आधा दर्जनमा डेंगु संक्रमण
महोत्तरीको बर्दिबासमा पाँचजनामा डेंगु रोगको संक्रमण देखिएको छ ।
स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय पाँचजनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो ।
संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा नं १ का ३८ वर्षीय किशोर भट्टराई, वडा नं २ की ३० वर्षीया प्रमिला कार्की, वडा नं ५ की ६० वर्षीया खिनमाया पोखरेल र वडा नं १४ का ४० वर्षीय खुरहरि अधिकारी रहेको बर्दिवासस्थित सरकारी अस्पतालका जनस्वाथ्य निरीक्षक मीनबहादुर सेनले बताउनुभयो ।
बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटल र बर्दिबासस्थित सरकारी अस्पतालमा उपचार गराउन गएको समयमा उनीहरूमा सो संक्रमण भएको तथ्य सार्वजनिक भएको जिल्ला अस्पताल महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।
गृहजिल्ला महोत्तरीमा रहनुभएका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले यस्ता महामारीको प्रकोपलाई नियन्त्रण गर्नका लागि प्रमुख यादवलाई निर्देशन दिइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लामा डेंगु परीक्षणका लागि कीट प्रशस्तमात्रामा रहेकाले नियन्त्रणमा यहाँका स्वास्थ्यकर्मी जुटेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताउनुभयो ।
महोत्तरी जिल्ला कालाजार र मलेरिया रोगले ग्रसित रहेको छ । स्वास्थ्यकर्मीले रोगबाट बच्नका लागि स्थानीयवासीलाई वातावरणमा सरसफाइतर्फ विशेषरूपमा ध्यान दिनका लागि आग्रह गरेका छन् । रासस