Logo
|
Wednesday 24th April 2024
Logo

epaper

निःशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परीक्षण



 जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८०० जनाको मुटु परीक्षण गरिएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित देवीस्थानमा छुट्टाछुट्टै शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त संख्याका बिरामीको परीक्षण गरिएको हो ।

आइतवार कुश्मामा सञ्चालित शिविरमा झण्डै ५०० र शनिबार फलेवासमा सञ्चालित शिविरमा २५० भन्दा बढीको परीक्षण गरिएको आयोजक लायन्स क्लब अफ शिवालयले जनाएको छ ।

पर्वत समाज बेल्जियमको आर्थिक सहयोग, लायन्स क्लब अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउ काठमाडौँको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरबाट कुश्मा नगरपालिकालगायत बागलुङ जिल्लाका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको कार्यक्रम संयोजक डिआर शर्माले जानकारी दिनुभयो ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईको नेतृत्वमा २० जना मुटुरोग विशेषज्ञ डाक्टरले बिरामीको निःशुल्क मुटु परीक्षण गर्नु भएको थियो । शिविरमा उच्च रक्तचापका बिरामी बढी देखापरेका छन् । मुटुरोगीमध्ये अधिकांश उच्च रक्तचाप, धुम्रपान, मोटोपना भएका हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भट्टाराईले बताउनुभयो ।
दैनिक व्यायामले रोग न्यूनीकरणमा सघाउने उहाँको भनाइ छ । छाती दुख्ने, ढक्क फुल्ने वा भारी हुन सास फेर्न कठिन हुने, धेरै पसिना आउनेजस्ता लक्षण देखापर्नासाथ समयमै चेकजाँच गर्न उहाँले सल्लाह दिनुभयो । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

उक्त शिविरको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभयो । उहाँले मुटु हाम्रो अभिन्न अंग भएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, युरोप संयोजक कुल आचार्य, एनआरएनएका सचिव अर्जुनकुमार श्रेष्ठ, बेल्जियम समाज पर्वतका अध्यक्ष झलक केसीलगायतले मन्तव्य राख्नुभएको थियो ।

उक्त शिविरलाई सहयोग पु¥याउने उद्देश्यले एनआरएनएका युरोप संयोजक कुल आचार्यले रु एक लाख सहयोग गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्