Logo
|
Friday 26th April 2024
Logo

epaper

व्याक्टेरियल मेनिन्जाइटिस्



मेनिन्जाइटिस मस्तिष्कसम्बन्धि रोग हो । टाउकोभित्र मस्तिष्क छोप्ने एक खालको मेनेञ्जेज नामको पदार्थमा हुने संक्रमणलाई मेनिन्जाइटिस् भनिन्छ । मेनिन्जाइटिस धेरै किसिमका हुन्छन् । तर व्याक्टेरियाबाट हुने मेनिन्जाइटिस् धेरैलाई देखिने समस्या हो । यो पायोजेनिक र ट्युवरकुलस गरी किसिमको हुन्छ । प्रायः भाइरल, केमिकल, फङ्गस एवं प्यारासायटिकका कारण मेनिन्जाइटिस् हुने गर्छ । प्रदूषित वातावरण, रगत, पिनास वा कानको संक्रमणले यस्ता किटाणुहरु मेनेन्जेजमा पुग्छन् र मेनिन्जाइटिस्को समस्या शुरु हुन्छ । क्यान्सरका कारण पनि कहिलेकाँही मेनिन्जाइटिस्को समस्या देखिनसक्छ ।
लक्षण
अचानक धेरै टाउको दुःख्ने र बान्ता हुने, ज्वरो आउने, गर्धन दुःख्ने मेनिन्जाइटिसका प्रारम्भिक लक्षण हुन् । कहिलेकाँही धेरै गर्धन दुखेर मुन्टो नै अह«रो हुनसक्छ । समयमा उपचार नपाएमा बेहोस भएर छारे रोग जस्तो समस्या हुनसक्छ । यसका साथै व्यक्तिमा प्यारालाइसिस , आँखा दुःख्ने, कान नसुन्ने र अपाङ्गताको समस्यासमेत हुनसक्छ । त्यसैले मेनिन्जाइटिसलाई गम्भिर समस्याको रुपमा लिनुपर्छ ।
मेनिन्जाइटिस्का कारण ३० प्रतिशतको मृत्यू हुन्छ भने करिब २० प्रतिशतमा अपाङ्गता हुने सम्भावना रहन्छ । ग्रामीण क्षेत्रतिर प्रायः न्यूमोकोकस किटाणुबाट मेनिन्जाइटिस् हुने गरेको पाइन्छ । यस प्रकारको मेनिन्जाइटिस भ्याक्सिन लगाएर बच्न सकिन्छ । तर, यसबाहेक अन्य मेनिन्जाइटिस्को भ्याक्सिन नेपालमा उपलब्ध हुन सकेको छैन ।
पहिचान
मेनिन्जाइटिसको शंका लागेमा पहिला सिटीस्क्यान गर्नुपर्छ । ब्रेन हेमरेज एवं ब्रेन ट्युमरमा पनि मेनिन्जाइटिस्को जस्तै लक्षण देखिने भएकाले बिरामीको सिटीस्क्यान गर्न जरुरी हुन्छ । यसबाट पनि रोग पत्ता नलागेमा ढाडबाट पानी निकालेर परीक्षण गर्नुपर्छ । हाम्रो शरीरको स्पाइनल कर्ड मस्तिष्कबाट शुरु भई मेरुदण्डको तल्लो भागसम्म पुगेको हुन्छ । यसरी मस्तिष्कको सम्बन्ध मेरुदण्डको तल्लो भागसम्म पुगेको हुन्छ र मस्तिष्कमा रहेको पानी मेरुदण्डको तलसम्म पुगेको हुन्छ । त्यसैले मेरुदण्डको पानी निकालेर परीक्षण गरिएको हो । त्यो पानीलाई सेरेब्रो स्पाइनल फ्लूड (सिएसएफ) भनिन्छ ।
उपचार/रोकथाम
व्याक्टेरियल मेनिन्जाइटिसको उपचार विशेष प्रकारको एन्टिबायोटिकबाट हुने गर्छ । यसका लागि अस्पताल भर्ना भएर कम्तीमा पनि १४ दिनसम्म नियमित रुपमा सुईमार्फत नशाबाट एन्टिबायोटिक लिनुपर्छ । भाइरल मेनिन्जाइटिसको कुनै पनि औषधि हुँदैन । यसमा सर्पोटिभ जस्तो— आइसियु केयर र पोषण दिएर उपचार गरिन्छ । प्यारासाइटिक र फङ्गस मेनिन्जाइटिस् भएमा औषधि सेवन गर्नुपर्छ । क्यान्सरबाट हुने मेनिन्जाइटिस् सबैभन्दा जटिल किसिमको हुने र यसको ठोस उपचार हुँदैन । कहिलेकाहीँ मेनिन्जाइटिस् दोहोरिन पनि सक्छ । मेनिन्जाइटिस् एक प्रकारको सरुवा रोग हो । व्याक्टेरियल मेनिन्जाइटिस्को लागि खानपान राम्रो र आफू बस्ने घर वरपरपरको वातावरण सफा हुनुपर्छ । प्रायः मेनिन्जाइटिस सुँगुर पाल्ने ठाउँमा धेरै देखिने गरेको छ । त्यसैले वातावरण सफा सुग्घर राख्नुपर्नेमा जोड दिइएको छ । कहिलेकाहिँ टाउकोमा चोट लागेर नाकबाट पानी बगिरहेको अवस्थामा समयमा उपचार नपाएमा पनि मेनिन्जाइटिस् हुनसक्छ । नाकबाट आएको पानी सिधै ब्रेनबाट आएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्