Logo
|
Saturday 20th April 2024
Logo

epaper

‘केमसान डे’ २०१७ भव्यतासाथ सम्पन्न (फोटो फिचरसहित)



‘केमसानको अभियान गुणस्तरीय स्वास्थ्य सामाग्रीको पहिचान’ भन्ने मुल नाराका साथ १३ औं ‘केमसान डे’ भव्यताका साथ मनाइएको छ । हरेक बर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट केमसान डे अर्थात केमसानको स्थापना दिवस मनाउने गरिएको छ ।

सो अवसरमा केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) ले आज राजधानीमा भव्य प्रभातफेरि कार्यक्रमको आयोजना गर्यो । त्रिपुरेश्वरको चोकबाट निस्केको प्रभातफेरि र्याली सुन्धारा, शहीदगेट, सिंहदरबार, माइततिघर, थापाथलीहुँदै केमसानको कार्यालय युनाइटेड वल्र्ड सेन्टर त्रिपुरेश्वरमा पुगेर समापन भएको थियो । र्यालीमा करिब २ सय भन्दा धेरै केमिकल सर्जिकलसम्बन्धि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

मुलुकमा करिब ५ सय भन्दा धेरै केमिकल र सर्जिकलसम्बन्धि कारोबार गर्ने व्यवसायीहरु रहेका छन् । उनीहरुबाट हरेक वर्ष करिब १८ अर्ब रुपियाँ भन्दा धेरैको कारोबार हुने गरेको छ । मुलुकको अर्थतन्त्रमा यो व्यवसायको जति महत्वपूर्ण योगदान छ त्यति नै बिरामीको रोग निदान र पहिचानमा मेडिकल सामाग्रीहरुको ठूलो भूमिका रहेको छ । यति धेरै कारोबार हुने र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रलाई नियमन र सहुलित प्रदान गर्न राज्य पछि हट्न नहुने व्यवसायीहरुको भनाइ छ ।

केमसानका अध्यक्ष सुरेश घिमिरेले भन्नुभयो—‘ यो पेशा र क्षेत्रलाई रेगुलेसन र सहुलियत दिने कुरामा राज्य चुकेको छ ।’ यस क्षेत्रमा लागेका व्यवसायीहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै केमसानका निवर्तमान अध्यक्ष भक्त हमालले भन्नुभयो—‘यस क्षेत्रलाई व्यवस्थित बनाउन सबैले आ—आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’ केमसानका संस्थापक सल्लाहकार केबी कार्कीले व्यवसायीहरु बीच नै स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

केमसानका महासचिव सिताराम कार्कीले भन्नुभयो—हामी सबै मेडिकल र सर्जिकल क्षेत्रमा लागेका साथीहरु एकजुट भएर काम गर्न सकेमा स्वस्थ्य र समृद्ध मुलुक बनाउन ठूलो सहयोग पुग्नेछ । केमसानको पहलमा स्वास्थ्य सामाग्री नीति मन्त्री परिषद्बाट पास भइसकेकाले आगामी तिहारपछि व्यवसायीहरुको लिस्टिङको काम शुरु हुने केमसानले बताएको छ ।

      

प्रतिक्रिया दिनुहोस्