Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्यसंस्था हस्तान्तरण प्रक्रिया शुरु



जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले जिल्लाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरु गरेको छ ।

संघीय कार्यान्वयन एकाइको निर्देशनअनुसार कार्यालयले जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ र बर्थिङ सेन्टर स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको हो ।

सबै स्वास्थ्य संस्थालाई पत्राचार गर्दै जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित स्वास्थ्य संस्थालाई आआफ्नो स्वामित्वमा रहेको जग्गा–जमिन, औषधि उपकरणलगायत चल अचल सम्पत्ति विवरण पेश गर्न निर्देशन गरेको छ ।

यस्तै, स्थाइ, अस्थायी र करारमा रहेका सबै कर्मचारीको विवरण पनि पेश गर्न भनिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मातहत सञ्चालित स्वास्थ्य संस्था अब गाउँपालिका र नगरपालिका मातहत रहने छन् ।

अहिले विवरण संकलन गर्ने काम भइरहेको र संघ र प्रदेशको चुनावपछि हस्तान्तरणका लागि बाँकी प्रक्रिया अगाडि बढ्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । “अहिले डाटा संकलन गर्न निर्देशन आएको हो,” डा अवस्थीले भन्नुभयो, “चुनावपछि बाँकी प्रक्रिया अघि बढ्छ ।”

जिल्ला अस्पताल कुन तहको मातहतमा रहने भन्नेबारे अझै टुंगो नलागे पनि स्थानीय तहमा रहेको सबै स्वास्थ्य संस्था भने सम्बन्धित स्थानीय तहकै मातहत रहने छन् ।

५९१ स्वास्थ्य संस्था हस्तान्तरण गरिने

जिल्ला अस्पतालबाहेक बैतडीका ५९१ स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिनेछन् । बैतडीमा अहिले सदरमुकाममा जिल्ला अस्पताल, पाटन नगरपालिका र मेलौली नगरपालिकामा एक÷एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

यस्तै, विभिन्न क्षेत्रमा गरी ६५ स्वास्थ्य चौकी छन् । जिल्लाका पाँच स्थानमा सामुदायिक स्वास्थ्य एकाइ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी, नगर स्वास्थ्य केन्द्र छवटा छन् भने स्वास्थ्यचौकीबाहेक गरेर ५९ ओटा छुट्टै बर्थिङ सेन्टर छन् ।

जिल्लामा २२२ वटा गाँउघर क्लिनिक र २३२ वटा खोप क्लिनिक रहेका छन् । आठसय ३१ स्वास्थ्य स्वयंसेविका पनि स्थानीय तहकै मतहतमा रहेर काम गर्नेछन् । बैतडीमा ३०० भन्दा बढी सवै प्रकारका स्वास्थ्य कर्मचारी कार्यरत छन् ।रासस

प्रतिक्रिया दिनुहोस्