Logo
|
Thursday 25th April 2024
Logo

epaper

टप्पुवासीको पहिलो आवश्यकताः उपचार



बाढीका कारण टप्पुवासीले पालेका धेरै पशुचौपाया मरेका कारण टप्पु लगायत झापा गाउँपालिकाका धेरै स्थानमा यतिबेला दुर्गन्ध फैलिएको छ । धेरै पशुचौपायालाई बाढीले बगाएर मरेपछि जताततै दुर्गन्ध फैंलिएसँगै सरुवा रोगको खतरा बढेको स्थानीय तर्सला टुडूले बताउनुभयो । उहाँले भन्नुभयो – “यहाँको पहिलो आवश्यकता भनेको औषधि उपचार हो । बाढीबाट जसोतसो ज्यान जोगायौं । अब रोग लाग्यो भने चाहीँ के गर्ने ? न बस्ने घर छ न सुत्ने ओच्छ्यान नै ।” बाढी आउने सूचना आफूहरूले दुई घण्टा अघि नै थाहा पाएपनि मुसलधारे बर्षाका कारण अन्नपात र घरमा रहेको अन्य सामग्रीलाई सुरक्षित गर्न नसकिएको उहाँको भनाइ थियो ।

आपत्कालीन अवस्थाका लागि त्यहाँका सर्वसाधरणले प्रत्येक महिना प्रतिपरिवार २०/२० रुपैयाँ बचत गरेको रकमले दुई दिनसम्म प्राण धानेको कार्यदलकै तुर्सला बताउनुहुन्छ ।

इलामको माई नगरपालिकास्थित मैनाचुलीमा १९७१ सालमा स्थापना भएको जलमापन केन्द्र गत साता माई खोलामा आएको बाढीले बगाएको छ ।

बाढी आउनुभन्दा ५ घण्टा अघिसम्मको सूचना दिनसक्ने जलमापन केन्द्र बगाएपछि अहिले अझ बढी चिन्तित छन् त्यस क्षेत्रका सर्वसाधारण ।

झापा गाउँपालिका–७ निवासी आकृति टुडू भन्नुहुन्छ – “जलमापन केन्द्र भएन भने हामी टप्पुवासी मात्र होइन आसपासका बासिन्दाले पनि बसाइँ सरे हुन्छ ।”

झापासहित इलामको माई र देउमाई नगरपालिका तथा माङ्सेवुङ गाउँपालिकामा बाढी पूर्व सूचना प्रणाली सञ्चालनमा रहेको वरिष्ठ परियोजना अधिकृत राकेशकुमार साहले बताउनुभयो । उहाँका अनुसार झापामा मात्रै १० हजार एक सय ४५ जना मानिसले यसबाट प्रत्यक्ष लाभ लिइरहेका छन् ।

झापामा १५ वटा र इलाममा १० वटा समुदायमा यो परियोजना सञ्चालनमा रहेको छ ।

वर्षेनी कनकाई नदीमा आउने बाढीले झापावासीलाई दुःख दिने गरेपछि उनीहरूले कनकाई नदीमा तटबन्धन गर्न माग गरेका छन् । दुई मुठ्ठी चामल र एउटा त्रिपालले आफूहरूको समस्या समाधान नहुने भन्दै दीर्घकालीन सोचका साथ कनकाई नदीमा बाँध बाँध्न उनीहरूले सरकारसँग माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्