Logo
|
Tuesday 26th November 2024
Logo

epaper

खोसिँदै स्तनपान अधिकार



 

विश्व स्वास्थ्य संगठनका अनुसार दुई वर्षसम्म पूर्ण स्तनपान गराउने आमाको संख्या ६६ प्रतिशत छ । पछिल्ला वर्षमा यो संख्यामा तुलनात्मक रूपले ह्रास आइरहेको छ । कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउन पाएका छैनन् । ग्रामीण भेगका आमाहरू स्तनपानको महत्व र पर्याप्त ज्ञानको अभावमा आफ्ना सन्तानको पूर्ण स्तनपानको अधिकार खोसिरहेका छन् ।

विश्वव्यापी रूपमा चासो, चिन्ता र सरोकारको विषय मानिएको स्तनपानको महत्व र गरिमालाई शिक्षित पुस्ताले नै ओझेलमा पार्दै गइरहेका छन् । केही समयअघि बेलायतको समरसेटको मदर्स युनियन नामक संस्थाका वृद्धा महिलाले आमा बन्न लागेका युवा महिलालाई ऊनबाट बनाइएका स्तन उपहार दिने निर्णय गरे । पछिल्लो समय नयाँ पुस्ताले आफ्ना सन्तानलाई स्तनपान गराउन छोडेपछि चेतना अभिवृद्धि गर्न वृद्ध महिलाले नयाँ जुक्ति निकालेका हुन् ।

बच्चालाई स्तनपानको महत्व कति छ भन्ने कुरा नयाँ पुस्ताका आमाले सिकून् र व्यवहारमा लागू गर्न सकुन् भन्ने मान्यताका साथ सो संस्थाले युवा महिलालाई ऊनबाट बनेको स्तन उपहार दिने निर्णय गरेको हो । मदर्स युनियनकी शिर्ली डिब्सको भनाइमा ‘हाम्रो समाज वरपर बस्ने युवा महिलालाई स्तनपानको महत्व बुझाउन सुरुमा त १५० वटा ऊनीका भेस्ट नै उपहार दिऊँ भन्ने सोचेकी थिएँ, तर साँच्चिकै राम्रो गर्ने हो भने त्योभन्दा विशेष उपहार दिन जरुरी छ भन्ठानेर मैले ऊनीको स्तन बनाएँ ।’

सार्क मुलुकका दुई राष्ट्र भारत र बंगलादेशमा कामकाजी महिलालाई बढीमा ६ महिनासम्मको प्रसूति बिदाको प्रावधान गरिएको छ । नेपालमा पनि सो व्यवस्था गर्नुपर्ने आवाज उठ्न थालेका छन् । निजामती सेवा नियमावली, २०५० को चौधौं संशोधनले प्रसूति बिदाको अवधि ६० दिनबाट बढाएर अन्ठान्नब्बे दिन पुर्‍याएको छ । महिला निजामती कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघिपछि गरी अन्ठान्नब्बे दिन प्रसूति बिदा पाउने, प्रसूति बिदा लिएका महिला कर्मचारीले चाहेको खण्डमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप ६ महिनासम्म बेतलबी बिदा लिन सक्ने व्यवस्था निजामती ऐनमा छ ।

बेतलबी बिदामा बसेको अवधि नोकरी अवधिमा जोडिनेछ र प्रसूति बिदामा बस्दा महिला निजामती कर्मचारीले पूरा तलब पाउने व्यवस्था छ । महिला निजामती कर्मचारीको हकमा लागू भएको यो व्यवस्था सबै सरकारी संघसस्थाहरूमा पूर्णरूपले लागू भइसकेको छैन । एकाध सार्वजनिक संस्थानले प्रसूति बिदा ९८ दिन बनाइसकेको भए पनि अधिकांश संस्थानहरूले ६० दिन नै दिइरहेका छन् ।

स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा ६ महिनासम्म पुर्‍याउन तीव्र पहल सुरु गरेको छ । खासगरी कामकाजी आमाका नवजात शिशुको स्वास्थ्यमा थप सुधारको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले सो पहलको थालनी गरेको हो ।

“आमाको दूध चार वर्षसम्म खाएका बच्चालाई अस्पतालको औषधि खुवाउनुपर्दैन । सामान्य रुघाखोकी लाग्दा घरेलु औषधिले निको हुन्छ । बच्चा फूर्तिला हुन्छन्, निरोगी हुन्छन् । आमाको दूधले रोगसँग लड्ने क्षमता अत्यधिक उत्पादन गर्छ ।

सरकारी निकायका महिलाको हकमा यो प्रावधानले निकै राहत पुर्‍याए पनि निजी क्षेत्रमा कार्यरत महिला कर्मचारी तथा उनका शिशुको हकमा भने प्रभाव न्यून देखिन्छ । स्वास्थ्य मन्त्रालयले तयार पारी व्यवस्थापिका—संसद् सचिवालयमा प्रस्तुत गरेको प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा बढीमा दुई सन्तानको लागि उक्त प्रावधान लागू हुने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनमा १०३ दिन, श्रम नियमावली २०५० ले पारि श्रमिकसहित ९० दिन प्रसूति बिदा पाउने प्रावधान छ । शिशु तथा बाल्यकालीन पोषण रणनीति, २०७३ को प्रावधानअनुसार नै स्वास्थ्य मन्त्रालयले उक्त विधेयकको मस्यौदा तयार गरेको हो ।

