Logo
|
Wednesday 24th April 2024
Logo

epaper

वीपी कोईराला प्रतिष्ठानमा अज्ञात रोगबाट चार बालबालिकाको मृत्यु



सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा उपचारार्थ ४ जनाको अज्ञात रोगबाट मृत्यु भएको छ ।

मृत्यु हुनेहरु ६ देखि १४ वर्ष उमेर समुहका बालबालिका रहेको बताइएको छ । उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखा परेको बताइएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार, ‘ज्वरो आएर अस्पताल आएको हुन्छन्, डाइग्नोसिस गर्न नपाउंदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक–दुई घण्टामै उनिहरुको मृत्यु भईहाल्छ ।’ त्यसकारण हामीले अहिलेसम्म रोगबारे थाहा पाउन सकेका छैनौ ।

स्क्रबटाइफस, डेंगु, हान्टा भाइरस जस्तै हुनसक्ने चिकित्सकले बताउनु भएको छ । परीक्षण गर्नै नपाई तत्कालै विरामीको मृत्यु भएकाले के रोग हो भन्ने पहिचान गर्न नसकिएको उपचारमा संलग्न चिकित्सकको भनाई रहेको छ ।

साउन १५, २४, ३१ र भदौ १ गते ती बालबालिकाहरु प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका थिए । मृत्यु हुनेहरुमा राजु कार्की इटहरी–१० सुनसरी, प्रितीकुमारी चौधरी कन्चनपुर–१० सप्तरी, प्रशान्त राई थोकशिला–९ उदयपुर र विकल्प राई धरान–१७ का रहेका छन् ।

अनौठो रोगले धमाधम मर्न थालेपछि अस्पतालको रिपोर्टिङ सिस्टम अनुसार मेडिकल रेकर्ड सेक्सनले काठमाडौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्