघर बिग्रिएर फाल्नुपर्ने अवस्थामा पुगेका तर खर्च अभावमा रोग पालेर बसेका २ सयभन्दा बढी महिलाको शल्यक्रिया गरे ।
हर्निया, आन्द्रामा घाउ भएका, आन्द्रा नै प्वाल परेका करिब ३ सयभन्दा बढीलाई जिल्लामै शल्यक्रिया गरेर निको पारे । तीन वर्षको छोटो अवधिमै उनी गरिबका भगवान् भनेर चिनिए । उनलाई कति बिरामीको शल्यक्रिया गरे भन्ने यकिन त याद छैन त्यो संख्या हजारभन्दा बढी नै हुनुपर्ने बताउँछन् । बझाङीहरूका प्यारा भएका तिनै चिकित्सकको बिदाइ समारोहमा उपस्थित धेरैका आँखा रसाए । एकछिन जिल्ला अस्पताल परिसरमा रुवाबासी नै चल्यो । बिदाइको फूलमाला लगाइरहेका डाक्टर घर्ती पनि सम्हालिन सकेनन् ,भावुक भए ।
‘सिंगो जिल्ला नै परिवारजस्तै भइसकेको रहेछ,’ उनले भने, ‘३ वर्षको अवधिमै यति धेरै भिजेको रहेछु भन्ने थाहै भएन । बिदाइ हँुदा नरमाइलो महसुस भएको छ ।’ एक गैरसरकारी संस्था निक्स साइमनमार्फत बझाङ अस्पतालमा काम गर्न आएका उनले भने, ‘जहाँ गए पनि मेरोकाम बिरामीको सेवा गर्ने हो । त्यही गरेबापत बझाङले मलाई धेरै माया दियो ।’
बझाङ अस्पताल प्राविधिक र प्रशासनिक अस्तव्यस्तताको नमुनाका रूपमा जिल्लाभर चर्चित छ । कतिपय अवस्थामा अस्पताल प्रशासनले गैरसरकारी क्षेत्रको डाक्टर भनेर असहयोग र घोचपेच गरेको तितो अनुभवसमेत घर्तीसँग छ । यद्यपि उनको सेवाभावमा कहिले पनि कमी नआएको जिल्ला स्वास्थ्य कार्यालयका नायब सुब्बा जनकराज जोशी बताउँछन् ।
‘बिरामीको सेवाका लागि जस्तोसुकै परिस्थितिमा पनि २४ घण्टा तयार हुने, कठिन खालको शल्यक्रिया गर्नका लागि पनि साहस जुटाइहाल्ने, अत्यन्तै सरल स्वभावका यस्ता चिकित्सक मैले आजसम्म देखेको छैन,’ उनले भने, ‘उहाँको जस्तै योग्यता भएका डाक्टर हिजो पनि आए, भोलि पनि अरू आउलान् । तर उहाँकै जतिको सेवाभाव भएको मान्छे विरलै हुन्छन् ।’
डाक्टर घर्तीले नै शल्यक्रिया गरेर पुनर्जीवन पाएका एक जना स्थानीय विष्णु ऐडीले उनको सेवाभावको चर्चा गदै भने, ‘बिरामीका कुरुवा र आफन्तभन्दा पनि बढी हेरचाह गर्ने, बिरामीको सेवामा निद्रा र भोक पनि त्याग गर्न सक्ने उहाँजस्तो डाक्टर मैले अहिलेसम्म देखेको थिएन ।’
निक्स साइमन भन्ने संस्थासँगको सम्झौता अवधि सकिएपछि डाक्टर घर्तीको विदाइ गरिएको बताउँदै जिल्ला अस्पताल प्रमुख डाक्टर अनुप रेग्मीले भने, ‘डाक्टर घर्तीले बझाङ र जिल्ला अस्पताललाई लगाएको गुन कहिले नविर्सिने खालको छ । उच्च मेहनेत र सेवाभाव भएका घर्ती हामी सबैको प्रेरणाको स्रोत पनि हुनुहुन्छ ।’
घर्तीको बिदाइपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्न सक्ने योग्य डाक्टरको अभाव भएको छ । निक्स साइमन नामक गैरसरकारी संस्थाले नै उहाँको स्तरको योग्य चिकित्सक भदौ महिनाभित्र पठाउने जानकारी आफूलाई प्राप्त भएको अस्पताल प्रमुख डाक्टर रेग्मीले बताए ।
कान्तिपूर दैनिकबाट