स्वास्थ्यकर्मीको भनाइलाई आधार मान्ने हो भने बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो । स्तनपानले सुत्केरी भइसकेपछि रगत जाने प्रक्रियासमेत रोक्न सघाउ पुर्‍याउँछ, स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता बिमार र संक्रमणबाट बचाउँछ, दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।

स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर हुने रोगबाट जोगाउँछ, आमाको दूध जहिले पनि बच्चाको लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ, स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ, कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ । सबैभन्दा ठूलो कुरा स्तनपान गराउन कुनै खर्च लाग्दैन ।

शिक्षित महिला स्तनपानको महत्व थाहा भएर पनि पर्याप्त स्तनपान गराउँदैनन् । कामको बाध्यता एकातिर छ भने काम नभएको बेलामा समेत उनीहरू बच्चालाई स्तनपान गराउन मन गर्दैनन् । अहिलेको युवा पुस्तामा ठूलो भ्रम छ( स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउँछ, शरीरको तौल घट्छ, स्तनको आकार बिग्रन्छ । यस्तो सोचाइ पालेकाहरूले बच्चालाई सकेसम्म स्तनपान गराउँदैनन्, गराए पनि थोरै समय मात्र गराउँछन् । आधुनिक विज्ञानले यो कुरा गलत साबित गरेको छ । पाउडर दूध बनाउने कम्पनीहरूले हरेक आमाहरू स्तनपानको सट्टा पाउडर दूध खुवाऊन् भन्ने चाहन्छन्, जसबाट उनीहरूको व्यापार थप फस्टाउँछ तर बोतलको कृत्रिम दूधको प्रयोग नवजात शिशुको लागि कति हानिकारक छ भन्ने कुरा शिक्षित आमाहरूलाई जानकारी नै छैन ।

मेरा कैयन् साथीहरू कामकाजी नहुँदानहुँदै पनि एकडेढ वर्षभन्दा बढी अवधि आफ्ना सन्तानलाई स्तनपान गराएनन् । कम्तीमा दुई वर्ष स्तनपान गराउनुपर्छ भन्ने मान्यताले उनीहरूलाई छोएन । आपूm आठ घन्टा कार्यालयको काममा खटिए पनि बाँकी समय छोरालाई लगभग चार वर्षसम्म स्तनपान गराएँ । साथीहरूको एउटै गुनासो सुनिन्छ( दूध आउँदैन के खुवाउनु ? कामकाजी भएर पनि चार वर्षसम्म मेरो दूध आउँछ भने घरमै बस्ने ती साथीहरूको दूध कसरी सुक्यो होला ? ल्याक्टोजिन, सेरलेक्स, पाउडर दूध खुवायो त्यसमै ढुक्क मान्छन् उनीहरू ।

बच्चालाई दूध कम खुवाइँदै जाने हो भने आफैं सुक्छ, खुवाइरह्यो भने आउने हो । धेरै बच्चाहरू आमाको लापरबाहीका कारण स्तनपानको अधिकारबाट वञ्चित हुन पुगेका छन् । मैले आफ्नो छोरालाई कुनै दिन ल्याक्टोजिन, सेरलेक्स खुवाइनँ, आफ्नो दूध निरन्तर खुवाएँ । गर्वका साथ भन्छु— चार वर्षसम्म हस्पिटलको औषधि खुवाउनुपरेको छैन, सामान्य रुघाखोकी लाग्दा घरेलु औषधिले निको हुन्छ, फूर्तिलो छ, निरोगी छ, रोगसँग लड्ने क्षमता साँच्चिकै आमाको दूधले उत्पादन गर्दोरहेछ भन्ने विश्वास छ ।

चार वर्षसम्म स्तनपान गराउँदा बच्चा जन्मिनुभन्दा पहिलेको र अहिलेको अवस्थामा केही फरक छैन । भ्रमको पछाडि दगुर्ने युवा पुस्तालाई कसरी व्यावहारिक बनाउने ? पूरा अवधि आमाको दूध खान नपाएका बच्चाहरू बिरामी भइरहने, सामान्य रुघखोकी लाग्दा पनि एन्टिबायोटिक औषधि खुवाउनुपर्ने, भद्दा मोटो देखिने अवस्था आफ्नै छिमेकी बच्चाहरूमा छ । घरका अग्रजहरूले बच्चालाई दूध खुवाउन कर गर्दा पनि बुहारीहरू खुवाउँदैनन् । जानीजानी बच्चाको स्तनपानको अधिकार किन खोस्ने ?

अन्नपूर्ण पोस्ट् दैनिकको विचार पेजबाट

प्रतिक्रिया दिनुहोस्